
नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले महामारीबाट जुध्नका लागि आगामी आ.व.बाट बजेट छुट्याउने बताएका छन् । नगर प्रमुख डा. राणाले आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हालको कोरोना महामारीबाट सिर्जित समस्याको सिक्दै आगामी आ.व.देखि महामारीबाट जुध्नका लागि उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताएका हुन् ।
‘कोरोनाको पहिलो लहर आएपछि दोस्रो लहर आएर पुनः लकडाउन गर्नुपर्छ भन्ने कसले सोचेको थियो ?’, नगर प्रमुख डा. राणाले भने, ‘कोरोना संक्रमितलाई अहिले भारततिर आँखाको समस्या भएर आँखा नै निकाल्नु परेको समाचार सुनेको छु, त्यो हाम्रा लागि अर्को चुनौति हो ।’ उनले भविष्यमा पनि यस्ता चुनौतिहरु आकस्मिक रुपमा आइपर्न सक्ने भएकाले आगामी आ.व.ले बजेट विनियोजन गर्ने बताएका हुन् ।
गत बर्ष कोरोना संक्रमण फैलिरहँदा उपमहानगरपालिकासँग त्यसका लागि बजेट थिएन । उपमहानगरपालिकाले विभिन्न शिर्षकको बजेट काटेर कोरोनासँग जुधेको थियो । चालु आ.व.मा पनि उपमहानगरपालिकाले कोरोना विरुद्ध लड्नका लागि कुनै बजेट विनियोजन गरेन । त्यसैले अहिले बजेट पनि उपमहानगरपालिकालाई चुनौति भएको छ । ‘आगामी आ.व.देखि कोरोना जस्ता महामारीबाट लड्न उपमहानगरपालिकालाई तयार राख्नेछौं’, पत्रकार सम्मेलनमा नगर प्रमुख डा. राणाले भने ।
नगर प्रमुख डा. राणाले आगामी आ.व.मा कोरोना विरुद्ध लड्न छुट्टै बजेट विनियोजन गरिने बताए । ‘कति रकम छुट्याउने भन्ने छलफल गरी टुङ्गो लगाउँछौं’, नगर प्रमुख डा. राणाले भने, ‘स्वास्थ्य महत्वपूर्ण छ र त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।’
नगर प्रमुख डा. राणाले अहिले कोरोना ह्वात्तै बढ्दा व्यवस्थापन चुनौतिपूर्ण भएको बताएका थिए । उनले अहिले कोरोना संक्रमितका लागि अक्सिजनको समस्या देखिएको उल्लेख गर्दै सकभर त्यसको व्यवस्थापनको प्रयास भैरहेको बताए । ‘एकै दिनमा स्वास्थ्य पूर्वाधार तयार गर्न सकिंदैन, अहिले भएका पूर्वाधार भन्दा निकै ठूलो समस्या देखियो’, उनले भने ।
नगर प्रमुख डा. राणाले नेपालगन्जमा भएका दुई वटा उद्योगले अक्सिजन उत्पादनले नेपालगन्जलाई धानिरहेको जानकारी दिए । ‘उत्पादनको अधिकांस हिस्सा नेपालगन्जमै प्रयोग भएको छ’, उनले भने, ‘यहाँबाट बचे मात्रै अन्यन्त्र गएको छ ।’
नगर प्रमुख डा. राणाले अक्सिजन अहिलेसम्मकै उच्च माग रहेको उल्लेख गर्दै अक्सिजन उद्योगमा प्राविधिक समस्या आएमा हुने हाहाकार प्रति चिन्तित रहेको सुनाए । ‘अक्सिजनको व्यवस्थापनका लागि रातारात उद्योग सञ्चालन गर्न सक्ने अवस्था हँुदैन’, उनले भने, ‘भारतमै पनि अक्सिजनको हाहाकार छ जसले गर्दा हामीलाई आवश्यक जति लिक्विड अक्सिजन आउन सकेको छैन ।’
नगर प्रमुख डा. राणाले कोरोनाको महामारीबाट लड्न सबै एकजुट हुनुपर्ने बताए । ‘मिलेर लडौं र कोरोनालाई हराऔं’, पत्रकार सम्मेलनमा उनले भने । डा. राणाले उपमहानगरपालिकाले कोरोना विरुद्ध लड्न गरेका कार्यहरुको बारेमा जानकारी दिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रवक्ता समेत रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का प्रमोद रिजालले बुँदागत रुपमा कोभिड विरुद्ध उपमहानगरपालिकाले कार्यहरुको विवरण सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कोभिड विरुद्धको लडाईमा स्वास्थ्य सतर्कता (मास्क, सेनिटाइजर, सामाजिक दुरी कायम) गर्नु नै जोगिने उपाय रहेको बताउँदै नगर प्रमुख डा. राणाले अक्सिजन व्यवस्थापन, खोपको व्यवस्थापन सम्मका कार्य सरकाले गर्नुपर्ने बताए । ‘हामीले सकेसम्म कोभिडका कारण नगरबासीले ज्यान गुमाउनु नपरोस् भनेर काम गरिरहेका छौं’, नगर प्रमुख डा. राणाले भने ।