वर्तमान युगको सभ्य समाजको बसाई शहरबजारमा हुनेगर्छ भन्ने एउटा आम मान्यता रहेको छ । आधुनिक सभ्यताको केन्द्र, विकासको मापदण्ड, पढेलेखेका र देशदेशान्तर बुझेका भनिएकाहरुको बास पनि शहरतिर रहेको छ भनिन्छ । शहर भनेको त हुनेखानेहरु, धनसम्पत्तिवालहरु, देशको शासन प्रशासनको बागडोर सम्हालेकाहरुको बास भएको ठाउँ हो भनिन्छ । बाटाघाटाहरु, साधनश्रोतहरुको परिचालन र राज्यकोषको ठूलो हिस्सा पनि शहरमा नै लगानी गरिन्छ । राज्यले आफ्नो नीति बनाउँदा पनि कतिवटा शहर बनाउने कतिवटा स्मार्ट सिटि बनाउने भनेर योजना बनाउँछ । देशको राजश्वको ठूलो हिस्सापनि शहरमा खन्याउने योजना बनाइन्छ । मिठो मसीनो फल्ने खेतहरुलाई टुक्राटुक्रा पारेर भोकमरीको पर्खाल लगाउँदै शहर बसाउने योजनाहरु बन्छन् । गाउँ नै गाउँले बनेको र सहृदयताले भरिएको देश नेपालको गाउँको मुटुमा किल्ला ठोकेर शहरबजार बनाउँदै गर्दा कतिपय स्मार्ट सिटीका योजना बनाउँदै गर्दा शहरभन्दा गाउँको हृदयमा दया, धर्म, सहृदयता रहेको हुन्छ भन्ने कुरालाई मतलब नै गरिँदैन ।

यो देशको कुल जनसंख्याको ७० प्रतिशत हिस्सा त गाउँमा नै बस्छ त्यहि सरकारको तथ्याङ्कले भन्छ । देशको सकल घरेलुउत्पादको २७ प्रतिशत हिस्सा पनि त्यहिँ गाउँ (कृषि) बाट आउँछ भन्छ । जतिसुकै सुकिलाहरुको बास शहरमा भएता पनि उनीहरुको गासको जोहो त्यहि गाउँले नै गरेको छ भन्ने पनि शहरमा पुगेपछि बिर्सिन्छन् शहरिया बन्न दौडेकाहरु ।

आधुनिक दुनियाँका सबैकुराको संगम भएको शहरबजारमा मानवको बस्ती त हुन्छ तर त्यहाँ मानवीयता भने कमै रहेको हुन्छ भन्नेकुरा पटकपटक संसारमा घटेका बिभिन्न घटनाहरुले सिद्ध गरेका छन् । आधुनिकताको दौड, शहरिया जीवनशैलीको आकांक्षा अनि पछिल्लो अढाइदशक देखिको देशमा चलेको कित्ताकाट र घृणवादको आन्दोलनहरुका कारणले गर्दा पनि व्यापक रुपमा ग्रामीण जनसंख्याको शहरतिर अस्थायी बसाइसराइ भएकोे छ ।

नेपालको राजधानी काठमाण्डौंको जनसंख्या झण्डै पचास लाख रहेको एउटा अनुमान गरिन्छ । देशको झण्डै १७ प्रतिशत जनसंख्या बस्ने शासन प्रशासनको केन्द्रबिन्दु रहेको यो शहरको सौन्दर्यता कति भरपर्दो छ भन्ने कुरा बेलाबेलामा आएका रोगब्याधि, भूकम्प आदीले देखाएको नै छ त्यसको यहाँ त्यति बयान गरिराख्नु पर्दैन ।

काठमाण्डौं बाहेक नेपालका अरु शहरहरुको पनि हिसाब गर्ने हो भने यहाँ त सबै शहर बजारिया भएका छन् । सबै सभ्य र भव्य भएका छन् । सबै जनता शहरमा नै बस्छन् भनेझैं पनि लाग्न सक्छ तर जुनसुकै शहरको पनि ब्यथा उस्तै हो । चालचलन उस्तै हो ।
बिक्रम सम्बत २०७२ सालमा गएको भूकम्पमा १५ लाख बढिले काठमाण्डौं छोडे भन्ने सुनियो । हरेक बर्ष दशैंमा काठमाण्डौं छोड्नेको संख्या दश लाखको हाराहारीमा हुने गर्छ भन्ने बिभिन्न आँकलनहरु रहेका छन् । तर वास्तविक कतिले काठमाण्डौं छोडे भन्ने यकिन तथ्याङ्क कतै पाइँदैन । पत्रपत्रिका देखि ट्राफिक शाखाले पनि सवारी साधन बाहिरिएको आधारमा मोटामोटी संख्या अनुमान गर्ने गरेको पाइन्छ । यस पटक कोरोनाको दोस्रो लहरका बेला काठमाण्डौंबाट १५ देखि २० लाख मानिसहरु बाहिरिएका अनुमानहरु आएका छन् ।
मानिसलाई जब हाँस्नु पर्छ त्यो बेला गाउँ नै चाहिन्छ । मानिसहरुलाई जब बाच्च्न पर्छ तब गाउँ नै चाहिन्छ । चाड मनाउने बहानामा टुरिष्ट बनेर गाउँतिर नै हानिन्छन् । प्रकृतिसँग रमाउनु पर्छ त्यतिखेर पनि गाउँ नै चाहिन्छ गाउँको मनमुटुलाई पोष्ट गरेर गर्व गरिन्छ । अभाव र गरिबीका कथाब्यथाहरुलाई तस्बीरमा कैद गरेर महान दयावान र साहित्यकार बनेर पुरस्कार थाप्न पनि गाउँ नै चाहिन्छ । कतै साथ नपाएका बाआमा बुढाबुढीको फोटो हालेर सम्बन्धको ब्याख्या गर्न पनि त्यै गाउँ नै चाहिन्छ । शहरलाई भोक र प्यास मेटाउन पर्ने छ भने पनि गाउँ नै चाहिन्छ । शहरबजारले ऐयासी गरेको डङ्गुर फाल्नका लागि पनि गाउँ नै चाहिन्छ । शहरिया सभ्य भएर झण्डा हल्लाउने गाडीमा हुइँकिने बन्नका लागि टाउका पनि गाउँका नै काटिनु पर्छ । टाउका काट्ने देखि झण्डा गाडेर कौसीमा लुक्न र घरका खसी कुखुरा सित्तैमा हसुर्न पनि गाउँ नै चाहिन्छ । शहरमा कुर्सीको पावर देखाउन पनि गाउँ नै चाहिन्छ । राज्यकोषमा ब्रम्हलूट गर्ने लाइसेन्स लिन पनि त्यहि गाउँ नै चाहिन्छ ।

सभ्य र भव्य भनिएको शहर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँटा देखि निर्माण गर्ने बनाउने ज्यामीका लागि पनि गाउँ नै चाहिन्छ । भन्सार छूटको ट्राक्टर ल्याएर निर्माण समाग्री बोकेर पैसा कमाउन पनि गाउँ नै चाहिन्छ । यति मात्रै कहाँ हो र ? शहरमा भूकम्पले अलिशान घर हल्लिन्छ बाँच्न पनि गाउँ नै चाहिन्छ । बिभिन्न महामारीले सात्तो लिँदा पनि बाँच्न गाउँ नै चाहिन्छ । भनेपछि त्यो शहरबजारको काम के छ त ? प्रश्न त मज्जाले बन्छ ।

मानवलाई चाहिने भनेको जीउ हो ज्यान हो । स्वास्थ्य हो । बिहान बेलुकीको गास हो । रातबिताउने छत हो । तन ढाक्ने कपडा हो । प्रकृतिले दिएको स्वच्छ हवा र पानी हो । निश्चल हाँसो हो । जिउँदाको जन्ती हो, मर्दाको मलामी हो । भेटघाटमा सञ्चोबिसञ्चो हो । आफन्तसँगको मेल हो । कपटबीनाको मनोरञ्जनात्मक खेल हो । मानव जीवनका लागि आवश्यक सम्पूर्ण जीवजगतसँगको सहृदयता र प्रेम हो ।

जालझेल र कपटले भरिएको तनावपूर्ण जिन्दगीले दिने त पटकपटकको मृत्यु मात्रै हो । दुईछाकको जोहो गर्न आफ्ना आफन्त, नाताकुटुम्ब देखि आफ्नै स्वास्थ्यलाई बिर्सिने शहरले मानवलाई विवेकहीन हृदयरहित निष्ठूर मुर्दा बनाएको छ । त्यहि मूर्दाको आपतबिपतमा मुर्छित प्राण बच्छ कि भन्दै गाउँमा आगमन हुने गरेको छ शहरियाहरुको ।

जहिले पनि जुन कुराको लागि पनि शहरियाहरुलाई चाहिरहने गाउँलाई गतिलो शिक्षालय चाहिँदैन । बाटोघाटो चाहिँदैन । खेतमा पानी चाहिँदैन्न । हलो, कुटोकोदालो औजारको आरन (निर्माण केन्द्र ) चाहिँदैन । बीउ चाँहिदैन । गाउँले तिरेको कर र दिएको उत्पादनको अनुपातमा अनुदान र सहयोग चाहिँदैन । मौलिक चिकित्सा पद्धति सँगै आधुनिक चिकित्साका केन्द्र चाहिँदैन । यहि हो शहरले बुझेको वास्तविक गाउँ ।

आऔं राज्य, राज्य सञ्चालक, ब्यापारी, पढेलेखेका बुद्धिजीवीहरु सबैले गाउँलाई एकपटक बुझौं । गाउँलाई पढौं । गाउँको आवश्यकता र महत्वलाई इमान्दार भएर मनन गरौं । गाउँलाई बचाऔं । गाउँको त्यो मन जसले हरेक आपतबिपतका बेलामा पनि सबैलाई आश्रय दिने ल्याकत राख्छ । जसले आफ्नो पराइ नभनि सबको पेटको ख्याल राख्ने नैतिकता राख्छ । आफु दुर्गन्धित बसेर पनि शहर बजारिया सुकिलाहरुलाई स्वच्छता र पौष्टिकता पुर्याउँछ । जसले आफु मरेर पनि अरुलाई प्राण दिन्छ । आफु त्यहि शहरियाको नजरमा असभ्य पाखे बनेर पनि उसैलाई कथित सभ्यता र आधुनिकताको स्तूप बनाउन सहयोग गर्छ । विकासका नाममा प्रकृति मासेर धन कमाउने सभ्यताका भिरुहरुलाई पटकपटक वैधानिकता दिन्छ । मानव जीवनका लागि आवश्यक हरेक मित्रजीवहरु र प्रकृतिसँग मित्रता र सहृदयता राखेर भावी सन्ततिलाई स्रोत बचाएर राखिछोड्न चाहन्छ गाउँ ।

त्यस्तो गाउँको निर्माण गरौं जहाँ करुणा बाँचोस । जहाँ प्रकृतिको बिनास होइन पूजा होस ्। अपार उत्पादन गरेर चरम उपभोत्ताबादको चुचुरो होइन आवश्यकताको आधारमा मात्रै उत्पादन गरेर प्रकृतिको संरक्षण होस् । मानवले मानव, मानवले पशुपंक्षी जगतका सबै चराचर र सिङ्गो प्रकृतिसँग सहृदयताको सम्बन्ध राखोस् ।

एउटा झरीबादल या एउटा रोगब्याधि पनि सहन नसक्ने काँतर र निष्ठुर शहर नबनाऔं अब । आफ्नै मूल र कूललाई पाखे असभ्य भन्ने शहर नबनाऔं अब । एक छाक खानदिन नसक्ने भोगमरीको शहर नबनाऔं अब । पानीका लागि काकाकूल बनेको प्रकृति बिनासक शहर नबनाऔं अब । हाँस्न र बाँच्न गाउँ दौडिने शहर पनि नबनाऔं अब । भूकम्पका बेला कारको डब्बा चढेर त्रिपाल र भोकाको चामल खोस्ने शहर पनि नबनाऔं । कोरोना आउँदा कोठा नदिने शहर पनि नबनाऔं । सासै रोकिँदा हवा खोस्ने शहर पनि नबनाऔं । गाउँका मौलिकता मासेर विदेशीको झोला बोक्ने विद्धान बस्ने शहर पनि नबनाऔं । राज्यकोषको सहि सदुपयोग गर्ने नै हो भने मानवको मात्रै होइन सबै मानवको लागि आश्रय दिने मौलिकता र सहृदयता सहित सुन्दर, शान्त सम्पन्नता भएको गाउँ बनाऔं ।

प्रतिक्रिया

प्रतिक्रिया