भारतमा कोरोना संक्रमणको दोस्रो लहर एक्कासी बढेपछि नेपालीहरु घर फर्किन हतारिएका छन् । ‘आजमात्रै २ हजार ३७२ जना नेपाली भारतबाट फर्किनुभएको छ,’ शनिवार दैनिक नेपालगन्जसंग कुरा गर्दै जमुनाह इलाका प्रहरी इन्चार्ज बिष्णु गिरीले भने, ‘भारततर्फ जाने संख्या स्वात्तै घटेको छ ।’ ती मध्ये १ हजार २९५ जना कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । उनका अनुसार, शनिवार २९९ जना भारततर्फ गएका छन् । उनीहरुमध्ये कतिपय औषधिउपचारका लागि जाने नेपालीनै हुन भने अधिकांश भारतीय हुन् ।
जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइएको छ । तरपनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ । त्यसले जोखिमको सम्भावना बढाएपनि रोकथामका लागि सशक्त प्रयास देखिएको छैन ।
स्थानीय प्रशासनले नेपालगन्ज नाकालाई कडाई गर्ने निर्णय गरिसकेको छ । गैर नाकाको प्रयोग बढ्दै जाँदा निर्णय कार्यान्वयन भने फितलो देखिएको छ ।
बाँकेमा १६६ सहित देशभर ८४३ थप
बाँकेका विभिन्न अस्पतालमा गरिएको कोरोना परिक्षणमा शनिबार बाहिरी जिल्लाका ४८ जनासहित १६६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलित २५५ स्वाब परिक्षण गर्दा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि शुक्रबार मात्रै १९९ जना संक्रमित बाँकेका मात्रै थिए । तीमध्ये भेरीको ल्यावमा गरिएको परिक्षणमा १२७ जनामा संक्रमण देखिएको थियो ।
शनिवार पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन) को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।
यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये २ जनाको गत २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।