पृष्ठभूमि
रमजान करीम अर्थात रोजा बस्ने यो महिना मुस्लिम समुदायको लागि एक पवित्र महिना हो । रोजा एक यस्तो इबादत हो जसको साक्षी अल्लाह मात्र रहेको हुन्छ । अरु इबादत जस्तै नमाज पढ्दा आसपास हुनेलाई थाहा भइहाल्छ कि फलाना नमाज पढ्दै छ । कसैले दान दियो भने देख्ने मानिसलाई थाहा हुन्छ कि फलानाले दान दिदैंछ । हज गर्न जाँदा हेर्ने मानिसहरुलाई थाहा हुन्छ कि फलाना अरकान अदा गर्दैछ । तर रोजा बसेको मानिस साच्चिकै रोजा बसेछ भन्ने कुराको गवाह र साक्षी अल्लाह मात्र हुन्छ । भन्नाले वास्तवमा को को रोजा बसेछ भन्ने कुरा अल्लाहलाई मात्र थाहा हुन्छ । किनभने जो रोजा बस्दैन् उसले मानिसहरुबाट लुकेर खाना खान सक्छ, पानी खान सक्छ र पान गुटखा सुर्ती आदि खान सक्छ तर अल्लाहसंग त लुकाउन सक्दैनन् किनभने अल्लाहले त सबै हेर्नुहुन्छ । त्यसकारण आज हामी यस पवित्र महिनाको विशेषता, रोजा नबस्नेहरुको बहाना र रोजेदार गृहणीहरुको दिनचर्या बारे चर्चा परिचर्चा गर्नेछौं । यस्तो प्रचण्ड गर्मीमा रोजा बसेर आफ्नो इबादत र पारिवारिक जिम्मेवारीहरु पुरा गर्ने गृहणीको दैनिकी बारे अरुलाई थाहा होस् जसले सोच्दछन् र भन्दछन् कि महिलाहरु आखिर गर्छन् के उनीहरु त खाली घरमा बसिरहेका हुन्छन् । यसै विषयलाई लिएर फैलिएको भ्रम चिर्न यस विषयमा चर्चा गर्न आवश्यक ठानेर आज बुर्काभित्र÷ बुर्काबाहिर स्तम्भमा हामीले रोजेदार गृहणी र तिनीहरु दिनचर्या बारे चर्चा गर्नेछौं । जसले प्रचण्ड गर्मीको बावजूद पनि निराआहार निराजल रहेर भान्छामा उभिएर घरपरिवारका लागि खाना बनाउँछिन् सबैको ख्याल राख्छिन् । रोजा बसेर पनि आफ्नो काम गर्दा उनको अनुहार संधै हसिलो देखिन्छ ।
रमजान करीमको विशेषता
यो रहमत, बरकत इबादत र नेआमतको महिना हो यस महिनामा प्रत्येक रोजेदारले भोक र तिर्खाको अनुभूति गर्दछ । रोजा बस्दा उनीलाई महसुस हुन्छ कि संसारका गरीब मानिसहरुले खाना नहँुदा कस्तो महसुस गर्छन् । समग्रमा भन्दा माह–ए– रमजान धैर्यताको महिना हो र धैर्यको फल स्वर्ग हो । यसको अर्थ यो हो कि जब रोजेदारले यो महिनामा केवल अल्लाहको आदेश पालना गर्नका लागि आफुलाई मनपर्ने सबै चीजहरू छोडिदिन्छन् जस्तैः आफ्नो इच्छाएका काम छाडेर सन्तुष्टि प्राप्त गर्छ अनि उनीहरुमा सहयोगी भावना पलाउँछ ।
मुसलमानहरुले पुरै एक महिना आफ्नो नफ्स (चाहना)बाट रोकेर आफुलाई गुनाहबाट टाढा र पुण्यसंग नजिक हुनका लागि शरीरलाई प्रशिक्षित गर्छन् र असहायलाई सहयोग गर्न जकात (इस्लामी कर) दिन्छन् । रमजानको पवित्र महिना समयनिष्ठताको उत्कृष्ट उदाहरणको हो । किनभने रमजानको पवित्र महिना भरी सुत्ने, इबादत गर्ने समयका साथै खाने पिउने, समय समेत तोकिएको हुन्छ । यो महिनामा गरिब र धनीले एक अर्काको भावना र अवस्था बुझ्ने मौका पाउँछन् । यस महिनामा आफ्नो हरेक कुरामा सन्तुलन कायम राख्न अवसर प्राप्त हुन्छ । यो बेला पुण्यको गणना बढाइदिएको हुन्छ अर्थात् एक राम्रो कार्य गरेमा सत्तरी बराबरको पुण्य प्राप्त हुन्छ । यस कारण मुस्लिम समुदायका लागि यो निकै महत्वपूर्ण, उपदेश मुलक र समयनिष्ठताको महिना हो ।
हाम्रो परिवेश
रोजा नबस्नेहरुले प्रयोग गर्ने उत्तम बहाना
रमजान सुरु हुन लाग्दै यदि कसैले सोधिहाल्यो कि आउनै लागेको रमजान करीमको तयारी गर्नुभयो भने यो प्रश्नको जवाफ रोजा नबस्न बहाना गर्नेले के दिन्छन् भनी लेखमा पढ्दै जानुहोला । हुन त आजभोलि गर्मीयाममा दिन ठूलो हुन्छ करिब १६ देखि १७ घण्टा सम्म पानी पनि नखाएर निराआहार निराजल रोजा बस्नुपर्ने हुन्छ । त्यसका साथै इबादत (नमाज र कुरानपाक) पढ्नुपर्छ । अझ पुण्य र पाप ७० गुणा बढ्ने हुँदा रोजा बस्दा तक्वाको (नराम्रो कार्यहरुबाट बच्न भनी) पनि पूरै ख्याल राख्नुपर्छ जस्तैः टी.भी. सिरियल र फिल्महरु नहेर्ने, गीत संगीतहरु नसुन्ने, अनावश्यक मोबाईल गेमहरु नखेल्ने, झूठ नबोल्ने, चोरी नगर्ने, गाली गलौज नगर्ने, कसैलाई दुख नदिने, कसैको चित्त नदुखाउने, कसैलाई कुटपिट नगर्ने र कसैलाई गलत नियतले नहेर्ने जस्ता कुरामा विशेष सेल्फ कन्ट्रोल आफुमाथि नियन्त्रण राख्नुपर्छ ।
रोजा बस्न गाह्रो मान्नेहरुको आजभोलि एउटा यस्तो लहर चल्न थालेछ जहाँ रमजान करीमको रोजा सुरु हुन हफ्ता दिन मात्र बाँकी हुन्छ कि हट्टा–कट्टा महिला र पुरुष दुबै डाक्टर कहाँ पुगेर भए न भएका रोग गनाएर औषधीको पोकोपत्री घर लिएर आउँछन् । अनि उनलाई कसैले सोध्यो कि रोजाको तयारी गर्नुभयो त तब उनको जवाफ हुन्छ कि ‘कहाँ गर्न सक्नु यी हेर्नु डाक्टरले एक महिनाकै औषधी दिएछ । अब औषधी खाँदै कसरी रोजा बस्ने अनि बिरामीलाई रोजा बस्न कर पनि त छैन् नि हाम्रो इस्लाममा । जो व्यक्तिहरु ११ महिना सम्म निरोगी हुन्छन् तिनीहरु रमजान नजिकिंदै गर्दा नै बिरामी भइहाल्छन् । यदि बिरामी नै हो भने ११ महिना सम्म समय ३३५ दिन हुन्छ तब औषधी गर्दैन्न् रमजान करीम नजिकिंदै गर्दा मात्र डाक्टर कहाँ जान्छन् । अझ् कोही कोही त कमजोरीको बहाना बनाउँछन् कि रोजा बस्दा रिंगटा लाग्छ चक्कर लाग्छ । तिनीहरु वर्षको ३६५ दिनमा ३३५ खाँदा मोटाएर घरको ढोका फेर्नु पर्दैन् तर रमजान करीमको ३० दिन रोजा बसेमा कमजोर भइहाल्छन् रे ।तर धन्य छिन् ती रोजेदार गृहणी जो प्रचण्ड गर्मीमा रोजा बसेर पनि आफ्नो जिम्मेवारी सहर्ष निर्वाह गर्छिन् तर उनको मुख सधैं उज्यालो देखिन्छ ।
रोजेदार गृहणीको दिनचर्या
अधिकतर रोजेदार गृहणी राती अढाई देखि तीन बजेको बिचमा उठ्छिन् भान्छाघरमा कुचो लगाउँछिन् फ्रेश भएर हातमुख धोएर वजू गर्छिन् । त्यसपछि तहज्जुदको नमाज पढेर सेहरी बनाउन बस्छिन् । शहर बजारतिर धेरैजसोले चिया वा दूध सिवाईं अथवा राति पकाइएको रोटी वा खाना तताएर खान्छन् । गाउँघरतिर त्यस्तो छैन् उनीहरुलाई खेतबारीमा घाममा दिनभरी काम गर्नुपर्छ त्यसकारण तिनीहरु ताजा पकाइएको खाना दालभात, रोटी तरकारी नै खानेहुँदा त्यहाँ त गृहणीहरु पुरा ताजा खाना नै पकाउँछिन् । सेहरी तयार भइसकेपछि सबैलाई खान भनिकन पस्केर एकछिन काखे बालकलाई हेर्न कोठामा पुगेकै हुन्छिन् । बच्चा उठेछ भने काखमा लिएर आफुले पनि सेहरी गर्न दुईचार गाँस मुखमा हाल्छिन् । बच्चालाई सुताउँदा र भान्छाकोठा सफा र घर बढार्दासम्म फजरको अजान हुन थाल्छ । उनी हतार हतार भाडा धुन्छिन् अनि वजू गरेर फजरको नमाज पढ्छिन् र केही बेर कुरानपाक पढ्छिन् ।
यत्तिकैमा सात साढे सात बजिसक्छ उनले घडी हेर्छिन् र फेरी भान्छातिर दौडिन्छिन् किनभने स्कूल जाने बच्चाहरुलाई टिफिन र वृद्धा र बिरामीका लागि खाजा बनाउनुपर्ने हुन्छ । टिफिन र खाजा तयार भएपछि बच्चाहरुलाई तयार गर्छिन् बच्चालाई नास्ता खुवाएर स्कुल पठाउँछिन् त्यसपछि घरमा रहेका वृद्धा र बिरामीहरुको हेरचाह र खाजामा लाग्छिन् । यी कामबाट फुर्सद पाएपछि पुनः भाडा धुन बस्छिन् र भाडाका साथै परिवारका सदस्यहरुले फुकालेर राखेका कपडा तन्ना आदि धुन्छिन् । यत्तिकैमा बाह्र साढे बाह्र बजिसक्छ । सबै काम भ्याएर वजू गरी कुरानपाक पढ्न बसेको केही बेरमै जुहरको अजान हुनथाल्छ । उनी जुहरको नमाज पढ्छिन् तब सम्म दुई बजिसक्छ ।
अब उनलाई खाना र इफ्तार बनाउन हतार भइसक्छ तसर्थ तरकारी र चामल दाल केलाउंछिन् । छिटोछिटो चुल्होमा तरकारी र दाल बसालेर रोटीका लागि पिठो मुछेर एक साईडमा राखी बेसनको घोल तयार पार्छिन् त्यसपछि पकोडा कबाब बिर्यानी आदि बनाउने सरसामान मिलाएर ठिक्क पार्छिन् । जब सम्म दाल र तरकारी पाकिसकेको हुन्छ उनी पाकेको खाना बच्चाहरुले छोएल नपोल्न भनी एक किनारमा बच्चाहरुले नभेटाउने गरी राख्छिन् । अनि एकातिर बिर्यानीको लागि मासु बसालेर अर्कोतिर एक एक गरी कबाब, पकोडा र रोटीहरु तयार गर्दैं रहदां असरको अजान हुन थाल्छ । उनको हातको स्पीट झन् बढ्छ उनी बिर्यानीको लागि चामल चुल्होमा बसाल्छिन् चामल पाक्न थालेपछि चुल्हो सिम गरी भाडा एकत्रित गर्छिन् र वजू गरेर असरको नमाज पढ्दा सम्म पौने छ बजिसक्छ ।
इफ्तारमा अब थोरै समय बाकी रहेको हुन्छ तर शरबत र फ्रुट सलात र फ्रुटचाट अझै बनाउनै बाकी हुन्छ त्यो पनि झटपट तयार पार्छिन् । हतार हतार सबै भ्याउदैं आफन्त र टोलछिमेक अनि मश्जिदमा इफ्तारी पठाउदैं गर्दा यता घरमा इफ्तारका लागि दस्तरख्वानमा सबै खानेकुरा सजाउदैं गर्छिन् । अब मात्र पांच मिनेट बाकी हुन्छ कि दौडेर वजू गर्छिन् अनि इफ्तारको दुआ गर्न दस्तरख्वानमा बस्छिन् । एकैछिनमा अजान हुनथाल्छ परिवारका सबै सदस्य हरुले रोजा इफ्तार गरी मगरिबको नमाज पढ्नेतिर लाग्छन् । उनी भने दस्तरख्वानमा रहेका भाडाकुडा र बाकी रहेका खानेकुरा समेटछिन् । अनि आफु पनि मगरिबको नमाज पढ्छिन् । यतिबेला सम्म साँझको सात सवा सात भइसकेको हुन्छ ।
सबै जना नमाज पढिसक्छन् अब चियाको माग हुन्छ उनले चिया पकाएर सबैलाई दिन्छिन् र आफ्नो भागको चिया पनि झिकेर राख्छिन् । यत्तिकैमा काखे बालकले दिसापिसाब गरेको भनी स्वर उनको कानमा पर्छ चिया त्यसै छाडेर उनी उता दगुर्छिन् । बच्चालाई सरसफाई गर्ने काम सिद्धिएको हुदैंन् कि स्कूल जाने उमेरवाला बच्चा भोक लाग्यो भनी रुन थाल्छ उता बिरामी र वृद्धालाई पनि खाना दिनै बाँकी छ ।
साफसफाई गरीओरी काखे बालकलाई काखमा राखेर उनी पुनः भान्छामा फर्किन्छिन् । अघि झिकेर राखेको चिया सेलाईसकेको हुन्छ उनी कहिले त सेलाएकै चिया खाइहाल्छिन् भने कहिले त आफैले राखिछाडेको चिया खानै बिर्सिन्छिन् । अब काख रहेको बच्चालाई स्तनपान गराउदैं स्कूल जाने उमेरवाला बच्चालाई खाना दिन्छिन् । बच्चाहरु अघाइसकेपछि सुताएर वृद्धा र बिरामीको हेरचाह र खानपानमा लाग्छिन् त्यसपछि सबैको बिस्तरा ओछ्याउंछिन् । जब सम्म ईशाको अजान हुनथाल्छ । इफ्तार, चिया र बच्चाहरुले खाएपछि निस्केका भाडाहरु धोएर वजू गरी ईशाको नमाज पढ्न बस्छिन् । ईशाको नमाज र तराबीह संगै पढ्नुपर्ने हुदां करिब दश साढे दश बजिसक्छ ।
तबसम्म ईशा र तराबीह पढ्न गएका पुरुषहरु पनि फर्किसकेका हुन्छन् । उनीहरुलाई खाना खुवाएर आफु पनि खान बस्छिन् । कहिले पेट भरी खाना खान भ्याउछिन् भने कहिले त दुईचार गांस मात्र मुखमा हालेकी हुन्छिन् कि कोठाबाट आवाज आउँछ बच्चा उठेर रोईरहेछ । उनी खाना त्यसै छोपेर राख्छिन् र हतारहतार हात धोएर कोठामा पुग्छिन् बच्चालाई सुताएर फेरि भान्छामा पस्छिन् र बाकीं रहेका काम निपटाउँदासम्म एघार साढे एघार भइसकेको हुन्छ । सबैको कोठा चेक गरेर मुख्य ढोका बन्द छ कि छैन् त्यो पनि चेक गर्छिन् सबै कुराको ठाउँमा रहेको ढुक्क भइसकेपछि सुत्न भनी कोठामा पुग्छिन् घडीमा अलार्म सेट गरी राख्छिन् । कहिलै त पल्टिने बित्तिकै भुतुक्क निदाउँछिन् भने कहिलै सुत्दा रातिको पौने बाह्र र कहिले बाह्र नै बजिसकेको हुन्छ ।
यो सामान्य परिवारको कुरा हो जहाँ गृहणीलाई सघाइदिने कोही हँुदैन । जहाँ घरमा सघाउने देवरानी जेठानी नन्द सासु वा पति हुन्छन् त्यहाँ रोजेदार गृहणीलाई अलि राहत महसुस हुनेगर्छ किनभने काममा सघाइदिन्छन् । तर सुत्ने र उठ्ने समय भने करिब करिब सबै रोजेदार गृहणीको समान नै हुन्छ ।