बाँकेमा थप एक साता निषेधाज्ञा बढाउने तयारी

जिल्ला प्रशासन कार्यालय बाँकेले लगाएको निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । भोलि जेठ ३ गते राती १२ बजेबाट प्रमुख जिल्ला अधिकारीले बाँकेमा लगाएको निषेधाज्ञाको समय सकिंदैछ ।


कोरोना संक्रमणको अवस्था विश्लेषण गर्दै बाँके प्रशासनले थप एक साता लकडाउन लम्ब्याउने तयारी गरेको हो । प्रशासनले अहिले केही समय खुलेको बैंक तथा वित्तीय संस्था नै पूर्ण रुपमा बन्द गर्ने र अहिले भन्दा थप कडाई गर्ने कि भन्ने विषयमा छलफल गरिरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउन अहिलेका लागि कम्तिमा एक साता लकडाउन बढाउने तयारी भैरहेको जानकारी दिए । ‘बिस्तृत रुपमा भोलि सोमबार निषेधाज्ञाको आदेश जारी हुँदा थाहा हुनेछ’, निषेधाज्ञाका मोडालिटिमा छलफल गरिरहेको जानकारी दिंदै प्रजिअ गेलालले भने ।


नेपालगन्ज नगर प्रमुख डा. राणाले लकडाउन अझै कति समय रहने भन्ने अनिश्चित रहेको बताएका छन् । नगर प्रमुख डा. राणाले कोरोना बढिरहेको अवस्थामा लकडाउनको अन्त्यले अर्को जोखिम निम्त्याउँछ कि भन्ने चिन्ता रहेको बताए । ‘लकडाउनका कारण आर्थिक संकट आउँछ, गरिखाने वर्ग यसबाट थप पीडित हुन्छन्’, डा. राणाले भने, ‘यसबारेमा प्रजिअ सँग छलफलमा छु ।’

प्रतिक्रिया

प्रतिक्रिया