कारोना भाइरसको संक्रमणले तिब्रता लिइरहँदा स्वास्थ्यकमीृहरुनै जोखिममा परेका छन् । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको हो । ‘जतिनै जोखिममा रहेपनि हामी काम गर्न पछि हटेका छैनौं,’ भेरी अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीले दैनिक नेपालगन्जसँग भनिन्, ‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा समस्या आएपनि हामी व्यवस्थापन मिलाएर काम गरिरहेका छौं ।’

केसी आफैपनि संक्रमणमा परेर सोमवारदेखि काममा फर्किएकी हुन् । ‘संक्रमित स्वास्थ्यकर्मी समेत अहिले उपचारमा खट्नु पर्ने बाध्यता छ,’ उनले भनिन्, ‘कतिपय अस्पतालमा र कतिपय होम आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।’ १५ जना जति स्टाफ नर्स कोरोना मुक्त भएर पुनः काम फर्किएका कारण उपचारमा केही सहजता भएको भएपनि पर्याप्त नभएको अस्पतालको भनाइ छ ।
अस्पतालमा अहिले २४२ जना संक्रमित उपचाररत छन् । आईसीयूमा ७५ र भेन्टिलेटरमा ९ जनाको उपचार भइरहेको छ । ७५ देखि ८० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ । नर्सिङ अफिसर केसीका अनुसार, बुधबार पनि केही स्वास्थ्यकर्मीसहित कर्मचारीमा संक्रमण भएको छ ।

भेरी अस्पतालमा जनशक्तिको कमि हुँदा संक्रमित स्वास्थ्यकर्मीहरु पनि उपचारमा खटिनु परेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले बताएका छन् । ‘कतिपय स्टाफ नर्स आफै संक्रमित भएर पनि अरु विरामीको उपचारमा खटिनु भएको छ,’ सकेसम्म सेवा दिने प्रयासमा रातदिन खटेका छौं ।’
अस्पतालले ६० जना कर्मचारी आह्वान गरेकोले केही सहजता आउने विश्वास डा. थापाको छ । अस्पतालले एनेस्थेसियोलोजिष्ट तीनजना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत दुईजना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

भेरीमा कोरोना बिरामीका लागि एक सय ४२ बेड छुट्याइएको थियो । त्यसलाई बढाइएपनि जनशक्ति उहि छ । ‘बेड बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ,’ अस्पताल कर्मचारी भन्छन्, ‘ पाँचजना स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नु पर्ने बाध्यता छ ।’ अस्पताल प्रमुख डा. थापाले जनशक्तिसँगै सेवाको स्तर पनि बढ्दै जाने विश्वास गरे ।