यस बर्ष कोभिडको दोस्रो लहर ह्वात्तै बढेको छ । कोभिड बढ्दै जाँदा भेरी अस्पतालले बेड कम भएपछि भुईं र टेन्टमा समेत राखेर कोभिड बिरामीको उपचार गर्न बाध्य भयो । क्षमता भन्दा बढी बिरामी आएपनि भेरीले फर्काउँदैन । यद्यपि, अस्पताल पुगेपछि बिरामी उपचार विना नफर्काउने गरेको चिकित्सक बताउँछन् ।
संकटमा सरकारी अस्पताल नै आम नागरिकको आशाको केन्द्र हुन्छ । सरकारी अस्पताल आफ्नो जिम्मेवारीबाट पछि हट्दैन भन्ने भेरी अस्पताल उदाहरण पनि हो । अहिले भौतिक पूर्वाधार (बेड)को व्यवस्थापन पनि भेरीलाई चिन्ताको विषय । उसो त भेरीमा पूर्वाधार थपिइ रहेको छ ।

भेरी अस्पतालमा २ सय ६० बेडको नयाँ भवन बन्दैछ । ठेकेदारसँग निर्माण अवधी अझै रहेको छ । यद्यपि गत बर्षको कोभिड र यस बर्षको कोभिडले निर्माण प्रभावित भएपछि सन्तोषजनक रुपमा काम अगाडि बढिरहेको भेरी अस्पताल विकास समितिको सदस्य समेत रहेका निर्माण समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ बताउँछन् । ‘छिटो भवन निर्माण सक्न हामीले अनुरोध गरेका छौं’, श्रेष्ठ भन्छन्, ‘ठेकेदारसँग आगामी मंसिरसम्मको अवधी रहेको छ ।’
दु्रत निर्माण भएपछि कोभिडका कारण कामदारमा रहेको त्रास र निर्माणमा सहभागी नै कोरोना संक्रमित हुँदा अहिले भवन निर्माण रोकिएको अवस्थामा छ । यद्यपि, अस्पताल विकास समितिले छिटो भवन सक्न अनुरोध गरिरहेको छ ।
महामारी विरुद्ध तयार रहन पूर्वाधार अति आवश्यक भएकाले ठेकेदार कम्पनीलाई काम नरोकी अगाडि बढाउन आग्रह गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा बताउँछन् ।
भेरीमा ३८ करोड बढी लगानीमा भीमेश्वर निर्माण कम्पनीले नयाँ भवन बनाइरहेको हो । सरकारले भेरीलाई विशिष्टिकृत अस्पताल घोषणा गर्दै सुविधा सम्पन्न बनाउन लागि परेको छ ।
भेरी अस्पताल विकास समिति सम्मिलित एक टोलीले शुक्रबार भवनको हालसम्म भएको कार्यप्रगति विवरण बारे अनुगमन समेत गरेको छ ।

यसरी खर्च हुँदैछ १५ करोड
अर्थ मन्त्रालयले भेरी अस्पताल नेपालगन्जको पूर्वाधार विकासका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । सोको आधिकारिक जानकारी अस्पताललाई प्राप्त भएको छ । कोभिडको महामारीमा कोभिड संक्रमितको उपचारमा लागि रहेको भेरी अस्पतालमा थपिने पूर्वाधारले भविष्यमा महामारीबाट लड्न सहज हुने विश्वास गरिएको छ ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको बजेटको जानकारी अस्पतालमा आइपुगेको जानकारी दिएका छन् । उनले त्यसबाट स्वास्थ्य पूर्वाधारहरु थप गरिने बताएका छन् ।
भेरी अस्पतालले स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने १५ करोडबाट २० बेडको आइसियु, १० वटा भेन्टिलेटलर र अक्सिजन प्लान्ट बनाउने भएको छ । अस्पतालले यसअघि लिक्विड अक्सिजन स्टोरेजका लागि ट्यांक निर्माण गरी सेवाका लागि पाइपलाइन बिस्तार गरिसकेको छ ।