पृष्ठभूमि

स्तम्भमा आज हामी महिलाहरु रोजा बसेर बोल्ने झुट र त्यसबाट हुने नोकसान बारे बृहत चर्चा गर्नेछौं । हुन त अहिले झुट नबोल्ने व्यक्ति प्याज नखाने बाहुन भेटाउने गरी गाह्रो छ । यहाँ महिलाको कुरा मात्र उठान गर्नुको कारण यो हो कि यो स्तम्भ महिला विशेष स्तम्भ हो । तर यस लेखमा उल्लेख गरिएका कुरा महिला पुरुष सबैले मनन गर्न आवश्यक छ । किनकि पुरुषहरु पनि झुट बोल्न कहाँ कम छन् र । बरु यसो भन्दा फरक पर्दैनन् होला कि आज अधिकांश घर व्यवहार र व्यापार व्यवसाय सब झुटकै भरमा चलिरहेछन् । यहाँ महिलालाई मात्र इङ्गित गर्नु महिलामाथि आरोप लगाउनु होइन यो स्तम्भ महिला विशेष भएकोले महिलाका विषयमा चर्चा गरिएको छो । यसको मुख्य आशय समाजमा विद्यमान चलनचल्तीका झुटहरु बारे अवगत गराउनु हो । जो हामीले जानीजानी वा नजानेर बोलिरहेका हुन्छौं तर ती झुटले कसरी हामीलाई नोक्सान पुर्याएको हुन्छ भनी भान नै हँुदैनन् । अझ रमजान करीमको पवित्र महिनामा झुट बोल्नु कति पाप हो भन्ने कुरा दर्शाउन पनि यसको मुख्य आशय हो । आज यस विषयमा निकै सामान्य र व्यवहारिक कुराहरु गर्नेछौं ।

जस्तो कि सबैलाई थाहा छ कि विश्वभरीका मुस्लिम समुदायले पवित्र रमजान करीमको महिनामा पूरै महिना रोजा बस्छन् । हामीलाई यो पनि थाहा छ की रोजा भोक अर्थात् पेटको मात्र हुँदैन । यसबारे हामी यस अघिको लेखमा पढिसकेछौं कि रोजा मात्र मुख र पेटको हुँदैन, रोजा आँंखाको पनि हुन्छ, जिब्रोको पनि रोजा हुन्छ, कानको पनि रोजा हुन्छ, हातको पनि रोजा हुन्छ, खुट्टाको पनि रोजा हुन्छ, मुटुको पनि रोजा हुन्छ र मगजको पनि रोजा हुन्छ । रोजा अर्थात् गरिआएका काम अल्लाहको लागि रोकिनु वा छाड्नु वा बन्द गर्नु हो । मुख र पेटको रोजा भनेको खानपिउन छाड्नु हो भनी सबलाई थाहा छ । तर, आंँखाको रोजा भन्नाले नराम्रो दृश्य न हेर्नु, जिब्रोको रोजा भन्नाले आफ्नो बोलि वचनबाट कसैलाई दुःखी नबनाउनु गाली गलौज अपशब्द नबोल्नु आदि हो । कानको रोजा कसैको कुरा नकाट्ने गीत गाली अपशब्द आदि नसुन्नु हो । चोरी नगर्नु कसैलाई चोट न पुर्याउनु हातको रोजा हो । नराम्रो बाटो नहिड्नु खुट्टाको रोजा हो । कसै बारे गलत धारणा न राख्नु माफ गर्नु मुटुको रोजा हो र कसैलाई हानी नोक्सानी पुर्याउन नराम्रो नसोच्नु मगज अर्थात दिमागको रोजा हो ।

अब हामीले रमजान करीमको एक महिने रोजाको अर्को विशेषता र रोजा बसेर झुट बोल्दा कस्ता नोक्सान हुन्छन् अनि कसले कसरी झुट बोलेर आफ्नो रोजा खराब गर्दछन् भन्ने बारे चर्चा गर्नेछौं । शरीयते इस्लामले भन्छ, ‘जब कुनै व्यक्ति एक पटक झुटो बोल्छ तब अल्लाह दूतले उसले बोलेका सय सत्यहरुलाई मेटाएर एक झुट लेख्दछन् ।’ हामीलाई थाहै हुँदैन हामी दिनभरी बोलेका झुटले कति सय वा कति हजार सत्य मेटाइसके हुन्छन् भनी । यस कारण आफु झुटबाट बच्न के गर्नु पर्ला, यसका चुनौती, सिकाइ र झुट नबोल्दाको फाईदा वा परिकल्पना बारे बिस्तृत जानकारी गराउनेछौं ।

एक महिने रोजाको साईन्टिफिक फाइदा
रोजा बस्दा वर्ष भरी शरीरभित्र जम्मा भएका विकारहरु व्यवस्थापन हुन्छ । यस बारे जापानी जीव कोशिकाका वैज्ञानिक योशिनोरी खोज गरे र उनी भन्छन् कि मैले क्यान्सरको उपचार होइन क्यान्सरबाट बच्ने उपाय नै खोजिहालेछु । उनले भने कि यदि कुनै व्यक्तिलाई भोक लाग्दा उसको शरीरमा खाना पुग्दैनन् भने उसको शरीरभित्र रहेका विशालु कोशिकाहरु एक अर्कालाई खान थाल्छन् । यस कार्यलाई विज्ञानको भाषामा ओटोफी भनिन्छ । जसले गर्दा क्यान्सर जस्तो रोगको खतरा हँुदैन । उनलाई सोधियो कि वर्षमा कति दिन सम्म कति घण्टाका लागि यो प्रकृया अपनाउँदा बेस हुनेछ । उनले भने, जो कोही यदि वर्ष भरीमा कम्तीमा २० देखि २५ दिन र हरेक दिनमा ९ देखि १० घण्टा जति भोको पेट रहन्छ भने उसलाई क्यान्सर हुने सम्भावना एकदमै न्यून हुन्छ । किनभने जब यति समय सम्म एउटा व्यक्ति भोको बस्छ तब उसको शरीरभित्र रहेका विशालु कोशिकाहरु एक अर्कालाई खाइहाल्छन् ।

मुस्लिम समुदायले वर्षको २९ देखि ३० दिन र दिनको १५ देखि १६ घण्टासम्म पवित्र रमजानमा रोजा बस्छन् । अब बुझ्नुभयो होला कि रोजा बस्नले कस्तो साईन्टिफिक फाइदा पुग्छ कि क्यान्सर जस्तो घातक रोगबाट बच्न सकिन्छ । ई.स. १९४५ फेब्रुअरी ९ तारीखमा जन्मेका योशिनोरी सुसुमी एक जापानी सेल जीवविज्ञानी (कोशिका जीव वैज्ञानिक) हुन् । ओटोफीको मुख्य विशेषज्ञता कोषहरू सेलुलर कम्पोनेन्टहरू नष्ट गर्न र पुनःचक्रण गर्न प्रयोग गर्ने प्रक्रिया हो । उनी ओहसुमी टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीको ईन्स्टिच्युट इनोभिएटिभ रिसर्चको प्राध्यापक हुन् । उनले २०१२ मा आधारभूत विज्ञानको लागि क्योटो पुरस्कार, २०१६ मा फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार, र २०१७ मा लाईफ साइन्समा ब्रेकथ्रु पुरस्कार पाए ।

झुटमा मुछिएको हाम्रो सामाजिक परिवेश
रमजानको पवित्र महिना पनि झुटबाट चोखो रहन सकिरहेको हुँदैनन् किनकी हामीले वर्षको एघार महिना सम्म झुट बोलेर आफ्ना काम चलाइरहेका हुन्छौं किनभने झुट बोल्नु जस्तो सहज अरु केही देख्दैनौं । हुन पनि हो झुट बोल्ने र दोषारोपण गरी आफ्नो ज्यान जोगाउने जतिको सहज छैनन् आजको युगमा सत्य बोल्न । जहाँ आज झुटको खेतीमा संसार चलिरहेछ त्यहीं झुटकै भरमा घरपरिवार चलिहरेछ । अब हेरौं चलनचल्तीमा रहेका झुटका केही उदाहरणहरु जो हुन त झुट नै हुन तर हामीले यसलाई सामान्य ठानिरहेका हुन्छौ ।
बिहान उठ्दा पतिसँग बच्चाको स्कुल फीस माग्दा बढाएर माग्छिन् जस्तो एक हजार छ भने पन्द्रह वा दुई हजार दिनुस् भन्छिन् । घरको कुनै महंगो भाडा वा सजावटका सामान आफुले गर्दा भाँचिएमा गाली खान नपरोस् भनी झट्ट फलाना बच्चाले भाँचिदियो भन्छिन् । घरको सरससफाई गर्दा पतिको कुनै सामान अति आवश्यक फाइल वा सरसामान याद नरहने गरी कतैं राखिदिएमा यदि खोजिएको समयमा पतिलाई भेटिएन् भने फलाना बच्चाले चलाइदियो होला भनिहाल्ने ।

बुढा वा बिरामी सासु ससुरालाई मन नपर्ने तर आफुलाई सहज लाग्ने खानेकुरा पकाएर दिंदा तिनले केही भन्नु अघि नै बच्चाले यही खाना खाने जिद्दी गरेकोले के दुई थरी पकाउनु भनी सबैका लागि यही बनाएकी हुँ खानुस् ।घरमा देवरानी जेठानीका बच्चा बीच होस् वा टोलछिमेकका यदि बच्चा बच्चा बीच झगडा हुन्छ भने घटना बारे पुरै जानकारी नहुँदा पनि कि आखिर गलती कसको छ । तर पनि आफ्नो बच्चालाई निर्दोष र अरुको बच्चालाई दोषी ठराइहाल्छौं । अझ कतिपयले थाहा पाएर पनि आफ्नो बच्चाको गल्ती लुकाएर उल्टै लड्न पुग्छिन् । देवरानी जेठानी वा छिमेकीसंग बाझबाझ गरिहाल्छिन् जबकि बच्चाहरुको झगडाको घटनामा उनले आफ्नै बच्चाको गल्ती हेरेकी हुन्छिन् ।

काम सकाएर सुत्ने भनी आफुलाई एकदमै निन्द्रा लागेको बेला कोही बुढापाका पाहुना आइहाले भने हतार हतार चिया बनाएर दिने अनि तपाई चिया खादैं गर्नुस् मलाई जरूरी काम छ म लाग्छु भनी स्वाट्ट त्यहाँबाट हिडिहाल्ने ।आफुलाई मन नपर्ने व्यक्तिको फोनकल आएमा कुरा गर्ने इच्छा नहुँदा फोन रिसिभ गरेर सलाम दुआ गर्ने बित्तिकै उसलाई नमाज पढ्नु छ वा कुरानपाक पढ्नु भनी बहाना लगाएर म अहिले नमाज पढ्न गइरहेछु वा म कुरानपाक पढ्न गइरहेकीछ पछि कुरा गरौंला है अहिलेलाई फोन राखौं भनी फोन राख्न लगाउने ।
ईदुलफित्रको लागि आफ्नो र बच्चाहरुका लागि सापिङ गरिहाल्नु भनी पतिले रकम दिंदा यतिले कहाँ पुग्छ यसमा त बच्चाहरुकै लागि सापिङ गर्न ठिक्क हुन्छ । अनि मेरो सापिङ त बाँकी नै रहन्छ भनी झुट बोलेर थप रकम माग गर्छिन् । जबकी उनलाई थाहा हुन्छ कि पहिला दिएकै रकममा सबैको सापिङ गर्न भ्याइन्छ ।

सापिङ गर्न जाँदा पसलेको पुगेर उसलाई लेटेस्ट कपडा देखाउन भन्छिन् पसलेले भर्खर आएको स्टाकबाट कपडा ल्याएर देखाउँछ । कपडा हेरेर अलि नाक खुम्चियाउँदै भन्छिन्, यो त अलि फिक्का देखि रहेछ अलि मीठो कलरमा देखाउनु न । जबकि पसलेले स्टाककै सब भन्दा राम्रो कपडा देखाएको हुन्छ ।

दश बाह्र पसल धाइसकेपछि बल्ल बल्ल कपडा मन पर्छ अब मुल्य निर्धारण गर्दा पसलेले आफ्नो नाफा जोडेर ठिकको भाउ लगाईदिन्छ । तब महिलाले भन्छिन्, आहाँ यति त धेरै महंगो भन्नु भयो ऊ पल्लो गल्लीको उपल्लो तल्लामा रहेको पसलमा यही कपडा त यसको आधी भाउमा दिइराथ्यो मलाई कलर मन नपरेर मात्र हो नलिएकी नत्र त भाउ त ठिकै भन्या थियो । जबकि उनी न त्यो पसलमा पुगेकी हुन्छिन् न त्यहाँ त्यो कपडा नै राखेको हुन्छ ।

अब शहरको ठुलै नाम चलेको र आफ्नो लेगुलर कपडा सिलाइ रहने टेलरको पसलमा कपडा सिलाउन जाँदा जसले सधै भने अनुसार राम्रो डिजाइनमा कपडा सिलाइ दिएकै हुन्छ । त्यसलाई कपडा दिंदा ल्याएको भाउ भन्दा दोब्बर र तेब्बर भाउ बताउँदै कपडा सिलाइदिन अनेक थरीका डिजाइन बताएर डाइरेकशन दिन्छिन् । साथै यो पनि भन्छिन् पछिल्लो समयमा सिलाएको कपडा अलि मिलेको थिएन् त्यो खासै महंगो थिएनन् त्यसकारण मैले केही भनिन् । तर, यो कपडा एकदम लेटेस्ट नयाँ मोडेल मार्केटमा आएको छ यसको भाउ नि पछिल्लो समय सिलाएको कपडा भन्दा धेरै महंगो छ । यसकारण यसलाई भने अनुसार नै नबिगारीकन बनाई दिनु है त । जबकी न पहिला सिलाएको कपडाको सिलाइ बिग्रेको हुन्छ न त दिएको सिलाउन भनी दिएको कपडाको भाउ नै त्यति धेरै रहेको हुन्छ ।

ईदुलफित्रको दिन उनले लगाएको कपडाको यदि कुनै पाहुनाले यो कपडा कति राम्रो र तपाईमाथि कति सुहाएको भनी अलि कति प्रशंसा गरिदियो भने उनको खुट्टा जमिनमा नै रहँदैनन् । अब त आफ्नो कपडा र आफ्नो जिउडालको बढाइचढाई गरी प्रशंसा बखान गर्ने पर्खेको मौका नै मिलिहाल्छ उनलाई । अब उनी झुट बोल्छिन् कि यो कपडा फलाना ठांउबाट मगाएको हुँ फलाना बुटिकमा सिलाएकी हुं र मेरो जिउडाल त कति मिलेको छ भनी सबैले भन्छन् म आफ्नो रंगरुपलाई निर्खान ख्याल पनि त कति धेरै गरेकी हुन्छु । जबकी लगाएको कपडा त्यही शहरमा किनेर स्थानीय टेलरसंग सिलाएकी हुन्छिन् । जिउडाल भन्दा पनि राम्री देखिनुमा सब महंगो मेकअप र पार्लरको कमाल रहेको हुन्छ ।

झुटबाट बच्न
पतिसंग बच्चाको स्कुल फीस माग्दा जति फीस छ त्यति नै माग्ने यदि आफुलाई आवश्यक छ भने आफ्नो आवश्यकता बारे जानकारी गराई त्यसको लागि छुट्टै माग्ने । यदि घरको कुनै महगो भाडा वा सजावटका सामान आफुले गर्दा भाँचिएमा त्यसका बारेमा सत्य कुरा घरपरिवारका सदस्यलाई जानकारी गराउनुपर्छ । पतिको कुनै सामान अति आवश्यक फाइल वा सरसामान याद नरहने गरी कतैं राखिदिएमा यदि खोजिएको समयमा पतिलाई भेटिएनन् भने सत्य कुरा भन्नुस् कि मैले घरको सरससफाई गर्दा कतै राखिदिएकी छु अहिले याद आइरहको छैन ।

बुढा वा बिरामी सासु ससुरालाई मन नपर्ने तर आफुलाई सहज लाग्ने खानेकुरा पकाएर दिंदा सत्य कुरा भन्नुस् तिनलाई कि सबैका लागि एउटै खाना बनाएकी छु किन भने रोजा बसेर दुई थरी पकाउन जाँगर लागेनन् । देवरानी जेठानीका बच्चा बीच होस् वा टोलछिमेकका यदि बच्चा बच्चा बीच झगडा हुन्छ भने घटना बारे पुरै जानकारी लिनुस् अनि जसको गल्ती छ उसलाई मायाले सम्झाउनुहोस् । बच्चाहरु आज झगडा गरी भोलि फेरी मिलिहाल्छन् । तपाईले बच्चाका विषयमा अनाहक झगडा गरेर किन आफ्नो नातामा तितोपना ल्याउने ।
जब तपाईलाई काम सकाएर एकदमै निन्द्रा लागेको बेला कोही बुढापाका पाहुना आइहाले भने उनलाई चिया नास्ता बनाएर दिनुस् प्रष्ट भन्नुस् कि मलाई साह्रै निन्द्रा लागेछ । उनले आफै भन्दिनेछन् कि जाऊ गएर सतिहाल बिहानै उठ्छौं काम गर्छौं ल गइहाल सुत्न ।
यदि आफुलाई मन नपर्ने व्यक्तिको फोनकल आएछ र कुरा गर्ने इच्छा छैनन् भने फोन रिसिभ गरेर सलाम दुआ गरेर साफ भन्नुस् पछि कुरा गरौंला अहिले फोन राख्छु है । यतिका लागि झुट बोल्ने आवश्यकता नै छैन ।

तपाईलाई जब ईदुलफित्रको लागि आफ्नो र बच्चाहरुका लागि सापिङ गर्न पतिले जति रकम दिन्छन् भने सकभर त्यति नै लिहाल्ने गर्नुस् । त्यतिकैबाट सापिङ गर्नुस् यदि सापिङ गर्दा पुगेन् भने बल्ल माग्नुस् कि दिएको रकमले पुगेन् भनी । तपाई सापिङ गर्न जाँदा पसलेको पुगेर उसलाई लेटेस्ट कपडा देखाउन भन्छिन् पसलेले भर्खर आएको स्टाकबाट कपडा ल्याएर देखाउँदा कपडामा कमी न निकालिकन । बरु आफुलाई कपडा मन परेन् त्यसकारण अर्को देखाउनुहोस् भनी स्पष्ट भन्नुस् ।

राम्रो सामान छनौट गर्नु तपाईको अधिकार हो त्यसकारण जति पसल धाउनुछ धाउनुस् । जहाँ तपाईको चित्त बुझ्ने कपडा भेटिन्छ त्यहीँ किन्नुस् । तर यो भनेर कि मलाई कपडा त मन पर्यो यदि भाउ पनि मिलाइ दिनु हुन्थ्यो भने लगी हाल्थे । पसलेले आफ्नो नाफा सहितको मुल्य भन्नेछ तपाईलाई ठिक लागे किन्नुस् ठिक लागेन् भने नकिन्नुस् ।
कपडा सिलाउन टेलरको पसलमा जाँदा आफुले खोजे जस्तो डिजाइन बताउनुहोस् । यदि टेलरले सिलाउन सक्छ भने ठिक छ भनी राख्छ । यदि सक्दैनन् भने मैले सक्दैन अन्त जानुस् भनिहाल्छ । उसलाई कपडाको मुल्य नभएर कपडाको सिलाउने डिजाइन भन्नुस् उसलाई त्यति मात्र भन्न आवश्यक छ ।
जब ईदुलफित्रको दिन तपाईले लगाउनु भएको कपडाको प्रशंसा गर्छ भने उसलाई धन्यवाद भन्दै उसको पनि तारीफ गर्नुस् । अनि सत्य कुरा भन्नुहोस् ।

झुट नबोल्दा फाइदाहरु
जब तपाई पतिसँग बच्चाको स्कुल फीस माग्दा जति फीस छ त्यति नै माग्नु हुन्छ वा आफुलाई आवश्यक छ भने आफ्नो आवश्यकताबारे जानकारी गराई त्यसको लागि छुट्टै माग्नुहुन्छ भने पतिको विश्वास बढ्नेछ तपाईमाथि ।
तपाईको हातबाट घरको कुनै महंगो भाडा वा सजावटका सामान भाँचिएमा त्यसका बारेमा सत्य कुरा घर परिवारका सदस्यलाई जानकारी गराउनु हुन्छ भने एकछिन कसैले गाली गरे पनि पछि तपाईको सत्य बोल्ने बानीको सराहना गर्नेछन् ।
जब तपाईले पतिको कुनै सामान अति आवश्यक फाइल वा सरसामान याद नरहने गरी कतैं राखिदिए वा खोजिएको समयमा पतिलाई भेटिएनन् भने सत्य कुरा भन्नुहुन्छ भने पति एकछिन रिसाए पनि पछि तपाईको यही सत्य बोल्ने बानीका कारण अझ सम्मान बढ्नेछ ।
जब तपाईले बुढा वा बिरामी सासु ससुरालाई मन नपर्ने तर आफुलाई सहज लाग्ने खानेकुरा पकाएर दिदां सत्य कुरा भन्नुहुन्छ तिनले तपाईको विवशता बुझ्नेछन् ।
जब देवरानी जेठानीका बच्चा बीच होस् वा टोलछिमेकका यदि बच्चा बच्चा बीच झगडा वा घटना बारे पुरै जानकारी लिएर अनि जसको गल्ती छ उसलाई मायाले सम्झाउनुहुन्छ । तब बच्चाहरुले तपाईलाई माया र सम्मान गर्नेछन् साथै झगडा हुँदैनन् अनि तपाईको सम्बन्ध कायमै रहनेछ ।

जब तपाईलाई काम सकाएर एकदमै निन्द्रा लागेको बेला कोही बुढापाका पाहुना आइहाले भने उनलाई चिया नास्ता बनाएर दिएर प्रष्ट भन्नुहुन्छ कि तपाईलाई साह्रै निन्द्रा लागेछ । उनले आफै भन्दिनेछन् कि जाऊ गएर सतिहाल बिहानै उठ्छौं काम गर्छौं ल गइहाल सुत्न उनले तपाईको अवस्था बुझ्नेछन् तपाईप्रति सहानुभूति बढ्नेछ ।
यदि आफुलाई मन नपर्ने व्यक्तिको फोनकल आएछ र कुरा गर्ने इच्छा छैन् भने फोन रिसिभ गरेर सलाम दुआ गरेर साफ भन्नुहुनेछ कि ल पछि कुरा गरौंला अहिले फोन राख्छु है । उसले बुझ्नेछ कि तपाई अहिले कुरा गर्न चाहनु हँुदैन भनी ।
तपाईलाई जब ईदुलफित्रको लागि आफ्नो र बच्चाहरुका लागि सापिङ गर्न पतिले जति रकम दिन्छन् भने सकभर त्यतिमा नै किन्ने जोहो गर्नुहुन्छ वा त्यतिकैबाट सापिङ गर्नुहुनेछ वा सापिङ गर्दा पुगेनन् भने बल्ल माग्नुहुनेछ भने । तपाईको पतिले तपाईको कार्य कुशलतालाई सह्रना गर्नेछन् र तपाईप्रति उनको विश्वास अझ् दरो भइहाल्नेछ ।

सापिङ गर्न जाँदा पसलेले भर्खर आएको स्टाकबाट कपडा ल्याएर देखाउँदा कपडामा कमी न निकालिकन इमान्दारी साथ आफुलाई कपडा मन परेनन् सो अर्को देखाउन भन्नुहुन्छ । तपाईलाई पसलेले सम्मान अझ राम्रो र लेटेस्ट कपडाहरु सुपथ मुल्यमा हेराउनेछ ।
आफुले रोजेको कपडा खोज्न जति पनि पसल धाउनुस् । जहाँ तपाईको चित्त बुझ्ने कपडा भेटिन्छ जहाँ त्यहीँ किन्नुस् । तर कपडा त मन पर्यो यदि भाउ पनि मिलाइ दिनु हुन्थ्यो भने लागि हाल्थे भनेर उसले देखाएको कपडामा कमी ननिकालीकन । अनि पसलेले कहिलेकाँही त आफ्नो नाफा पनि नलिइकन तपाईलाई सुपथ मुल्यमै सम्मानका साथ कपडा देखाउनेछ ।

अनि कपडा सिलाउन टेलरको पसलमा जाँदा उसलाई आफुले सिलाउन खोजे डिजाइन मात्र बताउनुहोस् धेरै कचकच नगर्नुहोस् । यसो गर्दा यदि टेलरले सिलाउन सक्छ भने ठिक छ भनी कपडा राख्नेछ । यदि सक्दैनन् भने मैले सक्दिनन् अन्त जानुस् भनिहाल्नेछ । आवश्यक कुरा मात्र गर्नेलाई उनीहरुले पनि सिलाईको मुल्य समय आदिमा सहजता प्रदान गर्नेछन् र सम्मान पनि दिनेछन् ।
ईदुलफित्रको दिन जब कसैले तपाईले लगाउनु भएको कपडाको प्रशंसा गर्छ भने उसलाई धन्यवाद भन्दै उसको पनि तारिफ गर्नुहुन्छ भने उसले पनि खुशी महसुस गर्नेछ । तपाईको खूशी र उसको खुशी मिलेर ईदुलफित्रको खुशी दोब्बर भइहाल्नेछ ।

चुनौती
झुट बोल्दा अनेक चुनौती आउलान् जस्तैः गरिने काममा असहजता हुने होला । झुटको पर्दाफाश हँुदा पाइएको सेवा सुविधामा कमी वा कटौती हुनसक्ला । झुटका कारण कसैको नोकसान भयो भने त्यस्तो अवस्थामा सत्रु बढ्नेछन् । आफन्तहरु बीच अपनत्व घट्ने छ । तपाईप्रति पसलेको दृष्टिकोण फरक अर्थात नकारात्मक हुनेछ जसले गर्दा रोजेका सामान खोजेको मुल्यमा नपाउन सकिनेछ । तपाईप्रति अरुको विश्वास घट्नेछ ।

सिकाइ
यद्यपि हामीलाई थाहा छ कि झूटको भरमा गरिएका काममा तत्काल सफलता प्राप्त भएको महसुस भएपनि झुटको भरमा ठढाईएका महल एक दिन ढल्छ नै । त्यस कारण जहिले जस्तो सुकै परिस्थितिमा भएनि सत्य बोल्न सक्नुपर्छ ।

परिकल्पना
झुट न बोल्दा एक त धार्मिक हिसाबले पुण्य प्राप्त हुनेछ र एक झुट बोल्दा शय सत्य मेटाइदैनन् । अर्को कुरा समाजमा मानप्रतिष्ठा बढ्नेछ र झुट बोल्ने परम्पराको अन्त्य हुनेछ । किनभने जब तपाई सत्य बोल्नु हुनेछ तब तपाईको बच्चाले पनि सत्य बोल्न सिक्नेछ । तपाई र तपाईका सन्तानहरु विभिन्न नकारात्मक कार्य र अपराधबाट टाढा हुनेछन् किनकि अधिकांश नकारात्मक गतिविधि र अपराधको सुरुवात झुटबाट नै हुने गर्छ । असल समाजको निर्माण हुनेछ जसमा तपाईको पनि योगदान सामिल रहनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया