कानुन व्यवसायीहरुको छाता संस्था, नेपाल बार एसोसिएसनको नेपालगन्ज बार इकाइका लागि आगामी नेतृत्व सहमतिमा चुन्ने प्रयास थालिएको छ ।

‘अग्रजहरुले त्यसका लागि सकारात्मक पहल लिनु भएको छ,’ नेपालगन्ज वारका अध्यक्ष अधिवक्ता विकास आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘सम्भवतः लामो अन्तरालपछि नेपालगन्ज वारमा सर्वसम्मत नेतृत्व चयन हुनेछ ।’
वारका अगुवाहरुले सर्वसम्मत नेतृत्व चयनका लागि गरेको पहल र प्रयासलाई सहयोग गर्दै निर्वाचन समितिले निर्वाचन कार्यक्रम परिमार्जन गरेको जनाएको छ । त्यसका लागि चैत्र २१ गतेका लागि पूर्व निर्धारित मतदान कार्यक्रमलाई एकसाता पर सारिएको छ । ‘सर्वसम्मतका लागि भइरहेको पहलमा हामी सकारात्मक छौं,’ सबैको अनुरोधपछि चैत्र २८ मतदान कार्यक्रम सारिएको जानकारी दिंदै प्रमुख निर्वाचन अधिकृत अर्जुन प्रसाद पोखरेलले दैनिक नेपालगन्जसँग भने ।
बुधवार सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार, चैत्र १४ गते मतदाता नामावली सार्वजनिक गरिनेछ । चैत्र १८ गते उम्मेदवारी दर्ता र २८ गते मतदान कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बद्ध स्रोतका अनुसार, विभिन्न तीन समूहमा विभाजित कानुन व्यवसायीहरुले यस पटक एक भएर वारलाई साझा प्रतिनिधित्वको संस्था बनाउन तल्लीन छन् । त्यसका लागि प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए)को नेतृत्वमा साझा कार्यसमिति बनाउने कसरत भइरहेको छ । सम्बद्ध स्रोतका अनुसार, डिएलएले अधिवक्ता शिव श्रेष्ठलाई अध्यक्ष, सुर्जलाल थारुलाई कोषाध्यक्ष र अमृता केसीलाई महिला सदस्यका रुपमा अघि सार्ने तयारी गरिरहेको छ । थप ४ सदस्य डिएलएले लिने बताइएको छ ।
प्रगतिशील कानुन व्यवसायी समूह (पीएलए)ले सचिवको नेतृत्वमा थप ३ सदस्य पाउने समझदारी गरिएको सम्बद्ध कानुन व्यसायी बताउँछन् । स्वतन्त्र समावेशीका नाममा संगठित समूहले उपाध्यक्ष सहित २ जनाको प्रतिनिधित्वका लागि सहमति जनाइएको छ । पीएलएबाट नेतृत्वमा अधिवक्ता कुशुमा बस्याल, सुनिता शर्मा, बसन्त गौतम, तीर्थ ज्ञवाली, मोहनविक्रम अर्याल र पदम पाण्डेले दावी गरेका छन् ।
‘पीएलएको आन्तरिक झमेलालेनै समझदारी कार्यान्वयनमा समस्या भइरहेको हो,’ डिएलए सम्बद्ध एक कानुन व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो उदारतालाई पदको भोकमा झोंकेर निर्वाचन कार्यक्रमनै प्रभावित पारिरहेका छन् ।’ प्रमुख निर्वाचन अधिकृत पोखरेलका अनुसार, नेपालगन्ज बारमा २९३ मतदाता छन् ।