नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको नेतृत्व किशोर आचार्यले सम्हालेका छन् । गत शनिबार भएको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष आचार्यलाई वर्तमान अध्यक्ष शालिक सुवेदीले पदभार हस्तान्तरण गरेका हुन् ।

पदभार सम्हाल्दै अध्यक्ष आचार्यले जिल्लामा व्याप्त पुस्तक व्यवसायीहरु बीचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्दै जानु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धराशयी हुने अवस्थामा पुगेको छ’, अध्यक्ष आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘यो अवस्थालाई धेरै लामो लगियो भने व्यवसायीहरुको अवस्था थाम्नै नसक्ने गरी डामाडोल हुन्छ ।’
त्यसैले आफ्नो कार्यकालका प्राथमिकतामा व्यवसायिक एकतालाई बलियो बनाउँदै अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्दै जाने कुरालाई राखेको धारणा अध्यक्ष आचार्यको छ । उनले केन्द्रले अघि सारेको एक जिल्ला एक सामुदायिक पुस्तकालयको अवधारणालाई आफुले साकार पार्ने प्रतिबद्धता पनि जनाए । ‘सकेसम्म पुस्तकालय नै स्थापना गर्ने गरी कामलाई अगाडि बढाउँछु’, अध्यक्ष आचार्यले भने, ‘कति सफल हुन सकिन्छ, जग्गाको खोजी गरी पुस्तकालयको जग हाल्ने कुरामा म ढुक्क छु ।’
सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत गर्ने अग्रजहरुको प्रयास सफल नभएपछि महासंघको शाखा निर्वाचनमा गएको थियो । अध्यक्ष आचार्यले निर्वाचनको मत, मतान्तरलाई त्यही छाडेर आफ्नो नेतृत्व सबैलाई सँगै लिएर हिड्न पनि प्रतिबद्ध रहेको पनि बताए । ‘त्यसो त कसैमा कुनै मत मतान्तर अब छैन,’ अध्यक्ष आचार्यले भने, ‘तैपनि कसैमा त्यस्तो भावनासम्म नरहोस् भन्ने कुरामा मेरो तर्फबाट हदैसम्मको प्रयास गरेर सँगै लैजाने छु ।’
महासंघ शाखा अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको पहिलो चरण कार्यक्रम पनि नवनिर्वाचितलाई पद हस्तान्तरण गरिएको थियो । माइन्युट हस्तान्तरण गर्दै सुवेदीले आफुले अघि सारेका सकारात्मक पहललाई निरन्तर अगाडि बढाउने नयाँ नेतृत्व सँगको अपेक्षालाई प्रस्तुत गरे । कार्यक्रममा केन्द्रीय सदस्य बुद्धि प्रसाद अधिकारी, हेमराज पौडेल, प्रदेश अध्यक्ष बसन्त लामिछाने लगायतले शाखालाई आवश्यक मार्ग निर्देशन गरेका थिए ।
गत शनिबार भएको निर्वाचनबाट अध्यक्षमा आचार्य, प्रथम उपाध्यक्षमा सागर ज्ञवाली, द्वितीय उपाध्यक्ष प्रदिप सापकोटा, सचिवमा मिना डाँगी, सहसचिव मोतिप्रसाद सुवेदी, कोषाध्यक्ष मोहन चन्द, कार्यसमिति सदस्यहरुमा जगदिश ढकाल, कल्पना पौडेल, गोविन्द शर्मा, सुशिल कुमार शर्मा, प्रकाश कंडेल, राजुराज शर्मा, दिलिप रेग्मी, लक्ष्मण कार्की, प्रदिप आचार्य, कृष्ण थापा, तारा प्रसाद खनाल, दिनेश रिमाल, क्षितिज गौतम र कृष्ण अधिकारी छन् ।