देवेन्द्रराज पौडेल
गत बर्ष बैशाख दोस्रो साता बाँकेमा पहिलो कोरोना संक्रमित फेला परेका थिए । यद्यपि, संक्रमण फैलने जोखिमका कारण गत बर्ष चैत्र ११ गतेदेखि नै सरकारले लकडाउन गरेको थियो । यसै बर्ष असोजमा सार्वजनिक यातायात चलेपछि अन्तर्राष्ट्रिय नाकाबाट औपचारिक आवागमन बाहेक सबै क्षेत्र खुलेको थियो ।
गत बर्ष २०७७ को चैत्रदेखि बाँकेमा कोरोनाको दोस्रो लहर देखिन थाल्यो । लक्षण सहितका संक्रमितले मात्रै कोरोना चेकजाँच गराइरहेको अवस्थामा अस्पतालले थेग्न सक्ने अवस्था नै नरहेपछि संक्रमणको साङ्लो तोड्नका लागि दोस्रो सातादेखि नेपालगन्ज र त्यसपछि पुरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दैनिक संक्रमित थपिने क्रम बढ्दो छ । बुधवार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित संख्या पुष्टि भयो ।
उसैगरि मानिसको ज्यान पनि गैरहेको छ । अस्पतालमा बेड पाउने अवस्था छैन । लक्षण सहितका संक्रमित पनि होम आइसोलेसन वा स्थानीय तहले व्यवस्था गरेका आइसोलेसनमा उपचाररत् छन् । अक्सिजन आवश्यक पर्ने बिरामी मात्र अस्पतालमा भर्ना भएका छन् । अक्सिजन आवश्यक पर्ने बिरामी अस्पतालले थेग्न नसक्ने भएपछि स्थानीय तह र वडाले पनि अक्सिजन सहितको आइसोलेसन बनाएका छन् । तर, अवस्था अझै पनि भयावह छ बाँकेको छ ।
अस्पतालमा लक्षण सहितका बिरामी राख्ने ठाउँ नभएपछि अहिले बिरामी होम आइसोलेसनमा नै बस्दै आएका छन् । कोरोना परीक्षण गराउनेको संख्या बढ्दै जाँदा तत्काल रिपोर्ट आउने सम्भावना नै छैन । २४ देखि ३६ घण्टा सम्म कोरोना रिपोर्टका लागि पर्खनु पर्ने बाध्यता छ ।
होम आइसोलेसनमा बस्नेले चिकित्सकसँग फोन तथा प्रत्यक्ष भटेर औषधी तथा स्वास्थ्य सामाग्री प्रयोगका बारेमा सुझाव लिने गरेका छन् । त कतिपय सामाजिक सञ्जालकै भरोसामा पोष्ट भएका औषधी प्रयोग गरिरहेका छन् ।
होम आइसोलेसनमा बस्ने हुन् वा सशुल्क आइलोसनमा बस्ने हुन् उनीहरुलाई अक्सिजनको मात्रा जाँच्ने यन्त्र, ज्वरो नाप्ने यन्त्र अत्यावश्यक छ । अझ मास्क त सबैलाई अनिवार्य छ । अस्पतालमा उपचाररत् बिरामीको अवस्था हेरेर चिकित्सकले औषधी लेखिदिन्छन् । उक्त औषधीको व्यवस्था बिरामीले नै गर्नुपर्ने अवस्था छन् । कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य सामाग्रीको मागको फाइदा उठाउँदै चर्को मूल्य लिइरहेको गुनासो मात्रै होइन सबैले भोगेको अवस्था छ । बजारमा अनुगमन नभएको होइन तर, पनि अनुगमनले मूल्य नियन्त्रण गर्न सकेको छैन । बजारमा स्वास्थ्य सामाग्रीको मूल्य मनपरी लिइरहेको अवस्था छ । महामारीमा पनि लुटको धन्धा मौलाइरहेको खुलासा भएको छ ।
कोरोनाका बिरामीले प्रयोग गर्ने औषधीको मूल्य सहज उपलब्ध छ । तर, अक्सिमिटर, सेनिटाइजर र मास्कको खुद्रा मुल्य तीन गुणा भन्दा बढी फरक छ । उसो त थोक मूल्य समेत व्यवसायीहरुले मौकाको फाइदा उठाउँदै मनपरी लिन थालेका छन् । यस्तै कालोबजारी गरेको फेला परेपछि अनुगमन समितिको कारवाहीमा परेको समाचार यसअघि दैनिक नेपालगन्जले प्रकाशित गरिसकेको छ ।
बढी मूल्य लिएर कारवाही हुन्छ भनेर सरोकारवालाबाट विज्ञप्ति तथा विचार व्यक्त नभएका होइनन् । तर, त्यो औपचारिकता मात्र साबित भएको छ । आम नागरिकले यसअघि सेनिटाइजर, मास्क, अक्सिमिटर, ज्वरो नाप्ने यन्त्रको यसअघि अहिले जस्तो व्यापक रुपमा प्रयोग गरेका थिएनन् । अहिले यो सबैको बाध्यता हो । अझ कोरोना संक्रमितका लागि नभई नहुने विषय । पहिले प्रयोग नगरेको सामानको मूल्य थाहा हुने भएन, त्यसैको आडमा लुटको धन्दा बजारमा मौलाइरहेको हो ।
कोरोना बिरामीहरुको अवस्था बिग्रेपछि प्लाज्मा र रेम्डिभिसिर नामक सुईको प्रयोगको सुझाव चिकित्सकबाट आउने गरेको छ । सरकारले कोरोनाको उपचार गर्ने अस्पताल र आइसोलेसन बाहेकमा त्यो औषधी बिक्रीको अनुमति दिएको छैन । दिएपछि कहाँ कति आयो, कसले प्रयोग गर्यो भन्ने तथ्यांक बाहिरिंदैन । चिकित्सकले लेखेपछि बिरामीका आफन्तले खोज्नै पर्यो । २ हजार ८ सय रुपैयाँसम्म मूल्य पर्ने उक्त सुई बिरामीका आफन्तले ५० हजारसम्म तिर्नु परेको गुनासो गरिरहेका छन् । यद्यपि, आधिकारिक रुपमा कसैले गुनासो गर्दैनन् । किनकी जीवनको कुनै मूल्य हुँदैन महंगोमै पाएपनि प्रयोग गर्न पाएपछि बिरामीका आफन्त पनि बोल्दैनन् ।
यहाँ नपाइने भएपछि औषधीको खोजी शुरु हुन्छ । खुला सीमा भएकाले यहाँका औषधी बिक्रेता तथा बिरामीका आफन्तले नै महंगो मूल्य तिरेर भारतको लखनउबाट पनि रेम्डिभिसिर मगाउने गरेका छन् । बिक्रीका लागि जो कोहीलाई अनुमति नभएकाले यहाँका औषधी बिक्रेताले भारतबाट मगाएर यहाँ दशौं गुणा बढी रकम लिएर रेम्डिभिसिर बेच्ने गरेका हुन् । जुन च्यानल पत्ता लगाउन गाह्रो छ । यसलाई अप्ठ्यारोमा सेवा भन्ने कि ठगी ! डाक्टरले सिफारिस गरेको रेम्डिभिसिर इन्जेक्सन नपाएपछि बिरामीले चिनेजानेकालाई भन्ने मात्रै होइन सामाजिक सञ्जालमा पोष्ट पनि गर्ने गरेका छन् ।
सुजित सिंह सिजापतिले बुधबार साँझ मात्रै ६ भाइल रेम्डिसिभिर आवश्यक भएको सामाजिक सञ्जालमा पोष्ट गर्दै भए नम्बर दिएर जानकारी दिन अनुरोध गरेका छन् । चिकित्सकले लेखिदिन्छन्, आफन्तले खोज्छन् औषधी, भेटे महंगो मूल्य तिर्छन् ।
यसबारेमा कुरा गर्न औषधी व्यवस्था विभाग नेपालगन्ज शाखा प्रमुख निनु श्रेष्ठ र नेपालगन्ज औषधी व्यवसायी संघ केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठसँग गरिएको टेलिफोन सम्पर्क प्रयास सफल हुन सकेन ।
औषधी व्यवसायी संघ बाँकेको महासचिव जीवन शर्मा आम रुपमा औषधी व्यवसायीले रेम्डिसिभिर बेच्न नपाउनले तथा आइसोलेसन अस्पताल सञ्चालन गर्नेले अस्पताल भित्रका मेडिकलमा मात्रै राख्न पाउने भएकाले औषधी व्यवसायीलाई कालोबजारीको आरोप लगाउन नहुने बताउँछन् ।
‘जुन औषधी बाँकेमा संघ अन्तर्गतका व्यवसायीले बेच्न नै पाउँदैनन् उनीहरुलाई कालोबजारीको आरोप लगाउनु गलत हो’, महासचिव शर्मा भन्छन्, ‘कसैले अनाधिकृत मगाएर बढीमा बेचेको भए संघ त्यस्ता व्यवसायीलाई संरक्षण कदापी गर्दैन ।’ महासचिव शर्मा अहिले देश नै कोरोना संकट सँग जुधिरहेकाले त्यसबाट जोगिन र जोगाउन सबै क्षेत्र हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउँछन् । ‘बाँकी अन्य स्वास्थ्य सामाग्री तथा औषधीमा तोकिएको भन्दा बढी मूल्य लिइएको भए अनुगमन गरेर कारवाही गरिनुपर्छ, हामी सघाउन तयार छौं’, उनले दैनिक नेपालगन्जसँग भने, ‘औषधीको आपूर्ति सहज राख्नका लागि सक्दो प्रयास गर्न संघ अन्तर्गतका व्यवसायीलाई हामी आग्रह गरिरहेका छौं ।’
कुनै पनि औषधी नेपालमा बेच्नु अघि औषधी व्यवस्था विभागको अनुमति दिएपछि मात्रै नेपाली बजारमा बिक्री गर्न पाइन्छ । रेम्डिभिसिर आपतकालीन भएर प्रयोगको अनुमति छ नेपालमा । ‘नेपालमा दुई वटा औषधी बिक्रेताले मात्रै रेम्डिभिसिर भित्र्याउँछन् र सिधै आइसोलेसन अस्पतालमा पठाउँछन्’, महासचिव शर्मा भन्छन् ।
अक्सिजनको पनि बाँकेमा समस्या देखिंदै गएको छ । अक्सिजन भन्दा पनि अक्सिजनको सिलिण्डरको समस्या देखिन थालेको छ । कोरोनाका बिरामीलाई अक्सिजनको मात्रा कम हुने समस्या बढी देखिन थालेपछि अक्सिजनको खपत जिल्लामा बढेको छ ।
भेरीमा शुरुदेखिनै कोरोना संक्रमितको उपचारमा सक्रिय डा. राजन पाण्डे रेम्डिसिभिर ब्ल्याकमैं किनेर लगाउन जरुरी नरहेको बताउँछन् । ‘रेम्डिभिसिर लगाउन नै हुँदैन भन्ने होइन, तर रेम्डिसिभिर लगाउँदैमा मानिस टक्क ठिक हुन्छ भन्ने होइन’, डा. पाण्डेदैनिक नेपालगन्जसँग भन्छन् । ‘पहिला यसले निकै काम गर्छ भन्ने अनुमान थियो, रिसर्च पनि थियो । अनुमान गरे अनुसार भने फाइदा भएन’, डा. पाण्डे भन्छन्, ‘सुरुसुरुमा लक्षण भएको बेलामा काम गर्छ भन्नेमा अझै पनि मान्यता छ ।’ उनी कुनै पनि औषधी प्रयोग गर्दा विशेषज्ञको राय लिन सुझाव दिन्छन् ।
औषधी व्यवस्था विभागले रेम्डिसिभिर लगायत औषधीहरुको कृत्रिम अभाव सिर्जना गरी बिक्री मूल्य भन्दा बढीमा बिक्री भैरहेको समाचार प्रकाशनमा आएपछि विज्ञप्ति जारी गरेर त्यसो नगर्न जानकारी दिएको छ । विभागले रेम्डिसिभिरका सम्बन्धमा कुनै गुनासो र सुझाव भएर जानकारी दिन सूचित गर्दै तोकिएको मूल्य भन्दा बढीमा बिक्री भएको पाइए कानुन बमोजिम कारवाही हुने समेत बताएको छ ।
भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत चिकित्सकहरुले रेम्डिसिभिर औषधी लेखी मिलेमतोमा बजारबाट महंगो मूल्यमा खरिद गर्न बाध्य पारेको समाचार बाहिरिएपछि अस्पतालले यसबारे प्रेस विज्ञप्ति जारी गरि स्पष्ट पारेको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश बहादुर थापाले विज्ञप्ति जारी गरेर रेम्डिसिभिरमा चिकित्सकको मिलेमतोका खण्डन गर्दै कपोकल्पित र भ्रामक सूचनाहरु सम्प्रेषण गरिएको भन्दै खेद व्यक्त गरेका छन् । डा. थापाले हल्ला गरिएजस्तो प्रभावकारी नदेखिएकाले रेम्डिसिभिर सिफारिश नगरिने, तर विरामी आफैले माग गरेको खण्डमा लेखिदिने गरेको बताए ।
बाँकेमा संक्रमितको उपचार आवश्यक औषधी तथा अक्सिजन आपूर्ति समेतका सम्बन्धमा जन गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले प्रशासनका प्रशासकीय अधिकृत रामकुमार सोनकर सम्मिलित समिति गठन गरेको छ । उक्त समितिले अस्पतालमा प्राप्त रेम्डिसिभिरको खपत र आयातको सम्बन्धमा, भेरी अस्पताल नेपालगन्जमा र मेडिकल कलेज कोहलपुरमा छुट्याइएको कोभिडका लागि छुट्याइएको बेड, आइसियुर भेन्टिलेटर र तत् सम्बन्धी व्यवस्थापको विषयमा प्रतिवेदन प्रशासनलाई बुझाउने एक सदस्य बताए । समितिले औद्योगिक क्षेत्र भित्र रहेका प्रयोग विहीन अक्सिजन सिलिण्डरको संख्या बुझ्नेछ । यदी औद्योगिक क्षेत्रमा सिलिण्डर भए आवश्यक परे अस्पतालमा बुझाउने प्रबन्ध गर्ने तयारी समेत प्रशासनले गरेको छ ।
समितिको सदस्यमा उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष बसन्त गौतम, भैरवप्रसाद गण राजा ब्यारेकका सहसेनानी बिक्रम चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्का, सशस्त्र प्रहरी गण नं. ६३० का सशस्त्र प्रहरी निरीक्षक भान बहादुर कार्की, राष्ट्रिय अनुसन्धान बाँकेका नेप बहादुर राना रहेका छन् । समितिले मंगलबारदेखि काम थालेको प्रतिवेदन केही दिनमा दिने तयारी गरेको छ । यहिबेलानै बाँकेमा अक्सिजन अभाव भइरहेको र, भारततर्फ कालोबजारी भइरहेका गुनासा पनि बाहिरिएका छन् ।
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरलै यसैबीच, प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन सकिएको र भारतबाट आउने अवस्था नदेखिएकाले थप विरामी भर्ना लिन नसकिने जनाएको छ । कलेजका प्रवन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले १३३ जना विरामी अहिलेपनि उपचार भइरहेको शिक्षण अस्पताल कोहलपुरमा अक्सिजनको सुनिश्चितता नभएसम्म थप विरामी लिन नसकिने जनाएका छन् ।
खाद्य सामाग्रीको मूल्य समेत लकडाउनसँगै वृद्धि भएको छ । फलफुल र तरकारीको मूल्य अनियन्त्रित रुपमा बढेकोछ । कागती मात्रै ४ सय रुपैयाँ किलो बिक्न थालेको छ । बजार अनुगमन गरेको भनिएपनि महंगी नियन्त्रणमा आउन सकेको छैन ।