अस्पतालमा गम्भीर प्रकृतिका बिरामीमात्रै होइन, घरघरमैं पुगेर कोरोना संक्रमितहरुको उपचार र परामर्शमा सक्रिय भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. पारस श्रेष्ठ भन्छन्, कोरोना पोजेटिभ हुनुभएको छ भने नआत्तिनुस् । हामी यसलाई जित्न सक्छौं । कोरोना लागेपछि हटलाइन नम्बरहरु छन् फोन गर्नुस् । फोन बिजी भए नउठे म्यासेज गर्नुस् ।

डा. पारस श्रेष्ठ
कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल
कसरी घरदैलो गरिरहनु भएको छ ?
विहानको समय अस्पताल र दिउँसो २ बजेपछिको समय वार्डमा जाने गरेको छु । डुडुवा गाउँपालिकाबाट पनि आउन अनुरोध छ । केही नभएपछि हप्तामा एक पटक डुडुवा पुग्ने योजना छ । कहिलेकाहीँ बिरामी, आफन्तको फोन कलमा पनि बसेर सहयोग गर्दछु । दिउँसो क्लिनिक बस्न छाडेको छु बिरामीलाई समय दिउँ भनेर । दिउँसोको टाइम अधिकांस कोभिड बिरामीहरुमा केन्द्रित गरेको छु । वडा वडामा पनि जाने गरेको छु केस हेरेर । कोभिड प्यासेन्टका लागि दैनिक अस्पताल समेत गरेर १२÷१८ घण्टा सम्म दिने गरेको छु । दैनिक अस्पतालमा ७० जति कोभिडका बिरामी, वडा तिर कहिले १२÷१५ जना बिरामी भेट्ने गरेको छु ।
घरदैलो कत्तिको प्रभावकारी छ ?
उपमहानगरपालिकाले पनि चिकित्सकलाई वडा वडामा फोकल पर्सन तोकेको छ । कोभिड बिरामीको नियमित फोन आउने गर्दछ । त्यसैले नै वडा अनुसार चिकित्सकलाई फोकल पर्सन तोक्न अनुरोध गरेका थियौं । त्यसले गर्दा बिरामीको कल रिसिभ गर्न सेवा दिन चिकित्सकलाई पनि सजिलो हुन्छ । कोभिड कै बिरामी हेर्दा बिजी भइन्छ । कहिलेकाही बिरामी गरेको फोन रिसिभ गर्न सकिंदैन । यसले बिरामीले फोन उठेन भन्ने गुनासो गर्नुहुन्छ । त्यसैले फोकल पर्सन तोकिंदिंदा चिकित्सकलाई पनि सेवा दिन सहज हुन्छ । मलाई वडा नं. १७ को जिम्मेवारी छ । हामीहरुको बिरामीको घरदैलोमा पुग्ने कार्यक्रम पछि नै फोकल पर्सन तोक्ने काम भएको हो । बिरामीको घरदैलोमा पुग्दा होम आइसोलसनका बिरामीको रेखदेख प्रभावकारी हुन्छ ।
यो बेला घरदैलोको अनुभव कस्तो रह्यो ?
अहिले धेरै बिरामी घरमै हुनुहुन्छ । अस्पतालमा बेड छैन भन्ने बिरामीलाई थाहा छ । घरमै बस्दा अक्सिजन लेभल कम हुनसक्छ । त्यतिखेर चिकित्सकको सुझाव बिरामीलाई अत्यन्त जरुरी हुन्छ । वडाहरुमा पनि स्वास्थ्यकर्मी हुनुहुन्छ । अक्सिजन लेभल धेरै कम भए बचाउन गाह्रो हुन्छ । वडामा हेल्थ असिस्टेन्ट हुनुहुन्छ । उहाँहरु पनि बिरामीको सम्पर्कमा हुनुहुन्छ । मैले पनि वडाका हेल्थ असिस्टेन्टसँग बिरामीहरु बारे बुझेको छु । उहाँहरुबाट सिरियस भए अस्पताल मध्यम तथा सामान्य बिरामी घरमैं उपचारमा रहेको जानकारी पाएँ ।
घरमा बस्नेको अक्सिजन कम हुन सक्छ । नियमित निगरानी आवश्यक छ । एकै पटक सिरियस भएपछि अस्पताल गएर हुँदैन । अक्सिजन लेभल घट्दै गएपछि अस्पताल पुग्ने गरेको पाएको छु । होम आइसोलेसनमा बस्ने अक्सिजन कम हुँदा पनि घरमै बस्ने गरेको पाएँ ।
होम आइसोलेसनमा बस्ने बिरामीहरु कसलाई फोन गर्ने, को सँग सम्पर्क गर्ने अलमलमा रहेको पाएको छु । यसले बिरामी थप आत्तिनुहुन्छ । घरमै चिकित्सक पुग्दा उहाँहरुको पनि हौसला बढ्छ । त्यसैले होम आइसोलेसनमा रहेका बिरामीहरुको अवस्था नबिग्रियोस् भनेर नियमित निगरानी स्वास्थ्यकर्मीबाट हुनुपर्छ ।
कतिपय कोभिडको सामान्य लक्षणका बिरामी पनि आत्तिदै अस्पताल पुग्नुहुन्छ । पहिले उहाँहरुको रिपोर्ट र अवस्था हेरेर घरमा बस्ने अस्पतालमा बस्ने निक्र्यौल हुनुपर्छ । वडाबाट नै सम्पर्क गरेर अस्पताल पुग्नु राम्रो हो । भेरीमा आउने बिरामीको अवस्था हेरेर आवश्यक सुझाव दिने गरेका छौं ।
पछिल्लो पटक वडा नं. १ मा घरदैलो गर्दा एक कोभिड संक्रमितको अक्सिजन लेभल ८० मा झरेको पायौं । तत्काल रामलीला मैदानको आइसोलेसनमा पठायौं । त्यसपछि भेरी अस्पताल पठायौं । अहिले अवस्था सुध्रिएको छ । सही समयमा सही उपचार आवश्यक छ ।
घरदैलो गर्दा बिरामीको अवस्था कस्तो छ थाहा हुन्छ । उहाँहरुलाई थप उपचारको सुझाव दिन सकिन्छ । अवस्था बिग्रेपछि अस्पताल पुग्दा बचाउन गाह्रो हुन्छ । त्यसैले बिरामीले चिकित्सकसँग सल्लाह लिनु पर्दछ । अझ चिकित्सक घरमै पुग्ने व्यवस्था एकदम प्रभावकारी हुन्छ ।
बिरामी अझै बढ्दै जानुको कारण के हो ?
पहिलो चरण आयो र गयो । पहिलो चरण गएपछि हामीले लापरवाही गर्यौं, कोभिड विरुद्धको सुरक्षा मापदण्ड अपनाएनौं । बोर्डरबाट आउने जानेमा रोक भएन । निर्बाध आउने जाने हुँदा कोभिड फैलदै गयो । नेपालगन्जमा लकडाउनमा पनि ढिलाई भयो । मानिसहरुले पहिलो कोभिडको लहर सकिएपछि मास्क, सेनिटाइजरको प्रयोग छाडिसक्नु भएको थियो, सामाजिक दुरी कायम भएन, भाइरस पनि नयाँ रुपले आयो । नयाँ भेरियन्टको भाइरसले निमोनिया छिटो हुने, सास फेर्न गाह्रो हुने गरेको पाइयो । बिरामी एकदम छिटो सिरियस हुँदा बचाउन नै गाह्रो हुने गरेको छ । हिजो खोकी लागेर अलिअलि ठिक भएको मान्छे आज अक्सिजन घटेर सिरियस भएको अवस्था छ ।
यस्तो बेला अब के गर्ने त ?
हेल्थ म्यानेजमेन्ट गर्ने हो । कोभिड पोजेटिभ आउने बित्तिकै सामाजिक सञ्जालमा पोष्ट भएका औषधी मानिसहरुले आफैले मगाएर खान थाले । तर, कोभिडको यही औषधीले ठिक हुन्छ भन्ने अहिलेसम्म छैन । हामीले चलाउने भनेको एन्टिबाइटिक हो । एन्टिबाइटिक चलाउनुको कारण अरु इन्फेक्सनले नच्यापोस् भन्ने हो । पिसिआर पोजेटिभ आएपछि मानिसको मनोबल घटेको पाएको छु । औषधी पनि मनपरी खाँदा कतिपयलाई रियाक्सन पनि भएको छ । त्यस्तो गर्नु हुँदैन ।
कोभिड पोजेटिभ भएको छ, खोकी, रुघाखोकी छैन, शरीर दुखेको छैन, स्वाद र गन्ध हराएको छ भने औषधी खानु नै पर्दैन । वडामा रहेको स्वास्थ्यकर्मीको सल्लाहअनुसार कोभिडका बिरामी हिड्नु पर्यो । बिरामीको पोजेटिभ आएपछि सम्बन्धित वडा अनुसार रिपोर्ट आउँछ । वडाले बिरामी कहाँ, कसरी बसेको छ भन्ने निगरानी गर्नुपर्यो, अवस्था हेर्नु पर्यो । वडाका स्वास्थ्यकर्मीले आफ्ना वडाका पोजेटिभले स्वास्थ्य मापदण्ड कसरी पालना गरेका छन् हेर्नुपर्दछ । पोजेटिभ आएपछि बिरामी आत्तिन्छन् त्यसैले बिरामीलाई तत्काल के खाने, कसरी बस्ने, सुरक्षाको उपाय कसरी अपनाउनु भन्ने सिकाउनु पर्छ । हामीले सिकाइ पनि रहेका छौं घरदैलोका क्रममा, फोन सम्पर्कमा ।
घरदैलोका क्रममा हामीले कोभिडको मात्रै नभएर अन्य दीर्घकालीन स्वास्थ्य समस्या भएका बिरामीलाई पनि सुझाव, सल्लाह दिने गरेका छौं ।

स्वास्थ्यकर्मीले रिक्समा काम गरिरहेका छन् । सरकारले चिकित्सकको मनोबल उच्च बनाउने खालको काम गर्नुपर्दछ । आम जनताले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने, लापरवाही गर्नुहुँदैन, भीडभाड नहुने खालको व्यवस्था सबै क्षेत्रमा हुनुपर्दछ ।
अन्त्यमा केही सुझाव छन्, तपाईंका ?
यदी कोरोना पोजेटिभ हुनुभएको छ भने नआत्तिनुस् । हामी यसलाई जित्न सक्छौं । कोरोना लागेपछि हटलाइन नम्बरहरु छन् फोन गर्नुस् । फोन बिजी भए नउठे म्यासेज गर्नुस् । म्यासेज आएपछि चिकित्सकले रिप्लाई गर्नुहुन्छ । कोरोना अहिले दोस्रो लहरमा छ र तेस्रो वेभ पनि आउने छ । त्यसका लागि पनि तयारी गर्नुपर्दछ । तेस्रो वेभ आउँदा त्यसको पूर्व तयारी गर्नुपर्छ । स्थानीय तहदेखि प्रशासनले सहयोग गर्नुपर्दछ । स्वास्थ्यकर्मीले रिक्समा काम गरिरहेका छन् । सरकारले चिकित्सकको मनोबल उच्च बनाउने खालको काम गर्नुपर्दछ । आम जनताले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने, लापरवाही गर्नुहुँदैन, भीडभाड नहुने खालको व्यवस्था सबै क्षेत्रमा हुनुपर्दछ ।