
नेपाली समाजमा एउटा उखान छ ‘ऋण लागोस् तर दीन नलागोस्’। आज यहि उखान झैं मानिसहरुलाई ऋण मात्रै लागेको छ दीन लाई हटाउने होडबाजीमा । तर ‘ऋण खाएर शिर झुकाएर हिँड्न नपरोस् ।’भन्ने उखानतिर भने मानिसहरुलाई कुनै वास्ता छैन । इमान्दारीता र नैतिकताले ठाउँ छोडेपछि मानिसमा आत्मसमानको मार्ग देखिँदैन रहेछ । मानिस बरु दरिद्र नै किन नबनोस्, गरीब नै किन नबनोस् तर ऋण खाएर ठूलोबडो बन्न नपरोस् भन्ने अर्थमा यो उखान हाम्रा पितापूर्खाहरुले बनाएका थिए ।यो उखानले हाम्रो समाजलाई एउटा नैतिकताको पाठ सिकाउँछ । अरुको धनमा वा आफ्नो हैसियत भन्दा बढिको लालचमा आँखा लगाएर गतिलो बन्नु भन्दा गरीब नै भएर पनि आत्मसम्मानका साथ बाँच्नु पर्छ भन्ने सिकाउँछ । तर आजकल त यस्ता कुराहरु गर्ने व्यक्तिको समाजजिक र्हैसियत निकम्मा, कामगरिखान नसक्ने, बेकम्मा, काम नलाग्ने, गरि खान हौसला नदिने, बिकास र आर्थिक उत्थानको बिरोधीका रुपमा देखाइन्छ । किन कि आज त त्यो उखानको वाक्यांश यस्तो भैसकेको छ ‘ऋणकाढेर घिऊ खाउ, सिनो खाएर काशी जाउ ।’
मानिसलाई उपभोक्तावाद र बजारवादले यसरी गाँजेको छ कि हरेकलाई रातारात धन कमाउनु छ । जस्तोसुकै कर्म गरेर भएपनि धन आर्जन गर्नु छ । सत्य असत्य कर्म कुकर्म जे जे हुन्छ सब जायज भएका छन् धन कमाउनका लागि । कोहि कसैको खति हुन्छ त भै जाओस् तर मेरो मस्ती चलिरहनुपर्छ भन्ने मनसायले समाजको नैतिकता नै लिलामीमा चढेको छ ।
कुनै समय थियो आफ्नो जग्गा जमीन हुनेले अन्नपात किनेर खायो भने उसको इज्जत जान्थ्यो । दुध, दही सागपात त किनेर खानै पाइँदैनथ्यो । तर आज बजार नजानेहरु किनेर नखानेहरु, सकेसम्म आफ्नो लागि आफै उत्पादन गर्नेहरु यो समाजको नजरमा दरिद्र गरिब केहि किनेर खान नसक्ने निम्छरो भएका छन् । समयले कोल्टे फेरेको हो या उत्तानो नै परेको हो पत्तो चाहिँ भएन ।
बिगत झण्डै अढाई दशक यता हरेक नेपालीका आकांक्षाहरुले रातारात हाँगाबिँगा हालेका छन् तर जरो नभएका हाँगाबिँगा मात्रै आकाशेबेलीका झैं । मानिसहरुले आफ्नो जरो बिर्सिएको छ । जीवनको यर्थाथ भन्दा माथि उदारिकरणले ल्याएको बजारवादमा, उपभोक्ताबादमा हरेकलाई आफन्त र आफ्नो परिवार भन्दा प्यारो धन मात्रै भएको छ । यसैका पछाडी कुँद्दै गर्दा कतिपय आमाबाहरुले मर्ने बेलामा एक थोपा पानी पाएका छैनन् । कतिपयका श्रीमान श्रीमतिहरुका छोडपत्र भएका छन् भने कतिपय बालबालिकाहरुको अभिभावक बिहीन भएर बिचल्ली भएको छ । कतिपयका त ऋणका भारीले थिचिएर घरबास नै उठिबास भएका पनि छन् ।
पछिल्लो पाँच बर्षको कर्जा सूचना केन्द्रको तथ्याङ्कलाई हेर्ने हो भने हरेक बर्ष ऋण खाएर नतिर्नेहरुको संख्या बढेको छ । २०४६ साल यता ऋण खाएर नतिर्नेहरुको संख्या कर्जा सूचना केन्द्रले कालो सूचिमा राखेको आधारमा झण्डै पन्ध्र हजार भन्दा माथि पुगेको छ । भने यसै आर्थिक बर्ष २०७७।०७८ को ८ महिनामा मात्रै यो संख्या साढे चार हजारले बढेको छ । यसले के पनि स्पष्ट पार्छ भने मानिसहरुको कर्जा नतिर्ने पवृति दिनानुदिन बढेको छ । यद्दपि योबाध्यताबश तिर्न नसकेको हो या नियतवश हो भन्नेकुरा यसै भन्न सकिँदैन तथापि कतिपय कर्जाखानेकोहरुको नियति देख्दा समाजमा ऋण खाएर तिर्नुपर्छ भन्ने नैतकिता भने हराउँदै नै गएको हो भन्ने एथेष्ट आधारहरु भने रहेका छन् ।
नेपालमा झण्डै ३५ हजार सहकारी संस्थाहरु रहेका छन् जसमा १५ हजार भन्दा बढिले बचत तथा ऋणको कारोबार गर्छन् । यसैगरि दर्जनौं लघुवित्तहरु छन् । दुई दर्जनको हाराहारीमा विकास बैंक र २८ वटा बाणिज्य बैंक र केहि फाइनेन्स कम्पनीहरु रहेका छन् । यी सबैको कारोबार भनेको पैसा उठाउने र ऋण लगाउने नै हो । यी बाहेक बीमा कम्पनीहरु र कर्मचारी सञ्चयकोष समेतले निश्चित सीमाभित्र रहेर सापटी कर्जा दिने गरेका छन् । यो सबैको आधारमा हेर्ने हो भने नेपालमा कर्जा प्रवाहको अवस्थाको अनुमान सहजै गर्न सकिन्छ तर पनि कतिपय उद्यम गर्न खोजेकाहरुले कर्जा नपाएको भन्ने पनि सुनिन्छ ।
नेपाल राष्ट्र बैंकको एउटा तथ्याङ्क अनुसार नेपालका वित्तियसंस्थाहरुले (सहकारीहरु बाहेक) कुल जीडीपीको झण्डै ८० प्रतिशतकर्जा लगानी गरेको देखिन्छ । नेपालको कुल जीडिपी ३९ खर्ब कै हाराहारी हो । ३८ खर्ब निक्षेप संकलन गरेका बैंकहरुले ३४ खर्ब ऋण लगानी गरेका छन् भन्ने कतिपय तथ्याङ्कले देखाउँछ । यो कर्जामध्ये झण्डै ६० प्रतिशत घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । यस्ता कर्जाहरु भनेका बढि जोखिमयुक्त मानिन्छन् किन कि यसमा धितो त हुन्छ तर किस्ता फर्काउने क्षमता भनेको प्राय त्यहि घरघडेरी बेचबिखन बाट मात्रै हो ।
बैंकहरुले प्रवाह गर्ने सबै कर्जाको सूचना कर्जा सूचना केन्द्रले राख्ने गर्छ । यो केन्द्रका अनुसार पछिल्लो समयमा कर्जा लिएर नतिर्नेहरु र कालो सूचिमा पर्नेहरुको संख्यामा लगातार बृद्धि हुँदै गएको छ । पछिल्लो पाँच बर्षमा झण्डै साढे ११ हजार ऋणिहरु कालो सूचिमा परेका छन् । २०४६ साल यताको तथ्याङ्कमा झण्डै १५ हजार ऋणिहरु कालोसूचिमा परेका छन् ।
सहकारी संस्थाहरुबाट ऋण लिएकाहरु भने यो सूचिमा समावेश छैनन् । यद्दपि सहकारीको कर्जा सूचना केन्द्र बनाउनु पर्ने खाँचो महसुस धेरै पहिले देखिबाट नै भएको हो । यसैले सहकारीहरुलाई कोपोमिस अन्तर्गत प्रविष्टीमा लैजाने भनेता पनि अझै यसको कडाईका साथ लागू गरिएको छैन । आजकल त कतिपय बैंकका ऋणिहरुले बैंकको कालोसूचिबाट बच्न सहकारीबाट कर्जा लिने या कटिङ्ग ब्याज, मीटर ब्याज आदि पनि लिने गरेको सुनिन्छ । यस्तै कर्जा चलाउनेहरु, कर्जा अनुशासनलाई पालना नगर्नेहरु नै बढि मात्रामा दिवालिया भएको देखिएका छन् ।
भनिन्छ नि तिर्नेले जताभावी ऋण लिँदैन । नतिर्ने नियत भएकाहरु ब्याजको प्रवाह नै गर्दैनन् । आजभोलि त बैंक चेक खिचेर बाउन्स गराउनेहरु पनि कालोसूचिमा पर्ने ब्यवसथा भएको छ । धेरै मानिसहरुमा ऋणलिएर भागेपछि सधैंका लागि उन्मूक्ति पाइन्छ भन्ने सोंचमा रहेको पनि पाइन्छ । यो अति उपभोक्ताबादका कारण पनि कतिपयले बिभिन्न समूह, लघुवित्त कम्पनीहरु, सहकारीहरुबाट ऋण खाएका छन् । उनीहरुले ऋण खाएर नतिर्दा आफ्ना सन्ततिहरु समेतले कारोबार गर्न कठिन हुन सक्छ भन्ने हेक्का राखेको पाइँदैन । नियतमा नै खोट राखेर ऋण खाएर मोजमस्तीमा पल्केकाहरुको त्यस्तो ऋण तिर्ने कुनै योजना हुँदैन । कतिपय व्यक्तिहरु त यहाँसम्म गर्छन् कि एउटा बैंकको ऋण अर्को अर्को बैंकमा सार्दै ऋणको मात्रा बढाएर बैंक फेर्दै पहिलाको ऋण मिलाउँदै जाने र जब ऋण तिर्ने क्षमता भन्दा बाहिर पुग्छ भाग्ने चलन पनि बढेको छ । यसमा धितो मूल्याङ्कनकर्ता देखि नै सेटिङ्क मिलाउने गरेकै कारण कतिपय बैंकका धितोहरु लिलामीमा समेत बिक्रि हुन नसकेर बैंक कै नाममा त्यस्ता धितोहरु बसेका देखिन्छन् ।
ऋण नतिरेर कालोसूचीमा पर्ने अवस्थाका धेरै कारणहरु मध्ये घर बनाउनमा नै ठूलो लगानी गरिनु एउटा मूख्य कारण हो । एउटा व्यक्ति वा परिवारलाई कत्रो आवासिय भवन चाहिने हो भन्ने योजना प्रायले बनाएको पाइँदैन । छिमेकीले अग्लो घर बनायो भने अर्को छिमेकीले पनि देखासिकी गर्दै आवश्यकता र आफ्नो आर्थिक गच्छे भन्दा ठूलो घर बनाउन तम्सिने र बनाइहाल्ने चलन हामी कहाँ व्यापक छ । यसमा ठूलो भूमिका आफन्तहरु, समाज, भैहाल्छ नि भनेर सजिलै बास बनाउन होइन महल बनाउन ऋण दिने बैंकहरु, र निर्माण समाग्री बिक्रेताहरुले पनि खेलेका छन् । समान बेच्नेले उधारो समान पठाएर, घर भाडामा गैहाल्छ नि भनेर समान बिकाउन उचाल्ने पनि गरेको पाइन्छ । उनीहरुले त कसैगरी पनि आफ्नो उधारो असुलउपर गरिहाल्छन् । घर बनाउ भनेर उस्काउने समाज र आफन्त पनि साइड लागिहाल्छन् तर भाग्ने अवस्था आउँछ ऋण लिएर घर बनाउने व्यक्तिको ।
घरको एउटा सामान्य कोठा तयार गर्दा सरदर आठ लाख रुपैंया खर्च हुन्छ यसको बैंक ब्याज नै न्यूनतम आठ हजार हुन्छ । निकै प्राइम स्थानमा रहेछ भनेपनि आवासिय घरको कोठाको भाडा भनेको अधिकतम रु. पाँच हजार हो । यसको मूल्य ह्रास मर्मत सम्भार आदि छुट्टै छ । यसरी प्रति महिना साँवा वा चर्को ब्याज खोजेर किस्ता तिर्ने गरि घर बनाउनु भनेको ऋण खाएर भाग्नेतिरको बाटो हो भन्न सकिन्छ ।
हो घर चाहिन्छ तर आवश्यकता कत्रो र कति लागतको हो भन्ने तर्फ ध्यान पुर्याउनै पर्छ । सरकारको नीति पनि एक परिवार एक घर को मात्र्रै हुन जरुरी छ । परिवारको संख्या र आवश्यकताको आधारमा घरजग्गा जोड्ने काम भएमा ऋण खाएर तिर्नै नसक्ने गरि घरघडेरी जोड्ने या भ्रष्टाचार गरेर घरघडेरी जोड्ने काममा केहि कमी पक्कै आउँछ । भ्रष्टाचार गरेर या ऋण खाएर कोहि कसैको इज्जत बढेको छैन । बरु त्यो ऋण तिर्न नसक्दा कालोसूचिमा पर्दा र भ्रष्टाचारीको सन्तान भनिँदा सातपुस्ताको इज्जत जान्छ भन्ने सोंच खोई आएको ? ऋण त लागोस् तर दीन नै लाग्ने गरि कसैलाई पनि नलागोस् । पूर्खाले उखान त्यतिकै बनाएका होइनन् बर्षौं विचार र परिक्षण गरेर बनाएका हुन । हाम्रा धेरै कुराहरु मौलिक हुनुका साथै सत्य पनि छन् । आफ्नो यो जरोकिलोलाई चिनौं । आफ्नो जरोकिलोमा गर्व गर्न पनि सिकौं ।