भेरी अस्पतालको कोभिड वार्ड भेन्टिलेटरमा उपचाररत गेरुवा ३ बर्दियाकी ७५ वर्ष कि महिलाको निधन भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, उपचारका क्रममा सोमवार दिउसो निधन भएको हो । विस्तृत विवरण आउन बाँकीनै छ ।
नाका खुल्लै, भारतबाट भित्रिंदै संक्रमण
भारतीय सीमा नाका हुँदै आउने नेपालीहरुमा संक्रमण देखिने क्रम उस्तै छ । सोमवारमात्रै भारतबाट आएका १४ वर्षीय किशोरसहित तीन जना संक्रमित फेला परेका छन् । त्यसमध्ये दुई जना बाँकेको कोहलपुरका हनु् । आइतवार महाराष्ट्रबाट आएका बाँके खजुराका एक युवालाई कोरोना पुष्टि भएको थियो ।
योसँगै जमुनाह नाकामा चैत्र महिनामा भारतबाट आएका १४ जनालाई कोरोना पुष्टि भइसकेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीले जानकारी दिए । भारतको महाराष्ट्र, गुजरातलगायत ठाउँबाट आएका नेपालीको नेपालगन्ज नाकामा कोरोना जाँच हुने गरेको छ । कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल नेपालगन्जमा राख्ने गरिएको छ ।
पछिल्ला दिनहरुमा बाँकेमै पनि दैनिकजसो नै कोरोना संक्रमित देखापरिरहेका छन् । चैत्र महिनामा बाँकेमा एक सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालले संक्रमित संख्या बढ्दै गएपछि आवश्यक तयारी अगाडी बढाएको जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ।
हाल देशभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ३ सय ७८ पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ।