किन अकालमा ज्यान लिंदैछ कोरोना ?

बाँकेका १ सय १० र जिल्ला बाहिरका १ सय ११ को मृत्यु, सतर्कता र समयमै उपचारले जोगिन सक्छ ज्यान,

पछिल्ला दिनमा बाँकेमा कोरोनाबाट मृतकको संख्या दैनिक थपिंदै गएको छ । कोरोनाको दोस्रो लहर बाँकेमा देखिन थालेपछि रोकिएको मृत्युदर ह्वात्तै बढ्दै गएको छ । स्वास्थ्य मापदण्डको लापरवाही, लागेको आशंका भए समयमै चेक नगराउने, चेक गराएपछि होम आइसोलेसनमा भए स्वास्थ्य अवस्थामा हुने लापरवाही र गम्भीर भएपछि मात्रै अस्पताल पुग्नुले पनि ज्यान जानेको संख्या थपिंदै गएको चिकित्सकहरु बताउँछन् । अझ दीर्घकालीन बिरामीहरुलाई कोरोना लागे उपचारमा थप जटिलता आउने गरेको हो ।
बाँकेमा कोरोना संक्रमित बिरामी जसलाई अक्सिजनको आवश्यक छ उसलाई अस्पताल भर्ना गर्ने गरिएको छ । होम आइसोलेसनमा रहँदा आफ्नो अक्सिजन लेभल आफै पनि चेक गर्न सकिन्छ, स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकिन्छ । यसतर्फ बिरामी आफै सचेत नहुँदा पनि ज्यान जाने गरेको पाइन्छ ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा रोग लग्न नदिनु नै अहिले कोरोना संक्रमण र त्यसपछि थपिने जटिलताबाट बच्ने प्रमुख उपाय भएको बताउँछन् । ‘घरमै बस्ने, कसैसँग सम्पर्कमा नरहने हो भने कोरोना लाग्दैन’, उनी भन्छन्, ‘त्यसबाहेक कोरोना लागेको आशंका भए परीक्षण गराउने, होम आइसोलेसनमा बस्ने र स्वास्थ्य बिग्रिएर तत्काल अस्पतालमा भर्ना हुने नै विकल्प हो ।’
चिकित्सकहरु ढिला अस्पताल पुग्दा पनि बिरामीको ज्यान जाने गरेको बताउँछन् । ‘जटिल अवस्थामा अस्पताल पुगे चिकित्सकको प्रयासका बावजुद ज्यान जाने जाने जोखिम हुन्छ’, उनी भन्छन् । कोरोना नियन्त्रण र उपचारमा अग्रंपक्तिमा खटिने कोरोना संक्रमण हुने जोखिम बढी रहन्छ । भेरी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचारमा खटिएका ८३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भैसकेका छन् । ‘सयौं कोरोना संक्रमित बीच उपचार सेवा दिंदा संक्रमणको जोखिम अत्याधिक हुन्छ’, स्वास्थ्यकर्मी भन्छन् ।
बाँकेमा बिहीबार साँझसम्म बाँकेका १ सय १० र बाँके बाहिरका १ सय ११ कोरोना संक्रमितको मृत्यु भएको छ । यो तथ्यांक गत बर्ष कोरोना संक्रमण देखिएपछि हालसम्मको हो । यद्यपि, अहिले दोस्रो लहरमा ज्यान जानेको संख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमा ८ जना बाँके र ३ जना बाहिरी जिल्लाको रहेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया