नेपालगञ्ज उप–महानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले नगरक्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उप–प्रमुख उमा थापा मगरले जानकारी दिइन् । पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४०० जना होम आईसोलेसनमा बसेका छन् ।
बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडा स्तरीय फोकलपर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उप–महानगरको निर्देशन
नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि उप–महानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनूगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवलशम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गरे।
बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधीहरुले उच्च जोखिमका बीचमा पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिन् । कार्यक्षेत्रमा कुनै समस्या वा कठिनाई भएमा तत्काल जनप्रतिनिधीहरुको सम्पर्कमा आउनुहोला, उप–प्रमुख मगरले भनिन्,– तपाईहरुको कामको उच्च मुल्यांकन भईरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । सीमानाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ । आईसोलेसन र हेल्थडेस्कसँगै होम आईसोलेसनमा बसेका कोभिड संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । आईसोलेसनमा बसेकाहरुको खाना र नास्ताको व्यवस्था उप–महानगरपालिकाले गरिरहेको छ । संक्रमितलाई आईसोलेसनसम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको अनूगमन समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष दिपक वर्माले जानकारी दिए ।
यसैबीच नेपालगञ्ज उप–महानगरपालिकाभित्र रहेका संक्रमितहरुलाई निशुल्क औषधी वितरणका सम्बन्धमा मंगलबार वडास्थित स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठक उप–महानगरपालिकामा बसेको छ । बैठकमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि वडास्तरमा गर्नुपर्ने काम र भईरहेका कामबारे आवश्यक जानकारी दिए ।