शाहिदा वानो शाह

मोहम्मदी सिद्दीकीले यो भौतिक संसार छाड्नु बाँके जिल्लाका लागि मात्र होइन सम्पूर्ण नेपालकै लागि अपूरणीय क्षति हो । मैले आफ्नो अभिभावक गुमाएँ जस्तो पीडा महसुस भइरहेछ । मैले चिनेकी मोहम्मदी सिद्दीकी निकै मृदभाषी, सदाचारी, सहयोगी, सबैको भावनाको कदर गर्ने, असल सामाजिक नेतृत्वकर्ता र एक कुशल राजनीतिकर्मी हुनुहुन्थ्यो ।
मेरी हजुरआमाले उहाँको संघर्षका कुरा सुनाउँदा भन्नुहुन्थ्यो, ‘मोहम्मदीले पतिको स्वर्गवास भएपछि आफ्ना सन्तानहरुको पालनपोषण गर्न धेरै संघर्ष गरिन् । उनको संघर्षले नै उनलाई सफलता दिलायो । फलस्वरूप हिजो घरबारमा सीमित रहेकी मोहम्मदी वडा अध्यक्षको चुनावमा उठ्नु अघिसम्म पुरै टोलबासी देखेका पनि थिएनन् । उनलाई आज देश दुनियाँले चिन्यो । उनले समाज मात्र हैन आफ्ना सन्तानहरुको प्रति रहेको आफ्नो जिम्मेवारी पनि कुशलतासाथ निर्वाह गरिन् ।’
उहाँ (मोहम्मदी)लाई म सानै देखि चिन्दथें, हामी एउटै टोलबासी थियौं । उहाँको कार्यव्यस्तताले गर्दा दिनकै भेटघाट नभएपनि भेटघाट हुँदा दुआ सलाम गरिन्थ्यो । तर एसएलसी परिक्षा सकेर रिजल्टको पर्खाईमा घरमा बसिरहेको समयावधी बीच मेरी साथी गौसियाले मलाई सामाजिक क्षेत्रमा सकृयता साथ लाग्न सुझाव २०६१ सालको अन्त अन्त तिर हो । साथीले फातिमा फाउन्डेशन–नेपालमा लिएर आइन् । त्यहाँ आइसकेपछि उहाँसँग विस्तृत चिनजान भयो । उहाँले सामाजिक क्षेत्रमा लाग्न भनी सुझाव दिनुभयो मैले २०६२ साल देखि निरन्तर कार्यालय जान सुरु गरें । यसरी निरन्तर फिल्डहरुमा पनि जान थालेपछि मेरो सकृयता र कार्यकुशलताका कारण मैले काम गर्ने । अवसर पाएँ र त्यहाँ तेह्र वर्षसम्म कर्मचारी भइ काम गरें । तेह्र वर्षको दौरान महिलाअधिकार र मानवअधिकारका विभिन्न आन्दोलनमा हामी संगसगैं रहेका थियौं ।
मैले काम गर्दा बिगारेमा बसालेर सम्झाउनुहुन्थ्यो अनि मैले नजानेका कुराहरु बडो सहजताका साथ बुझाइदिनुहुन्थ्यो । उहाँ सधैं भन्ने गर्नु हुन्थ्यो कि ‘तपाईहरु कर्मचारी होइन, ऐना हो बाहिर देख्ने तपाईमा फातिमा फाउन्डेशन नेपालको छवि देख्छन् । त्यसकारण सधैं सीधा बाटोमा हिड्नुहोला । असल साथीहरुसंग संगत गर्नुहोला । नराम्रो बाटो र नराम्रो साथी कहिले न रोज्नुहोला । तपाईहरु आउने पिढीका लागि उत्प्रेरणा र उदाहरण बन्नुछ ।’ मलाई उहा“को यो कुरा सधैं स्मरण रहनेछ ।

मैले प्रदेशसभाको चुनावको बेला उम्मेदवारी दिंदा आफ्नो पदबाट राजीनामा दिएदेखि हामी बीच निरन्तर भेटघाट र सम्पर्क रहन सकेन् तथापि सामाजिक र पारिवारिक कार्यक्रम र समारोहहरुमा भेटघाट हुँदा भलाकुसारी हुने गथ्र्यो । यस्तै वैवाहिक समारोहका क्रममा सन् २०२१ साल जनवरी १० तारीख आइतबारका दिन फातिमा फाउन्डेशन – नेपालका कोषाध्यक्ष सुवेदा फरहीनको विवाह समारोहमा शरीक भएको बेला हुने भेट नै उहांसंगको अन्तिम भेट भइदियो । उहाँ मुस्लिम समुदायका लागि मात्र नभइ सम्पूर्ण देशबासीकै लागि एक अनमोल धरोहर हुनुहुन्थ्यो ।
फातिमाको स्थापना गर्नुपूर्व महिला अधिकार र महिला सशक्तीकरण क्षेत्रमा योगदान पुर्याउन उहाँ नारी कल्याण समाज संस्था, परिवार नियोजन संघ जस्ता संस्थामा आबद्ध रहनुभयो । मुस्लिम महिलालाई पनि अगाडि बढाउने लक्ष्यका साथ वि.सं.२०६१ साल मंसिर १० गते विधिवत रुपमा मुस्लिम महिलाको अधिकारका लागि फातिमा फाउन्डेशन–नेपाल नामक संस्था स्थापना गर्नुभयो । यो संस्था स्थापना गरेपछि उहांँमाथि अनेक लाञ्छना र धार्मिक प्रतिबन्ध लगाइयो ।
धर्मलाई खतरामा पार्ने भनेर सामाजिक बहिष्कार गर्नेदेखि मञ्च खडा गरेर उहाँं विरुद्ध समाजलाई भड्काउने, धम्की दिने, पर्चा, पम्पलेट प्रकाशन गरेर अफवाह फैलाउने जस्ता कार्य गरिए । तर समाजले लगाएको लाञ्छना, धम्की र अफवाहको प्रवाह नगरीकन निरन्तर अगाडि बढ्दै जानुभयो । समाजले लगाएको लाञ्छना मेटाउन र इस्लाम धर्ममा महिला अधिकारको कुरा बुझाउन उहाँलाई १० बर्ष जति नै लाग्यो ।
विगतमा उहाँले नेपाली राजनीतिक जगतमा इतिहास नै रच्नु २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साबिक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभयो । उक्त निर्वाचनमा चार जना पुरुष उम्मेदवारलाई पराजित गरि भारी मतान्तरले विजयी भइ नेपालको पहिलो निर्वाचित मुस्लिम महिला वडा अध्यक्षमा आफ्नो नाम दर्ज गराउन सफल हुनुभयो । उहाँको सामाजिक क्षेत्रमा योगदान त निरन्तर थिए नै राजनीति तर्फ पनि आफ्नो दखल बढाउँदैं जाने क्रममा २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट मुस्लिम महिला भएकै कारण संविधान सभा सदस्य हुनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियका विभिन्न सम्मान र पदक पनि हासिल गर्नुभयो । आज उहाँलाई नचिन्ने कोही छैनन् । उहाँ भौतिक रुपमा हामी माझ रहे पनि उहाँले सिकाउनु भएका आदर्शका पाठ सधैं सधैं आत्मसात गरी उहाँलाई महसुस गरिरहनेछु । उहाँको अभियानलाई सफल रुपमा अगाडि बढाउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो यस कारण म महिला अधिकार र मानवअधिकार क्षेत्रमा सकृय रही उहाँको अभियानलाई सार्थकता दिन सदा प्रयासरत रहनेछु ।

उहाँको बारेमा सामाजिक क्षेत्रमा सकृय अधिकारकर्मी एंव राजनीतिकर्मीहरुले व्यक्त गरेका भावलाई दैनिक नेपालगन्जको आजको अंकमा समेट्न उचित लागेको छ । पूर्व मन्त्री जाकिर हुसैन सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘अलविदा मोहम्मदी सिद्दिकी !’
बंगलादेशी लेखिका समिमा सिद्दिकीले त्रिविमा स्नातकोत्तर अध्ययन गरिरहेको बेला नेपाली मुस्लिम समुदायको इतिहास लेखिन् – मुस्लिम अफ नेपाल । त्यस ऐतिहासिक पुस्तकमा उनले केही महत्वपूर्ण मुस्लिम व्यक्तित्वलाई पनि चिनाउने प्रयास गरेकी थिइन् । त्यही पुस्तकमा प्रथम पटक मोहम्मदी सिद्दिकीको बारेमा थोरै भए पनि पढ्न पाएको थिएँ । पुस्तकमा उहाँलाई प्रथम निर्वाचित मुस्लिम महिला नगरसमिति सदस्यको रूपमा चिनाइएको थियो । न भन्दै उहाँ २०६४ सालमा संविधानसभाको सदस्य हुनुभयो । नेपालको वर्तमान संविधान लेख्ने एक ऐतिहासिक व्यक्तित्व हुनुभयो ।
२०७८ सालमै प्रकाशनको तयारी भइरहेको मेरो पुस्तक नेपालमा इस्लामी सभ्यताको विकासमा पनि मैले नेपालका केही प्रमुख व्यक्तित्वहरूको संक्षिप्त जीवनीको एउटा च्याप्टर राखेको छु । त्यसमा मोहम्मदी सिद्दिकीको बारेमा पनि केही कुरा समेटिएको छ । उहाँसँग यस तीन वर्षमा मेरो तीनपटक फोन वार्ता भएको थियो । एक वर्षअघि नेपालगन्जमा मुस्लिम आयोगको कार्यक्रममा मैले प्रस्तुत गरेको कार्यपत्रमाथि उहाँले छोटो–मीठो सटिक टिप्पणी गर्नुभएको थियो । त्यही नै प्रत्यक्ष रूपमा उहाँलाई अन्तिम पटक देखेको र सुनेको हुन पुग्यो ।
बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज लेख्नुहुन्छ, ‘संविधानसभा सदस्य, नेपाली काँग्रेसकी नेतृ, एक परिपक्व राजनीतिकर्मी, संघर्षशील महिला नेतृ मोहम्मदी सिद्विकी दिदीको मृत्युको दुःखद खबरले दुखित र स्तब्ध बनाएको छ । बाँकेले एक परिपक्व राजनीतिकर्मी, जुझारु नेता र सामाजिक ब्यक्तित्व गुमाएको छ । मोहमदी सिद्दीकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
हज समितिका केन्द्रीय सदस्य मेराज अहमद भन्नुहुन्छः नेपालगन्जमा मुस्लिम समुदाय भित्र मुस्लिम महिला सशक्तिकरणका लागि निर्वाह गर्नु भएको भूमिका अतुलनीय छ । यो नेपालगन्जका लागि र मुस्लिम मात्र होइन सम्पूर्ण समुदायकै लागि अपूरणीय क्षति हो । मोहम्मदी सिद्दीकी जस्तो अभिभावक गुमाउनु साह्रै दुखद कुरा हो । म जब देखि यो कुरा सुनेको छु तब देखि मैले आफ्नो अभिभावक गुमाएँ जस्तो महसुस गरिरहेको छु ।’
नेकपा एमाले बाँकेका जिल्ला सह–इन्चार्ज हारुन कादरीले ‘मुस्लिम अइरन लेडी’ को उपाधी दिंदै स्वर्गीय मोहम्मदी सिद्दीकी प्रति शब्द श्रद्धा अर्पण गर्नुभएको छ । महिला तथा बालबालिका कार्यालयका अधिकृत शोभा शाह भन्नु हुन्छ, ‘ देशले आज एक सपूत गुमाएको छ, वास्तवमै देश र समाजको लागि क्षति पुगेको छ । तर भगवान फेरि पनि यहि ठाउँमा जन्म देउ, उहाँले अझै धेरै गर्न बाँकी छ । ’
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले ‘मोहम्मदी सिद्दीकी मात्र मुस्लिम समुदायका लागि नभइ सम्पूर्ण देशबासीका लागि प्रेरणा हुनुहुन्थ्यो,’ भन्दै उहाँका संघर्ष र योगदानहरु देशले कहिल्यै बिर्सिने छैन भन्नु भएको छ ।
अधिकारकर्मी सपना भट्टराईको लामो अनुभव छ । ‘२००२ देखि उहाँसंग निकट रही काम गरें । उहांको अभियानलाई फरक समुदायबाट बलियो गरी साथ दिएँ फातिमा स्थापनाकै क्रममा समुदायका दबाब खेप्न नसक्दा निराश हुनुभयो । सदैव उहांको साथमा उभिए निर्भिक रुपमा बढ्न साथ र सहयोग रह्यो । उहाँं एक सुल्झेकी व्यक्ति हुनुहुन्थ्यो । उमेर संगै शारिरीक र घरव्यवहारका कारण केही असहज परिस्थीतीका बारेमा केही तनावमा रहेको कुरा सेयर गर्नुभएको थियो । र, त्यही भलाकुसारी नै मलाई उहासंँगको समीप्यताको अन्तिम क्षण रहयो । दुःख लागेको छ । एक धैर्यवान साहसी महिलाले कोरोना कहरको महामारी थेग्न सक्नु भएन । निराश हुनुहुन्थ्यो र पनि निरन्तर लागी पर्नुभयो यस क्रममा उहाँलाई उर्जा र साथ दिन मैले पनि कठिनाईको परबाह नगरी साथ दिईरहँे । उहाँंको सहनशीलता र धैर्यताको सदैव कदर गर्छु ।’
सिविन –नेपाल नेपालगन्जका संयोजक सिद्धराज पनेरुले सरल र सालिन स्वभाव सादा जीवन उच्च बिचार महिला बालबालिकाहरुका अधिकार संरक्षणका लागि लामो समय देखि सामाजिक रुपान्तरका लागि क्रियाशील ब्यक्तित्वका रुपमा चित्रण गर्दै सिद्दीकीको निधनले बांके जिल्लाले एक असल व्यक्तित्व गुमाएको टिप्पणी गर्नु भएको छ ।
पत्रकार अक्षरी पोखरेल भन्नुहुन्छः मोहम्मदी दिदी एकदम सरल स्वभावको, अरुलाई सहयोग गर्ने अनि सकारात्मक सोच्ने कसैप्रति पनि नकारात्मक नसोच्ने, एउटा समाजसेवी र महिला नेतृ मुस्लिम समुदायलाई अगाडि बढाउन उहाँंको निकै ठूलो योगदानहरु रहेका छन् । उहांँकै प्रयासका कारण मुस्लिम महिलाहरु बाहिर निस्किने अवसर पाएका थिइन् । सम्मानित, चरित्रवान राम्रो बाटोमा हिड्ने महिला भएको कारण मुस्लिम परिवारका अभिभावकले आफ्ना घरका महिलालाई उहांँसंग जोड्दथे । सबलाई राम्रो गर्ने व्यक्ति सितिमिति हँुदैंनन् ।
पत्रकार मोहम्मद आरिफ अन्सारी भन्नुहुन्छः समुदायस्तरमा उहांँले धेरै महिलाहरुको पारिवारिक जीवनमा परिवर्तन ल्याईदिनु भएको छ । उहाँंले हरेश खाएकाहरुलाई नयांँ जीवन दिन तत्पर रहनुहुन्थ्यो ।
अधिवक्ता बसन्त गौतमको भनाइ पनि उत्तिकै महत्वपूर्ण छ । मोहम्मदी दिदीको मृत्युको खबरले सारै दुःखित बनायो । अल्पसंख्यक मुस्लिम समुदायभित्रको घुम्टो उघार्दै महिला अधिकार र सशक्तिकरणका लागी वहाले गर्नुभएको योगदान अतुलनीय छ । उहां संगको मेरो चिनजान बिस बर्ष अघि देखिको हो । महिला त्यसमा पनि मुस्लिम समुदायका महिलाको हक अधिकार र सामाजिक न्यायका लागी उहाँंले बिभिन्न चुनौती सामाजिक मुल्य मान्यता चिर्दै महिलाहरुलाई संगठित गराउने अन्यायमा परेका महिलाहरुको न्यायका लागी उहांले जुन भुमिका खेल्नुभयो साँच्चै अविस्मरणीय छ । उहाँको साहस, मानव अधिकार र लोकतन्त्र प्रतिको अटल बिश्वासलाई हार्दिक सलाम । उहांले हिड्नु भएको गोरेटोमा हिड्ने अनि पछाडी पारिएका, अन्यायमा परेका महिलाको अधिकार संरक्षण र न्यायका लागी लाग्नु नै उहांँ प्रतिको सच्चा श्रद्धान्जली हो ।
अधिवक्ता सुनील श्रेष्ठ भन्नुहुन्छः उहाँ कुशल राजनीतिज्ञ असल सामाजिक कार्यकर्ता र सफल अभियन्ता पनि हो । उहांँ साह्रै सरल र सहयोगी ब्यक्तित्व हो । उहाँं चाहिंँ अधिकार क्षेत्रमा लाग्ने सम्पूर्णका लागि प्रेरणा श्रोत हुन् । साह्रै मर्माहत भएछ उहांँको दुःखद निधनले !
संकल्प काठमाडौं कि रोजी गुरुङको भनाइ पनि उत्तिकै प्रेरक छ । ‘उहाँ रिसाएको कहिले देखिन फातिमा फाउन्डेशन नेपालले मित्र होइन, हामी सबैले एक महान महिला अधिकारकर्मी गुमिएका छौं । बिर्सनु नसक्ने अनमोल हीरा गुमायौं । उहांँ मुस्लिम महिला मात्र होइन सारा नेपाली महिलाका लागि एउटा ठुलो हस्ती हुनुहुन्थ्यो ।’
नेपाली कांग्रेसकी युवा नेतृ दीपा आले फेसबुकमा लेख्नु भएको छ ः ‘दिज्जु हजुरले यो समाजको लागि गर्नु भएको महत्पूर्ण योगदान हामी कहिले बिर्सिंने छैनौं ।’