पृष्ठभूमि
सबैको जीवनको आफ्ना कथा व्यथा, संर्घष सफलता हुन्छन् । जस्तो कि यहाँलाई थाहा छ होला हामी यस स्तम्भमा महिला मुद्दा र महिलाका जीवनुभव साझा गर्दै आइरहेका छौं । आज हामी यस बुर्काभित्र÷बुर्काबाहिर स्तम्भमा एक जना यस्ती साहसी निडर र संघर्षशील महिलासंग गरिएको कुराकानी साझा गर्नेछौं । जो एकल अभिभावक हुन् उनले एक्लै आफ्ना दुई सन्तान छोरी र छोराको पालनपोषण गरेकी छिन् । उनले विभिन्न क्षमता मुलक शीप मुलक र नेतृत्व विकास तालिमहरु लिएकी छिन् । उनले आफ्नो क्षमता दक्षताका आधारमा विभिन्न सम्मानपत्र कदरपत्र पनि ग्रहण गरेकी छिन् । अभिभावकको जिम्मेवारी एक्लै निभाउँदा पनि उनी कहिले आफ्नो जिम्मेवारीबाट पछि हटिनन् । जसको फलस्वरूप आज उनका सन्तानहरु राम्रो शिक्षा दिक्षा हासिल गर्दैछन् । उनले आफ्नो सन्तानहरुलाई आफु सक्दो एउटा सुन्दर जीवन दिएकीछिन् र भविष्यमा पनि उनीहरुलाई गाह्रो साह्रो सहन नपरोस् भनी आफै निर्थक प्रयास, मिहेनत र जतन गर्दैछिन् । हो ती साहसी र संघर्षशील महिला हुन् राप्तीसोनारीकी तृष्णा लामा ।
हामीले उहांसंग छलफल र कुराकानी गरी उनको जीवनका संघर्षका कथाव्यथा र अनुभव समाज सामु ल्याउने जसले गर्दा पीडामा रहेकी अन्य महिलाहरुलाई पनि उहांबाट प्रेरणा होस् । उनीहरु पनि आफ्नो जीवनमा अगाडि बढ्ने प्रयास गरुन् भनी साझा गरेकाछौं । आशा छ उहांको संघर्ष र सफलताको संगमले निराशामा बसेकाहरुलाई धेरै हौसला प्रदान गर्नेछ ।
यहाँको परिचय पाउन ?
मेरो नाम तृष्णा लामा मेरो घर राप्ती सोनारी गांउपालिका वडा नं. ६ मा बस्छु अनि म नेकपा माओवादी पार्टीमा पनि आबद्ध छु साथै सामाजिक कार्यमा पनि दखल छ मेरो । म एकल अभिभावक पनि हुं ।

तपाईको विवाह कहिले भयो ?
मैले १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिंए जुन सफल हुन सकेन ।

अहिले यहाँको कार्य व्यस्तता कता तिर नि ?
अहिले त म आफ्नै कृषि व्यवसायमा व्यस्त छु । जुनकी सुरुवाती चरणमा छ म अहिले त्यसैलाई व्यवस्थित गर्नेतिर नै लागेकी छु । यसका साथै हाल जन सिद्धेश्वर पब्लिक क्याम्पस राप्ती सोनारी ६ को कार्य समिति सदस्य छु ।

कृषि व्यवसाय तिर नै किन लाग्ने निधो गर्नुभयो ?
म सामान्य परिवारबाट आए पनि मैले थोरै समयमा धेरै सफलता हासिल गरे मेरो क्षमता र दक्षताका कारण मैले सामाजिक क्षेत्रमा अवसर पाए । तर मेरो सफलताबाट धेरैलाई निकै टाउको दुखाइ भयो । उनीहरुले मलाई बद्नाम गराउन मेरो बारे गलत अफवाह फैलाए ममाथि आक्षेपहरु लगाए । तब मैले निश्चय गरे कि म यिनीहरुका सामु एक उत्कृष्ट महिलाको रुपमा आफुलाई स्थापित गराएरै छाड्छु । अनि मैले यो पेशा अपनाए ।

तपाईले ती विरोधीहरु विरुद्ध कुनै कदम चाल्नु कुनै जवाफ दिनु भयो ?
मैले चाहेको भए उनीहरुलाई कानूनको कडघरामा उभ्याउन सक्थे तर मैले सोचे यदि यस्तो गर्छु भने यिनीहरु झन् आरोप लगाउने छन् कि मैले शक्ति को दम्भ देखाएर मुख बन्द गर्न लगाएछु । त्यस कारण मैले आफ्नो काम आफ्ना जिम्मेवारीहरु आफ्नै गतिमा पुरा गरिरहनेछु समयले आफै जवाफ दिन्छ भनी । अहिले मैले आफुलाई त्यो स्थानमा पुर्याउन सफल भएकीछु कि जो हिजो आरोप लगाउन्थे आज तिनैले प्रशंसा गर्छन् जो हिजो मुख बंगियाएर हिड्थे आज तिनले नमस्कार गर्छन् । समयले कोल्टो फेर्यो सबैलाई जवाफ दियो ।

तपाईले भने अनुसार तपाई राजनीतिक र सामाजिक क्षेत्रमा पनि सकृय हुनु हुन्थ्यो तर अहिले आएर व्यवसाय तिर लाग्नुको कारण के होला?
हो मैले सामाजिक क्षेत्रमा निकै लामो समय सम्म विभिन्न संघ संस्थामा आबद्ध रही काम गरे । म बी गु्रपमा सहजकर्ताको रुपमा काम गरे अनि निर्धन उत्थान बैंकमा कार्यालय सहयोगीको रुपमा २ वर्ष काम गरे । सहकारी क्षेत्रमा ५ वर्ष संचालक समिति सदस्य, सचिव हुदैं ऋण संयोजकको रुपमा काम गरे । अनि राजनीतिकतिर माओवादी पार्टीभित्र पनि पांच वर्ष देखि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छु । शिक्षा क्षेत्रमा श्री सिद्धेश्वर मा. वि. सिधनवा स्कुलको शिक्षक अभिभावक संघमा २ वर्ष काम गरे । तर मैले महसुस गरे कि एकल महिला यदि आर्थिक रुपले कमजोर महिलाको कहीं कुनै अस्तित्व हुदैंन उसलाई वेवास्ता गरिन्छ ऊ सक्षम हुँदा पनि उसलाई अस्तित्वहीन ठानिन्छ । त्यस कारण मैले आफुलाई आर्थिक रुपमा सबल बनाउन कृषि व्यवसाय सुरु गरे ।

कस्ता खाले वेवास्ता र अस्तित्वहीन हुने कुरा गर्न खोज्नु भएको हो ?
जस्तोकी सामाजिक क्षेत्रको कुरा गर्दा यसमा एउटी एकल महिला यदि आफ्नो कार्यालयको कामले कतै कुनै पुरुषसंग जान पर्यो भने समाजले उसलाई चरित्रहीन साबित गर्न उसमाथि विभिन्न खाले लाक्षनाहरु लगाउन थाल्छ । समाजमा काम गर्ने महिलाप्रति नकारात्मक टिकाटिप्पणी गरिन्छ । अनि राजनीतिक क्षेत्रको कुरा गर्ने हो भने त्यहां अगाडि बढ्न कि त तपाईसंग तपाईको घरको पुरुषको साथ सहयोग हुनुपर्छ तब मात्र अवसर दिइन्छ । होइन भने तपाई आर्थिक रुपले सम्पन्न हुनुपर्छ अनि मात्र उचित पद र अवसर दिइन्छ । अन्यथा कार्यकर्ताका रुपमा मरीमरी काम गरेपनि कुनै मुल्यांकन हुँदैन । त्यस कारण म आफुलाई आर्थिक रुपले सक्षम र सबल बनाउन तिर लागेछु ।

के राजनीतिमा सक्षम महिलालाई अगाडि बढ्न गाह्रै छ त ?
हेर्नुस् राजनीतिमा न कोही स्थायी रुपमा शत्रु हुन्छ न त स्थायी रुपमा मित्र हुन्छ । राजनीतिमा न त कुनै व्यक्ति को पद स्थायी रहन्छ यो समय अवस्था र स्वार्थ अनुसार फेरिरहन्छ । राजनीतिभित्र अधिकांश आफ्नो स्वार्थका लागि जोडिएका हुन्छन् । जसले के गर्छन् भने यदि तपाई उसको स्वार्थ पुरा हुन बाधा बन्नु हँुदैन भने ठीकै छ अगाडि बढ्नुस् भनिन्छ । तर यदि कसैलाई लाग्यो कि तपाई उसको स्वार्थपूर्तिमा बाधा बन्न सक्ने सम्भावना छ भने उसले तपाईको ठांउमा आफुलाई हित पुर्याउने व्यक्ति त्यो ठाउँमा ल्याएर उभ्याइदिन्छ, त्यो पनि तपाईलाई हटाएर । अनि तपाईलाई कुन बेला हटाएर तपाईको ठाउँमा तपाईभन्दा कम सक्षम व्यक्ति आइहाल्छ तपाईलाई खबर नै हुँदैन । खबर त तब हुन्छ जब तपाईले हेर्नुहुन्छ कि अरे यो त म पुग्ने पद थियो फलाना वा फलानी कसरी आयो वा आइहाली ।

महिला भएकै कारण कस्ता खाले चुनौतीहरुको सामना गर्नु भयो ?
चुनौतीहरु अन्य महिलाहरुको भोगाई जस्तै हो तर एकल महिला अभिभावक भएकाले मेरो लागि यी चुनौतीका बावजूद आफुलाई अडिग राख्न गाह्रो नै भयो । किनभने मसंग मेरा बच्चाहरु र तिनको शिक्षादिक्षा र पालनपोषणको जिम्मेवारी एक्लै निभाउनु पर्ने अवस्था थियो । जुनकि मेरो लागि सहज कदापि थिएन तर मैले हार मानिन् म आफुलाई बलियो बनाएर आफ्नो आत्मविश्वास जुटाउदैं अगाडि बढ्दै गए । आफ्ना बच्चाहरुलाई राम्रो शिक्षा दिक्षा दिलाए ।

तपाईको बच्चाहरु के गर्दैछन् ?
मेरी छोरी अहिले प्राविधिक शिक्षा कृषि कक्षा १० मा छोरा ७ कक्षामा राम्रो स्कुलमा पढ्दैछन । अनि मेरा यी सबै सफलताको पछाडि मेरो माईती परिवार र मेरा शुभचिन्तकहरुको साथ, सहयोग, हौसला र आर्शिवाद रहेको छ । मेरो पतिले छाडेर गएपछि माइतमा बसेर नै म आफ्नो परिवार, सन्तान, समाज र देश प्रतिको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छु ।

जीवनका चुनौती र भोगाइ पश्चात अब तपाईका भविष्यका योजना के छन् ?
म भविष्य एक सफल महिला व्यवसायी बन्ने महिला तथा बालबालिका हकहित संरक्षणको लागि काम गर्नेकिसानहरुको हकहितको लागि काम गर्ने सोच राखेकी छु । अनि यसका लागि पशुपालन सुरु गरेछु जसमा मैले कुखुरा पालन र खसी पालेकी छु । अनि तिनीहरुका लागि चाहिने घांस आफै आफ्नो वरपर उत्पादन गर्छु । अनि बारीमा तरकारी उत्पादन पनि गर्छु । आशा छ भविष्यमा म एक सफल महिला व्यवसायी बन्न सफल हुनेछु ।

अन्तमा केही भन्नुछ ?
म यति मित्र भन्न चाहन्छु कि यो पुरुष प्रधान समाजले महिलालाई पनि अगाडि बढेर समाज र देशमा योगदान पुर्याउन समान अवसर दिनुपर्छ । अनि अवसर मात्र दिएर महिला होस् वा पुरुष कोही पनि अगाडि बढ्न सक्दैन । त्यसकारण अवसरका साथै साथ, सहयोग, हौसला, उत्प्रेरणा र काम गर्न सहज हुने वातावरण पनि दिनुपर्छ । महिला पुरुष एउटै रथका दुई पांग्रा हुन् यस कारण समान गतिमा अघि बढ्न महिलालाई समान व्यवहार, समान सम्मान, समान अवसरका साथै मान सम्मान र उसको योगदान हरुको कदर गरी दिए मात्र समाज विकसित हुन सक्छ ।

अवस्था
राजनीतिक लगायतका क्षेत्रको तुलना गर्ने हो भने व्यवसायिक क्षेत्रमामा महिलाको सकृयता खासै भेटिदैन । जबकी राजनीति लगायतका क्षेत्रमा महिलाहरुको सहभागिता व्यवसायिक क्षेत्रलाई तुलनात्मक रुपमा हेर्दा व्यवसायिक क्षेत्रमा कमै पाईन्छ । त्यसको मुख्य कारण हो महिलालाई सम्पत्तिमा साझेदार बनाउँदा उसले संरक्षण गर्न सक्दैनिन् भनी पुरुष प्रधान समाजको संक्रिण सोंच । अहिले पनि महिलाका लागि भने जस्तो सहज छैन् । अझ एकल महिला भइन् भने झन् गाह्रो हुन्छ । एउटा पतिसंग बसेकी महिला खराब आचरणकी भएपनि उस माथि सवाल खडा गर्ने हिम्मत कसैको हँुदैन किनभने त्यो महिलामाथि पुरुषको संरक्षण हुन्छ । तर त्यही समाजमा एक एकल महिला चाहे उनी जति राम्रो आचरण र राम्रो चरित्रकी भएनि उनका लागि थुप्रै चुनौतीहरु हुन्छन् । एक महिलाका जीवनमा उसो पनि एकल अभिभावकका रुपमा आफ्नो परिवार आफ्ना सन्तान प्रति निकै अहम् उत्तरदायित्व र जिम्मेवारीहरु हुन्छन् तथापि उनी आफ्ना जिम्मेवारीहरु पुरा गर्दै हिम्मत गरेर अगाडि खोज्दा यही समाजले उनलाई पछाडि धकल्ने प्रयास गर्छ । उसको चरित्रहत्या गर्ने उसमाथि झुठा आरोपहरु लगाएर बदनाम गराउने निरन्तर प्रयास गरिन्छ । तर त्यस्तो परिस्थितिमा पनि आफ्नो आत्मबल बलियो बनाई आफ्नो आत्मविश्वासका साथ आफुलाई अडिग राखि आफ्नो लक्ष्य प्राप्तिका लागि प्रयासरत रहनेहरु पनि यसै समाजमा छन् ।

चुनौती
हुन त महिलालाई महिला भएकै कारणले चुनौती र समस्या हुन्छन् नै । त्यसमा पनि राजनीति र व्यवसायी महिलाका लागि त झनै गाह्रै अवस्था छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक परिवेश एउटा ठुलो चुनौतीको रुपमा देखा पर्छ । आज पनि महिलामैत्री सोच र वातावरण विकास हुन सकेको छैन । अहिले पनि व्यवसाय गर्न बाहिर निस्किने महिलालाई उसको चरित्रमाथि शंकाको दृष्टिकोण सृजित छ ।

गर्नुपर्ने पहल
महिलाप्रति समाजको सोच र दृष्टिकोण बद्लिन समाजले पहल गर्नु आवश्यक छ जसले गर्दा महिला प्रति सकारात्मक धारणा र दृष्टिकोण सृजना हुन सकोस् । साथ र सहयोग गरियोस् जसले गर्दा महिलाहरुलाई अन्य क्षेत्र जस्तै व्यवसायिक क्षेत्रमा आफुलाई स्थापित गर्न सहज होस् । महिलाहरुलाई पनि व्यवसायमा सकृय रुपले लाग्न सक्ने वातावरण निर्माणका लागि पहल गरिदिनु पर्छ । साथै उनीहरुको कार्यको मुल्यांकन समेत गरिनुपर्छ । बजारको उचित र पायक पर्ने ठांउमा व्यवस्था र व्यवस्थान गर्न राज्यले पहल गर्दा समाजले सहकार्य गर्नुपर्छ ।

परिकल्पना
राजनीतिक, सामाजिकका साथै व्यवसायिक क्षेत्रमा लागेका महिलाहरुको कार्यको सही मुल्यांकन गरिनेछ । व्यवसाय फस्टाउन सहयोग र सहकार्य गरी बजारको उचित व्यवस्था र व्यवस्थापन गरिनेछ । जसको फलस्वरूप समाजका अन्य महिलाहरुमा पनि अघि उत्साह जाग्ने छ र अरु महिलाहरु पनि सामाजिक, राजनैतिक र व्यवसायिक क्षेत्रमा अगाडि आउनेछिन् । महिलाप्रति समाजको दृष्टिकोण धारणा र व्यवहार परिवर्तन हुनेछ । महिलाहरु पनि हरेक क्षेत्र सरह व्यवसायिक क्षेत्रमा पनि सफलता हासिल गर्नेछिन् ।

प्रतिक्रिया

प्रतिक्रिया