बाँकेमा क्षयरोगका कारण चालु आ.व. २०७७/०७८ को आठ महिनामा २० जनाले ज्यान गुमाए । नियमित औषधी सेवन गरे क्षयरोग निको हुन्छ भन्ने नारा दिइरहँदा २० जनाले चालु आ.व.कै आठ महिनामा ज्यान गुमाउनु डरलाग्दो तथ्यांक हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, गत आ.व. २०७६/०७७ मा ३८ जनाले क्षयरोगकै कारण ज्यान गुमाए । क्षयरोग सरुवा रोग भएकाले क्षयरोगीको सम्पर्कमा आउने तथा उपचारमा खटिने स्वास्थ्यकर्मी र जनशक्तिलाई समेत जोखिम हुने गर्दछ ।
क्षयरोग उच्च मृत्युदर भएको १० मध्ये एक रोग हो । नेपाल सरकारले यसलाई नियन्त्रणमा राख्न गरिरहेको प्रयास भने सन्तोषजनक सफल हुन सकेको छैन । क्षयरोगका बिरामीको उपचार सफलता दर राम्रो रहेपनि जीर्ण क्षयरोगी हुनबाट रोक्न नसकेको तथ्यांकले देखाउँछ ।
बहु औषधी प्रतिरोधी क्षयरोगी क्षयरोग नियन्त्रणका मुख्य चुनौति हुन् । बहु औषधी प्रतिरोधी क्षयरोगी क्षयरोगी थपिंदै जानुमा विभिन्न कारणहरु रहेका छन् । क्षयरोगीले नियमित औषधी सेवन नगर्दा, गुणस्तरहीन औषधीको सेवन, पौष्टिक आहारको कमी, हेरचाहमा कमी, जीर्ण क्षयरोगी (एमडीआर)बाट अर्कोमा सर्ने सम्भावनाका कारण नेपालमा जीर्ण क्षयरोगी थपिंदै गएका हुन् ।
‘बहु औषधी प्रतिरोधी क्षयरोगको कारणले क्षयरोग नियन्त्रण कार्य झन् कठिन बन्दै गएको छ’, क्षयरोग फोकल पर्सन मानव नेपालीले मंगलबार नेपालगन्जमा विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सरोकारवालाहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भने, ‘क्षयरोग नियन्त्रणका लागि सबै तह र तप्काको इमान्दारितापूर्वक प्रयासको आवश्यकता रहेको छ ।’
बाँकेका क्षयरोगको तथ्यांक हेर्ने हो भने नेपालगन्जमा नै सबै भन्दा बढी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, चालु आ.व.को आठ महिनामा फेला परेका ४ सय ७५ मध्ये बढी नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । क्षयरोग फोकल पर्सन मानव नेपालीले नेपालगन्जमा १ सय, कोहलपुरमा ९१ जना, राप्तीसोनारीमा ४७ जना, बैजनाथमा ५८ जना, खजुरामा ६५ जना, जानकीमा ३३ जना, डुडुवामा ४४ जना र नरैनापुरमा २९ नयाँ क्षयरोगी फेला परेका छन् । बाँकेमा गत आ.व.मा ८ सय ३३ क्षयरोगी रहेका थिए ।
कार्यक्रममा बाँकेका गत आ.व.मा टिबी नेपालमा ४१ जना एमडिआर, प्रि एक्सडिआरका ३३ जनाले उपचार गराएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, विभिन्न संघ, संस्था तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले क्षयरोगलाई नियन्त्रणमा लिनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए ।
आज विश्व क्षयरोग दिवस मनाइँदैछ । हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेका थिए । त्यही दिनको उपलब्धिको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइन्छ ।
सामान्यतया टिबी भनिने यो रोगको पूर्ण रुप चाहिँ ‘ट्यूबरक्लोसिस’ हो । क्षयरोग प्राचीनकालदेखि नै मानव समुदायमा अनेक रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समयबाटै आजसम्म भएको पाइन्छ ।
आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि विश्व जनसंख्याको एक तिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा देखिन्छ । विकासोन्मुख देशहरुमा यो जोखिमदर त झन् बढेर ९० प्रतिशतसम्म देखिन्छ ।
नेपालको क्षयरोगको तथ्यांक झन् भयावह छ । नेपालको ठूलै जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मृत्युवरण गर्छन् । क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्छ ।
नेपालमा क्षयरोग उपचारका लागि सबै जिल्लाहरुमा हुने गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) पद्धतिमा आधारित सेवा केन्द्रहरु खुलेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लग्ने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।
स्मरणरहोस्, नेपालमा भेटिने क्षयरोगीमध्ये ७५ प्रतिशत भन्दा बढी त फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्छन् ।
नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क उपलब्ध गराउँछ भने सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँ–घरमा क्षयरोगविरुद्ध जनचेतनाको अभाव अनि समयमै उपचार गर्न नआउने समस्या छ । आजको दिन क्षयरोगविरुद्ध देशैव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि हो ।
तीन हप्ता या बढीदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसूस भएमा नजिकैको स्वास्थ चौकीमा जचाउनु पर्छ । क्षयरोग सर्न पनि सक्छ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्छ ।