नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि सरकारले निःशुल्क रुपमा औषधी खुवाउन सुरु गर्यो । बिस्तारै अन्य जिल्ला हात्तीपाइले संक्रमणको जोखिमबाट मुक्त हुँदै गए । तर, बाँके अझै पनि हात्तीपाइलेको संक्रमणको उच्च जोखिममा छ । सरकारले यस बर्ष १२ वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाउँदैछ, त्यसमध्ये एक बाँके पनि हो । ५१ जिल्लाले हात्तीपाइले विरुद्धको अभियानमा सफलता प्राप्त गर्दा बाँके अझै पनि पछाडि रहनुकोमा अभियानका क्रममा खुवाइने औषधी सेवन नगर्नु नै हो ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा पत्रकारसँगको अन्तरक्रियामा बोल्नेहरुले बाँकेमा हात्तीपाइले निवारणमा अपेक्षित प्रगति नहुुनुमा चिन्ता व्यक्त गरेका थिए । हाल स्वास्थ्य सम्बन्धी जिम्मा स्थानीय तहमा पनि छ । स्थानीय सरकारमा स्वास्थ्य गैसक्दा पनि हात्तीपाइले उन्मुलनका लागि जिल्लाले मापदण्ड पूरा गर्न सकेको छैन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले सबैको सामूहिक प्रयासले मात्रै हात्तीपाइले उन्मुलन हुन सक्ने बताएका थिए । ‘बाँकेमा हात्तीपाइले निवारणका लागि स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी र आम नागरिकले नै प्रयास गर्नुपर्दछ’, उनले भने । दशकदेखि हात्तीपाइले विरुद्ध औषधी खुवाउन थालिएपनि अझै लक्ष्य हासिन हुन नसकेको हो । ‘सहरी क्षेत्रकै शिक्षित वर्गले औषधी खाएको पाइँदैन’, अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपानेले भने, ‘यसमा सचेतना आवश्यक छ, जसमा सहकार्य गर्न हामी तयार छौं ।’ न्यौपानेले हात्तीपाइले विरुद्धको अभियानमा सूचना प्रवाह सहज बनाउन समेत आग्रह गरेका थिए ।
बाँकेमा यसबर्ष चैत्र २० गतेदेखि हात्तीपाइले विरुद्धको अभियान सुरु हुँदैछ । स्थानीय तह मार्फत हात्तीपाइले विरुद्धको अभियान सञ्चालित हुँदैछ । जिल्लामा यस बर्ष ५ लाख ७६ हजार ७६ जनालाई हात्ती पाइले विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिएका छन् । यद्यपि, विगतमा बर्षमा लक्ष्य अनुरुप औषधी खुवाउने कार्य सफल भएन । अब स्थानीय तह आफै खटिएकाले लक्ष्य प्राप्त हुने अपेक्षा स्वास्थ्य कार्यालयको रहेको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम क्षेत्रीय इन्चार्ज झलक गैरेले सञ्चार क्षेत्र जनताको स्वास्थ्य सचेतनाको पाटोमा काम गर्न सधै तयार रहेको बताए । उनले स्वास्थ्य कार्यालयले योजना बनाएर आए जुनसुकै खालको सहयोग सञ्चार क्षेत्रबाट हिजोका दिनमा पनि भएको र भोलिका दिनमा पनि हुने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारहरु जहिले पनि स्वास्थ्य क्षेत्रका सम्बन्धमा सचेतनाको पाटोमा सहयोगी बन्न तयार रहेको उल्लेख गर्दै सूचना प्रवाहमा डेस्क स्थापना गर्न र त्यसका लागि आवश्यक पत्रकारको व्यवस्था गर्न महासंघ तयार रहेको बताएका थिए ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा ७० हजार बढी, कोहलपुरमा ८५ हजार बढी, बैजनाथमा ६५ हजार बढी, खजुरामा ५९ हजार बढी, जानकीमा ४४ हजार बढी, नेपालगन्जमा १ लाख ६६ हजार बढी, डुडुवामा ४३ हजार बढी, नरैनापुरमा ४० हजार बढीलाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु लगायत रहेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने जानकारी दिए । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको बुथमा औषधि खुवाउनेछन् । गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्ष माथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ ।
लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोफ्टी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ ।
विशेषगरी, मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरु देखिने गर्दछ । यो रोग एक पटक देखिइसकेपछि फेरी निको पार्न सकिदैन । हात्तीपाइले रोग बाहिर नदेखिँदै वर्षमा एक पटकको दरले छ वर्षसम्म आम औषधी सेवन गरेको खण्डमा यो रोग सर्ने प्रक्रियालाई पूर्णतया रोक्न सकिन्छ । साथै, रोगीहरुलाई अंगभंग हुनबाट जोगाउन सकिन्छ ।
हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न महाशाखाले यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सन् २००३ बाट यो कार्यक्रम सुरु गरिएसगै नेपालमा हात्तीपाइले रोगीहरुको विद्यमान दर १३ प्रतिशतबाट झरेर एक दशमलव ४७ प्रतिशतमा कायम भएको छ । नेपालबाट हात्तीपाइले रोग निवारण गर्नका लागि नेपालबाट हात्तीपाइले रोगको दर एक प्रतिशत भन्दा कम हुन आवश्यक छ ।
हात्तीपाइले रोगको परजीवी शरीरमा भएनभएको सबैले थाहा पाउन सकिँदैन । अनि शरीरमा हात्तीपाइले रोग संक्रमण भएको छ कि छैन भनेर जाँच्न गाह्रो हुुन्छ । त्यसैले अनिवार्य रुपमा अभियानका क्रममा लगातार ६ वर्षसम्म सेवन औषधि गर्नुपर्दछ ।
करिब १० वर्षअघि कुल जनसंख्याको १३ प्रतिशतको शरीरमा यस रोगको परजीवी थियो । हाल घटेर १ दशमलब १.४७ प्रतिशतमा घटेको छ । हात्तीपाइले रोग सर्ने भनेको लामखुट्टेबाट हो । कसैको शरीरमा हात्तीपाइले रोगका किटाणु छ कि छैन भन्ने थाहा हुँदैन । हात्तीपाइलेका परजीवी भएकाहरुको शरीरमा रगत चुसेको लामखुुट्टेले स्वस्थ मानिसलाई टोक्दा उक्त किटाणु सार्ने सम्भावना बढी हुन्छ । जुकाको कारणले हात्तीपाइले रोग सर्ने हो । तर हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो । लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन । शरीरमा हात्तीपाइलेको परजीवी मसिनो जुका प्रवेश ग¥यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजिवी वयस्कमा परिणत हुनका लागि १ वर्ष लाग्छ । परजीवी वृद्धि विकास भएपछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ । लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नस्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ । कसैमा हात्तीपाइले रोगको परजीवी शरीरमा प्रवेश गर्यो भने हात, खुट्टाका नलीमा इनफ्लेमेसन गराउँदा रातो हुने, दुख्ने, ज्वरो आउने, हात खुट्टा छाम्दा तातो हुने जस्ता लक्षणहरु देखापर्ने हुन्छ । यो अवस्थामा उपचार गराएर औषधि सेवन गरेमा निको हुन्छ । यस्ता प्रभावित व्यक्तिको निकट रहेका व्यक्तिलाई पनि परजीविको संक्रमण सर्ने खतरा बढी हुने भएकोले तिनलाई पनि औषधि सेवन गराइन्छ ।
शरीरमा प्रवेश गरेको परजीवीको उपचार भएन भने परजीवी हुर्केर वयस्कमा परिणत हुन्छ । ती वयस्क परिजीवी पनि भालेपोथी दुवै हुन सक्ने भएकोले तिनले थुप्रै बच्चा उत्पादन गरेर लिम्फ नलीलाई घेर्न थाल्छ । शरीरमा विशेष गरेर परजीवी राती १० बजेदेखि बिहानको २ बजेका समयकालमा रगतमा बढी सक्रिय हुने गर्छ । यो रगतको माध्यमबाट फोक्सोमा पुगेको छ भने रातीराती खोकी लाग्ने गर्छ । शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा रातीको समयमा सक्रिय हुँदा लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अर्को व्यक्तिलाई टोकेको खण्डमा सार्छ । कुनै व्यक्तिको शरीरमा परजीवी छ कि छैन भनेर पत्ता लगाउनका लागि राति १० बजे देखि २ बजे बीचको समयमा रगतको नमुना लिएर जाँचुपर्छ । त्यसैले शरीरमा हात्तीपाइले संक्रमण छ कि छैन भनेर जाँच्न त्यति सजिलो नभएकोले आम रुपमा औषधी खुवाइने गरिन्छ जसले गर्दा कसैको शरीरमा परजीवीको संक्रमण छ भने त्यो नष्ट भएर जान्छ ।
हात्तीपाइलेको औषधि लगातार ६ वर्षसम्म अभियानको बेला नछुटाइ खानुपर्छ । यस जुकाको बाँच्ने समय भनेको ६ वर्ष हो । तर, केही व्यक्तिको शरीरमा २० औं वर्षसम्म पनि परजिवी बस्न सक्छ । मुटु मृगौलाको रोगका कारण दुवैतिरका खुट्टा सुन्निने गर्छ भने हात्तीपाइलेको समस्यामा प्रायजसो एउटा खुट्टा मात्रै सुन्निन्छ । बेलैमा उपचार भएन भने पछि गएर खुट्टा मोटो हुने वा हात्तीको पाइला जस्तो हुने, घाउखटिराहरु देखापर्ने हुन्छ । यो अवस्थामा पुगेका भएका व्यक्तिहरुको रोगको किटाणु मारेर खुट्टालाई पहिलैको अवस्थामा ल्याउन सकिदैन । नली भित्र जुकाको आकार बढ्दै गएपछि बन्द हुन्छ । त्यसपछि रक्त सञ्चार खुट्टाबाट माथि आउन पाउदैन । विस्तारै खुट्टा सुनिदैं जान्छ । त्यसपछि केहीलाई हाइड्रोशिल देखापर्न सक्छ । शरीरमा चोटपटक, विभिन्न सर्जरी नगरिकन हाइड्रोशिल समस्या देखिन्छ भने हात्तीपाइले रोग हो भनेर शंका गर्न तथा उपचार गर्नु जरुरी छ ।