बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गयाे

भावुक याेगी
कोरोना कहरले थलिएको बर्दियामा वन्यजन्तु आतंकले सन्त्रन्स बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गएको छ ।
निकुञ्जभित्रबाट गाउँ पसेकाे जंगली हात्तीको आक्रमणबाट साेमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छाेरी दिपिकाकाे उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयाे ।
गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उहाँकी तीन वर्षीया छोरी दीपिकालाई साेमबार राति झण्डै ९ बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।
हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा ज्यान गएको हाे भने मृतक चन्द्राकी छाेरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल काेहलपुर लगिएकोमा मंगलबार विहान उपचारका क्रममै ज्यान गएकाे निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयाे ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ सहितको टोली मंगलबार बिहान घटनास्थलतर्फ पुगेको छ । हात्तीको आक्रमणबाट ज्यान गएसंगै गेरुवा गाउँपालिकाबासी आक्राेसित बनेका छन् ।