अध्ययन गर्नुपर्ने विषय हो यो कि आखिर किन बढ्दैछन् दिनदिनै घरेलु हिंसाका घटनाक्रम जब कि सरकारी र गैरसरकारी स्तरबाट नै यसको रोकथामका लागि कानूनी प्रकृयाहरु पनि अपनाइँदैछ । केन्द्र देखि स्थानीय स्तर र सरकारी निकाय तथा गैर सरकारी संघ संस्थाहरुले यतिका पहल गरिरहँदा घटनाक्रमको रेसियो त घट्नु पर्ने हो । तर घट्नुको सट्टा उल्टो बढी रहँदा यो चिन्ता र चिन्तनको विषय हो । हुन त घरेलु हिंसाका अनेक कारणहरु छन् कुनै प्रत्यक्ष रुपमा कारणकै रुपमा देखिन्छन् भने कुनै सहायकको रुपमा । घरेलु हिंसाको कारणहरु, हाल सम्म गरिएका पहलहरु, भविष्यमा यसलाई रोकथामका लागि गर्नु पर्ने पहल र योजनाहरु बारे चर्चा परिचर्चा गर्न अति आवश्यक ठानेर नै यिनै विषयलाई समेटेर आज हामी घरेलुहिंसाको सेरोफेरोमा रहेर बुर्काभित्र÷ बुर्काबाहिरको यस स्तम्भमा चर्चा गर्नेछौं ।

हाम्रो परिवेश
हाम्रो समाजलाई नजिकबाट नियालेर हेर्ने हो भने हरेक घरमा हिंसा पीडितहरु भेटिनेछन् । कहिँ महिला घरेलु हिंसाबाट पीडित छन् भने कही पुरुष घरेलु हिंसाबाट पीडित छन् । समग्रमा भन्दा हाम्रो समाजको हरेक परिवारमाथि घरेलु हिंसाको प्रभाव र असर परेकै छ यो बेग्लै कुरा हो कि कहीं हिंसाको नतिजा प्रत्यक्ष देखिन्छ भने कही लामो समयसम्म पनि त्यसको असर देखिदैंन् । तर, हिंसाको परिणाम प्रत्यक्ष रुपमा नदेखिनुको अर्थ यो कदापि होइन कि समाज हिंसा मुक्त छ ।
हुन त घरेलु हिंसाको सिकार महिला पुरुष दुबै भ इरहेछन् तथापि पुरुषको तुलनामा महिला नै बढी हिंसा पीडित हुन्छन् ।
समाजमा हेर्ने हो भने आर्थिक रुपले कमजोर अर्थात गरीब परिवारभित्र अवस्था छुट्टै हुन्छ । आर्थिक रुपले कमजोर परिवार जहां भोक लाग्दा खानलाई दुई छाक खाना हँुदैन । चरम गर्मी र कठग्रिंने जाडोमा लाउनलाई गतिला लुगा हुँदैंन र पानी पर्दा रुझिरहँदा बस्नलाई टाउकामाथि छाना हुँदैन । जसको फलस्वरूप कति भोकले कति चिसोले त कति वर्षात्को पानीमा रुझेर बिरामी हँुदा उपचार गर्ने हैसियत हुँदैन । ती परिवारमा अभावका कारण तनाव सृजना हुन्छ र तनावको परिणाम हिंसामा परिणत हुन्छ । अनि दाइजोका पनि कारण दिनहुँ महिलाहरु घरेलु हिंसाबाट प्रताडित हुन्छन् ।
आर्थिक रुपले परनिर्भरता पनि हिंसाको कारण होको कुरा गरौं भने महिलाका नाम न त कुनै सम्पति हुन्छ न त्यसमा उसको स्वामित्व अझ आफुले चाहेमा आफ्नो योग्यता क्षमता र दक्षता अनुसार कतै नोकरी समेत गर्न सक्दैनन् । किनभने, परिवारको मान प्रतिष्ठाको कुरा आइहाल्छ । त्यस कारण एक एक रुपैंयाका अरुको अर्थात पति र छोराको मुख ताकेर बस्नुपर्ने हुन्छ । महिलाहरु आर्थिक रुपमा परनिर्भर रहेकी हुन्छिन् । जब उनी आफ्नो खर्चका लागि पुरुषसंग रकम माग गर्छिन् अनि त्यतिबेला आर्थिक अभावका कारण पुरुषलाई तनाव हुन्छ र त्यतिबेला पनि परिणाम हिंसा नै हुन्छ । अनि महिलामाथि हिंसा भयो र दुर्भाग्यवश त्यही बेला वा त्यही दिन माइती परिवारका कुनै सदस्य त्यो दिन उता कुनै काम विशेषले जाँदा छोरीलाई भेट्न आइहाले भने गलत नियतको परिवार परेछ भने आउने व्यक्तिसंगै बुहारी वा पत्नीका नानाथरी शिकायत लगाउन थाल्छन् । यदि माइत परिवारले त्यसको खण्डन गर्यो भने उसंग लड्न थाल्छन् र अवस्था घर निकालासम्म पुग्छ । अनि बुहारी पत्नीलाई आउने व्यक्ति संगै पठाईदिन्छन् । यस्तो गरेनन् भने पनि महिलालाई चाहिँ पनि सुख हँुदैन । उनीमाथि विभिन्न बहानामा गरिने थप शारारिक र मानसिक यातनाको क्रम सुरु हुन्छ । यो भनेर कि त्यो त बोलाएर खूबै शिकायत लगाएकी थियौ नि अब बोलाउ कसलाई बोलाउने हो । जबकि त्यो आउने कुराबाट उनी अनभिज्ञ रहेकी हुन्छिन् तथापि उनी हिंसाकी शिकार हुन पुग्छिन् ।
माइतबाट नाता पर्ने कोही दाई वा भाई भेट्न आइहाल्यो भने महिलाको चरित्र माथि शंका गरिन्छ । विवाह अघि पढ्दा वा कतै नोकरी गर्दा कुनै पुरुष साथी जसले परेको बेलामा पर्ने गाह्रा साह्रा मद्दत गर्थ्यो भन्ने कुरा थाहा भयो भने महिलालाई मानसिक रुपले यातना दिने र चरित्र हत्या जस्ता कार्य समेत गर्न पछि पर्दैनन् । सानासाना कुरामा गालीगलौच गरिने, सामान्य कुरामा तिम्रो बाऊले दिएको होइन्, फलाना सामान आफ्नो बाऊलाई दिन भन, आफ्नो बाऊबाजेका घरमा यस्ता कुरा देख्या थियौं र ! कुनै कुराको जवाफ फर्काउँदा मुख मुखै नलाग नत्र मुखै भाच्दिन्छु, बच्चाले गल्ती गरे आमा जस्तै छ र त त्यस्तै गर्छ भन्ने जस्ता शब्दहरुलाई दिनदिनै सुनाएर मानसिक यातना दिने कार्यलाई सामान्य रुपमा लिइन्छ । यही क्रम बढ्दै जाँदा पछिपछि शारीरिक हिंसाको रुप लिन्छ र नतिजा छुटापत्र र घरनिकाला सम्म पुग्ने गरेको पाइन्छ ।

कारण
समग्रमा हेर्दा घरेलु हिंसाका अनेक कारण छन् जस मध्ये प्रत्यक्ष रुपमा देखिने कारणहरु मादक पदार्थ सेवन, गरीबी, बेरोजगारी, अशिक्षा, सचेतनाको कमी, दाइजो प्रथा, सामाजिक संजाल टी.भी सिरियल आदि हुन् । तर प्रमुख कारण चाहिं अभाव र अभावका कारण सृजना भएको तनाव एवं दबाव हुन् । परिवारमा जब अभावको अवस्था हुन्छ त्यतिबेला त्यो अभाव कम गर्न त्यसको व्यवस्थापन गर्न दबाव दिइन्छ र अभावलाई कम गर्न दिइएको दबावको बावजूद त्यसलाई व्यवस्थापन गर्न नसक्दा तनाव पैदा हुन्छ । त्यही तनाव पछि हुँदाहँुदैं हिंसाको रुप लिन्छ । जसलाई बूँंदागत रुपमा तल हेर्न सकिन्छ ।

अभाव
अभावका कारण जहां पनि समस्या सृजना भएको हुन्छ । अभाव अर्थ व्यवस्थासंग सीधा सम्बन्ध राख्ने मौलिक समस्या हो । आर्थिक विज्ञानका अनुसार भौतिक स्रोत सीमित र त्यसको उत्पादन गर्ने क्षमता पनि सीमित छ । जबकि मानव चाहना र आवश्यकताहरू असीमित छन् । तिनै चाहना र आवश्यकता हरु पूरा गर्न नसक्दा अभाव सृजना हुन्छ । जस्तैः आधारभूत स्रोतसाधनको अभाव, दैनिक उपभोग्य वस्तुको अभाव, पौष्टिक खानाको अभाव , स्वच्छ पानीको अभाव, गुणस्तरीय शिक्षाको अभाव, सुविधा सम्पन्न आवासको अभाव जो कि बांच्नका लागि व्यक्तिहरूको आधारभूत कुरा हुन् तर आर्थिक विपन्नताका कारण मानिसले ती कुराहरुको व्यवस्था गर्न नसक्दा अभाव सृजना हुन्छ ।

दबाव
आर्थिक अभावका कारण मानिसका लागि चाहिने अति आवश्यक र आधारभूत संसाधनको
व्यवस्था गर्न नसक्दा परिवारबाट ती संसाधन र वस्तुहरुको जसरी पनि ल्याएर दिन दबाव सृजना गरिन्छ ।
तनाव
आर्थिक अभावका कारण मानिसका लागि चाहिने आधारभूत स्रोतसाधन, सरसामानहरुको व्यवस्था गर्न परिवारले दिइने दबावका कारण परिवारमा मनमुटाव सुरु हुन्छ । जसले गर्दा परिवारमा तनावको माहोल सृजना हुन्छ ।
गरिएका पहल
तीन शताब्दीदेखि जारी महिला अधिकार सम्बन्धी आन्दोलनको परिणाम स्वरुप महिलालाई विभिन्न अधिकार दिइयो ।
हाम्रो देशको सरकारले महिलाका पक्षमा विभिन्न कानून बनाइ महिलाहरुलाई कानूनी रुपमा नै अधिकार सम्पन्न बनायो । हाम्रो देशमा पनि स्वादेशी (सरकारी र गैरसरकारी) र विदेशी अनुदान र आर्थिक सहयोगमा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम र परियोजनाहरु लागु गरे। जसको फलस्वरूप महिलाहरु विभिन्न क्षेत्रमा अगाडि बढेर हातेमालो गर्न तयार भइन् । महिलालाई अगाडि ल्याउन विभिन्न सरकारी गैर सरकारी संस्था, वैदेशिक निकाय आदिको अहम् भूमिका र पहलमा रह्यो । सरकारले पनि महिलाका पक्षमा कार्यक्रम, परियोजना र कानून समेतको व्यवस्था गर्यो ।

चुनौती

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका साथै सरकारी तथा गैर सरकारी निकायले महिला सशक्तिकरणका धेरै पहल र बजेट लगानी गर्दैछन् । केही हदसम्म महिलाहरु सशक्त र आत्मनिर्भर पनि भएका छन् । तर यसो गरिरहँदा सबैले एक पक्ष छुटाए त्यो हो कर्तव्यको पाटो । सबैले अधिकारका कुरा बढी गरे कर्तव्यका कुरा छुटाए जसको नतिजा हो पारिवारिक कलह । अधिकारको साथै कर्तव्यको पाठ महिला र पुरुषलाई संगसंगै सिकाउन नसक्नु एउटा चुनौतीको रुपमा देखा पर्छ । सोंचे अनुसार समाजको अवस्था परिवर्तन हुन नसक्नुको अर्को चुनौती चाहिं मानवीय प्रवृति पनि हो ।

सिकाइ
राष्ट्रिय र अन्तर्राष्ट्रिय सरकारी एवं संघसंस्था मार्फत पहल गरिरहँदा पनि धेरै हदसम्म महिला नै घरेलु हिंसाको सिकारको कारण एकल रुपमा महिलालाई मात्र सशक्तीकरण गर्न पहल गर्नु हो । यसका साथै महिला अधिकारका कुरा मात्र सिकाउनु त्यो पनि महिलालाई एकलौटी रुपमा । त्यस कारण अब अधिकारका साथै कर्तव्यको पाठ पनि संगसंगै सिकाउनु आवश्यक छ । यसका साथै महिला र पुरुष दुबैलाई संयुक्त रुपमा अधिकार र कर्तव्यका पाठ सिकाउने र आर्थिक रुपमा महिला पुरुषको साझेदारी हुँदा आर्थिक रुपमा सशक्त बन्न सकिन्छ भनी यसका फाइदाहरु बताउन आवश्यक छ । महिला र पुरुषलाई समान शिक्षा र सम्पत्तिमा समान अधिकार हुनुपर्छ ।
वास्तविकता
मानवीय प्रवृति हो आफूसँग जे छ त्यसमा सन्तुष्ट नहुने र आफुसंग जुन चीज छैन् त्यसलाई प्राप्त गर्ने लालसा मनमा पालेर त्यसलाई हासिल गर्न हर हथकण्डा अपनाउन खोज्दछन् । आफ्नो मौलिक गुण र क्षमता पहिचान नगर्ने र अरूको प्रतिष्ठा र पदलाई देखेर त्यस्तै बन्न खोज्दैछन् । मानवीय गुण स्थीरता, कोमलता, शान्ति र स्वतन्त्रतालाई त्यागेर अहंकारलाई स्थान दिदैंछन् । बिना मेहनत अरुको देखासिकी सरल सहज र विलासिता तर्फ उन्मुख हँुदैछन् ।
अबको योजना र रणनीति
अब सरकारले घरेलु हिंसा न्यूनीकरणका लागि नयाँ रणनीति अपनाउनुपर्ने हुन्छ । जस्तो कि हामीले माथि हेर्यौं कि घरेलु हिंसाका मुख्य कारण अभाव, तनाव र दबाव रहेको छ । जसले अन्य कारण सृजना गर्छन् ती कारणहरुको परिणाम हुन्छ हिंसा । त्यस कारण अब यी कारणहरुलाई व्यवस्थापन गर्न पहल गर्न आवश्यक छ ।
त्यसकारण सरकार र संघसंस्थाहरुले मानिस भित्र आत्मविश्वास बढाउने र बाहिरी विकास भन्दा आत्म विकासमा जोड दिनु खालका कार्यक्रमहरुलाई बढावा दिनुपर्नेछ । एकाग्रता, एकान्त, शान्त र ध्यानमय वातावरणमा दैनिक कम्तीमा एक घन्टा समय बिताउन सक्ने ठाउँहरु, सार्वजनिक पार्कहरु बनाउनुपर्छ । आवश्यक मात्रामा शारीरिक परिश्रम गर्ने र मानसिक रूपमा विश्राम लिने, प्रतिकूल परिस्थितिमा परिस्थिति बदल्न होइन् आफ्नो मनःस्थिति बदल्न कोशिस गर्ने, जीवनशैली नै सकारात्मक र असल आचरणमा बिताउन संकल्प गर्ने खालका आध्यात्मिक कार्यक्रमहरु बढी भन्दा बढी संचालन गर्नुपर्छ ।

अभाव कम गर्न
आर्थिक रुपमा कमजोर हुनाले नै अभाव सृजना हुनेगर्छ । त्यस कारण सरकारले रोजगार मुलक कार्यक्रमहरु संचालन गर्नु पर्ने आवश्यकता छ । त्यसका लागि समुदाय, स्थान र मौसम अनुसारको रोजगारी मुलक कार्यक्रम र योजनाहरु । महिला र पुरुष दुबैका लागि तय गर्नु पर्ने आवश्यकता छ । परम्परागत पेशाहरुलाई बढावा दिने खालका योजनाहरु तय गरी लागु गर्नले पनि आर्थिक अभाव कम हुनेछ । किन भने सबैले आधुनिक सीप सिक्न सक्दैनन् तर तिनकै परम्परागत पेशालाई आधुनिकिकरण गरी लगियो भने तिनीहरुले पनि आफ्नो पेशालाई जीवित राख्दै अगाडि बढ्न सक्नेछन् जस्तैः उदाहरणका लागि माटोको भाडाहरु बनाउने पेशालाई नै लिन सकिन्छ ।

तनाव कम गर्न
आर्थिक अभाव कम भए तनाव स्वतः कम हुन जान्छ तर आर्थिक अभाव कम गर्ने क्रममा गरिने परिश्रमले शारारिक र मानसिक रुपले थकान हुन्छ । त्यो थकान कम गर्न व्यायाम गर्न ठाउँ ठाउँमा हरियाली भएको सार्वजनिक पार्कहरु निर्माण गर्नु पर्छ । मानसिक तनाव कम गर्न विभिन्न धर्मका लागि उनको आस्था अनुसार आध्यात्मिक कार्यक्रमहरु तय गरिनुपर्छ । यसका साथै हाम्रो यहां मनोसामाजिक समस्या र तनाव कम गर्न मनोसामाजिक परामर्शदाता (साइकायट्रिस्ट) कहां जाने चलन छैन् । यदि मनोसामाजिक परामर्शदाता (साइकाट्रिक) सेवाको व्यवस्था गरिन्छ भने तनावपूर्ण जीवन बिताइरहेका व्यक्तिहरु त्यहां सेवा लिन जानेछन् मनोसामाजिक परामर्शले धेरै हद सम्म तनाव कम हुनेछ ।

दबाव कम गर्न
मानिसका लागि अभाव नै दबावको मुख्य कारण हो त्यस कारण दबाव कम गर्न सचेतना मुलक कार्यक्रम (आध्यात्मिक) बढी संचालन गरिनु आवश्यक छ । किन भने आध्यात्मिक ज्ञानले मानिसलाई संसारिक मोहमायाबाट टाढा रहने र सरल जीवन बिताउन तर्फ उन्मुख गर्छ ( पतिपत्नी, छोराछोरीहरु, आमाबुवा, कामदार मालिक आदिलाई )। जब मानिसले यो कुरा आत्मसाथ गर्छ कि यो संसारिक जीवनलाई जति सहज बनाउदैं जाने हो त्यति नै मानसिक दबाव कम हँुदै जानेछ किनभने परिवारले पनि यी कुरा बुझेर आत्मसाथ गरेको हुन्छ ।
परिकल्पना
यदि मानिसहरुलाई आध्यात्मिक ज्ञान, सचेतना बढी भयो भने आर्थिक अभावमा पनि उसले सन्तुष्टि साथ जीवनयापन गर्न सक्ने छन् । अनि सन्तुष्टि नै मानिसका लागि अमुल्य कुरा हो । जब मानिस सन्तुष्ट हुन्छ तब उसलाई तनाव र दबाव हँुदैंन अनि तनाव र दबाव नहुँदा हिंसा र हिंसात्मक घटना हुने अनुमान पनि कमै हुन्छ जस्तै ः पति पत्नी एक अर्कासंग सन्तुष्ट, अभिभावक र सन्तानहरु एक अर्कासंग सन्तुष्ट, कामदार र मालिक, एक अर्कासंग सन्तुष्ट, कर्मचारी र सेवाग्राही एक अर्कासंग सन्तुष्ट, सरकार र जनता एक अर्कासंग सन्तुष्ट । किनभने सन्तुष्टि नै परम् धन हो सर्वस्व हो । यही सन्तुष्टि नहुनु नै घरेलु हिंसाको प्रमुख कारण हो जसको फलस्वरूप आज दिनदिनै घरेलु हिंसाका घटना बढ्दै गइरहेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया