करणी नमानेपछि किशोरी हत्या प्रयास प्रकरण : अभियुक्त पुर्पक्षका लागि थुनामा

किशोरीमाथिको गम्भीर यौनजन्य हिंसा र सांघातिक आक्रमण भएको घटनामा अभियुक्त मोहम्मद जुनेद हलवाईलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बाँके जिल्ला अदालतमा भएको बहस पैरवी पछि जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगको मुद्दामा सुनुवाई गर्दै प्रमाणका आधारमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश सहित कारागार चलान गर्न आदेश दिएका हुन् ।

‘अदालतको आदेशपछि अभियुक्त जुनेद कारागार चलान गरिएका छन्’, पीडित जाहेरवालाका तर्फबाट बहस पैरवी गरेका अधिवक्ता विश्वजित तिवारीले दैनिक नेपालगन्जसँग भने, ‘पीडितलाई केही हदसम्म यसले न्यायको मल्हम लगाएको छ ।’

पीडितका पक्षबाट सहायक जिल्ला न्यायाधीवक्ता शान्ति विक्रम शाहसँगै अधिवक्ता लोक बहादुर शाह, कुसुमा सुवेदी, सुनिल श्रेष्ठ, प्रल्हाद कार्की, रामकुमार दीक्षित, बल बहादुर चन्द, पुनम श्रेष्ठ, निरा दँदेल, मन बहादुर बुढा, पवन गुप्ता, राजेन्द्र विश्वकर्मा बहस पैरवी गरेको अधिवक्ता तिवारीले जानकारी दिए । प्रतिवादी अभियुक्तका तर्फबाट वरिष्ठ अधिवक्ता भोला सिंह हमाल र माधव प्रसाद शर्माले गरेका थिए ।

गत माघ १६ गते फुल्टेक्रा स्थित विद्यालयबाट फर्किएकी १६ बर्षीया एक किशोरीलाई अभियुक्त जुनेदले घाँटीमा छुरा राखेर बसपार्क रोड स्थित एउटा होटलमा पुर्याइ जबर्जस्ती करणीको प्रयास गरेको र नमानेपछि ज्यानै लिनेगरी निर्घात कुटपिट गरेको पीडितको बयान सहित समाचार दैनिक नेपालगन्जले प्रकाशमा ल्याएको थियो । त्यस लगत्तै प्रहरीले चौतर्फी दबाबको सामना गरेपछि अनुसन्धानमा तिव्रता दियो । र, भारतबाट भारतीय प्रहरीको सहयोगमा अभियुक्तलाई नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया