नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराइएको छ । यसअघि निर्वाचन समितिले प्रमाणपत्र मात्रै वितरण गर्दै आएकोमा पहिलो पटक सपथ ग्रहण गराइएको हो ।
‘नेतृत्वमा जानेहरुलाई विधानसम्मत ढंगले काम गर्नलाई जिम्मेवार बनाउन सपथ ग्रहणको व्यवस्था गरिएको हो’, निर्वाचन संयोजक समेत रहेका वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कार्यक्रममा भने, ‘उहाँहरुले लिइएको सपथ र हस्ताक्षरले विधान विपरित जानलाई रोक्छ भन्ने विश्वास हो ।’ निर्वाचन संयोजक चुकेले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारी सहित सम्पूर्ण नवनिर्वाचितलाई सपथ ग्रहण गराएका थिए । उनले पेशागत शुद्धता र महासंघको शुद्धिकरणलाई जोड दिए ।

कार्यक्रममा महासंघ सदस्यता शुद्धिकरणको सवाललाई महत्वपूर्ण रुपमा उठाइएको छ । ‘पत्रकारनै अल्पमतमा हुने गरि महासंघको सदस्यता रहिरहने हो भने हामी किन बस्नु प¥यो ?’ महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका पूर्व शाखा अध्यक्ष झलक गैरेले भने, ‘पत्रकारको छाता संस्थालाई पत्रकारकोमात्रै बनाउन ढिला नगरौं ।’ पूर्व केन्द्रीय सदस्यसमेत रहेका अर्का पूर्व शाखा अध्यक्ष प्रेम केसीले शुद्धिकरणमा आफु तयार रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक शाखा अध्यक्ष लियाकत अली, महासंघका पूर्व अध्यक्ष झलक गैरे, प्रेम केसी, प्रेस यूनियनका शाखा अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठनका राजेश आचार्य लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले महासंघको गरिमालाई उचो बनाउने प्रतिबद्धता जनाए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी डक्ट धितालले नवनिर्वाचित कार्यसमितिलाई पत्रकार महासंघको हितमा हुने हरेक गतिविधिका लागि खुलेर सघाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य अधिवक्ता केशव कोइरालाले गरेका थिए ।