खजुरा खाँडसारीको जग्गा सरकारी बनाउन पहल

स्थानीय प्रशासनले यसअघि नै सरकारले जफत गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको भन्दै रोक्का गर्न भूमिसुधारलाई पत्राचार गरेको हो

सरकारसँग ऊखु खेती तथा मिल सञ्चालनसँगका लागि खरिद गरेको जग्गा तोकिए बमोजिम उपयोग नभएको फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बाँके प्रशासनले खजुरा गाउँपालिका स्थित साविकको उढरापुर गाविस वडा नं. २ मा रहेको १ सय ८० विगाह जग्गा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

सम्बद्ध स्रोतका अनुसार, झण्डै १ हजार २ सय भूमिहीन सुकुम्बासीहरुले लामो समयदेखि बस्ती बसालेको खाँडसारीको जग्गामा दलालहरुको सक्रियतामा किनबेच भैरहेको पुष्टि भएपछि स्थानीय प्रशासनले त्यसतर्फ अग्रसरता देखाएको हो । ‘सरकारको जग्गा भएकाले तोकिएको प्रयोजनमा उपयोग नभएपछि सरकारले फिर्ता लिनुपर्छ भन्ने हाम्रो मान्यता हो’, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले भने, ‘त्यसतर्फ स्थानीय प्रशासनको अग्रसरता स्वागत योग्य छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गका अनुसार, नेपाल सरकारले २०४९ बैशाख १४ गते उक्त क्षेत्रको ७१ विगाह १९ कठ्ठा १६ धुर जग्गा जफत गर्न गरेको निर्णय कार्यान्वयनमा नआएको पाएपछि यो प्रक्रिया अगाडि बढाइएको बताए । ‘भू माफियाहरुको चलखेलबाट अहिले पनि बदर जग्गाहरु नयाँ कित्ता कायम भै श्रेस्ता पुर्जा तयार गर्ने काम भैरहेको पाइयो’, प्रजिअ कुरुम्वाङ्गले तत्काल जग्गा रोक्का राखी जानकारी पठाउन आइतबार भूमिसुधार तथा मालपोत कार्यालय बाँकेलाई पत्राचार गरिएको पुष्टि गर्दै भने ।

स्थानीय प्रशासनका अनुसार, तत्कालीन सरकारले २०४२ साल असार ८ गतेको निर्णयबाट खाँडसारी मिल्स प्रा.लि.लाई सर्शत १ सय ८० विगाह जग्गा हदबन्दीमा छुट दिने निर्णय गरेको थियो । मिलले हदबन्दीमा छुट दिएको जग्गा मध्ये साविकको उढरापुरमा विभिन्न १२ कित्ताको ७१ विगाह बढी जग्गा सर्त पालना नभएपछि जफत गर्ने निर्णय २०४९ बैशाख १४ गते नै भएको थियो । ‘त्यही जग्गामा भू माफियाहरुले आँखा गाडेर गरिबहरुसँगै असुली गरिरहेको पाइएको छ’, सम्बद्ध स्रोतले भन्यो, ‘त्यसक्रममा भूमिसुधार तथा मालपोत समेतका कर्मचारीहरुलाई मिलाएर बदर भएको जग्गा र बदर नभएका जग्गालाई मिलाउने काम गरिएको छ ।’

प्रजिअ कुरुम्वाङ्गले जग्गा अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गरेका थिए । त्यसैको सुझाव र प्रमाणका आधारमा आइतबार नयाँ नाप नक्सा अनुसार विभिन्न १८ कित्तामा रहेको सबै जग्गा रोक्का गर्न भूमिसुधारलाई पत्राचार गरेका हुन् । ‘मालपोतबाट जानकारी आएपछि यसबारे थप कुरा गरौंला’, प्रजिअ कुरुम्वाङ्गले अहिलेसम्मको अध्ययनका आधारमा सम्पूर्ण जग्गा सरकारले फिर्ता पाउने अवस्था रहेको जानकारी गराउँदै भने, ‘थप कुरा अध्ययन भैरहेको छ ।’

खाँडसारी मिल्सका सञ्चालक अजयकुमार टण्डनले भने (हेर्नुस् बक्स) सरकारी सुविधामा आफुहरुले जग्गा खरिद गरेको दाबी गरे । सर्त अनुसार काम त गर्नु भएन नि ? दैनिक नेपालगन्जको प्रश्नमा टण्डनले भने, ‘२०३८ सालदेखि २०५८ सालसम्म उद्योग र खेती पूर्णरुपमा सञ्चालन भएको प्रमाण हामीसँग छन् ।’ उनले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीहरुले लखेटेपछि अहिलेसम्म फर्केर जान नसकेको दाबी गरे ।

कानुनी उपचारमा जान्छौं

अजय कुमार टण्डन
सञ्चालक, खाँडसारी मिल्स प्रा.लि.

यो प्राइभेट लिमिटेड कम्पनी हो । यसमा पाँच जना डाइरेक्टरहरु छन् । जैनेन्द्र कुमार टण्डन, कौशल कुमार टण्डन, कमल कुमार टण्डन, विमल कुमार टण्डन र रतन कुमार टण्डन । सबै २० प्रतिशतका शेयर होल्डर हुन् । तीन जना कृष्ण गोपाल टण्डनका छोरा हुन् दुई जना राम गोपाल टण्डनका छोरा हुन् । रामगोपाल र कृष्णगोपाल दाजुभाई हुन् । म जैनेन्द्रको छोरा भएकाले त्यो कम्पनीको २० प्रतिशत शेयर होल्डर छु ।


२०३८ सालदेखि हामीले खाँडसारी सञ्चालनमा ल्यायौं, कम्पनी २०४१ सालमा स्थापना भएको हो । तत्कालीन सरकारले उद्योगलाई हदबन्दी भन्दा बढी जग्गा प्रयोगका लागि इजाजत प्रदान गरेको थियो । १ सय ८० विगाह जग्गा खरिद गर्नका लागि इजाजत दिएको थियो । त्यही १ सय ८० विगाह जग्गा खाँडसारीले किनेको थियो । टण्डन परिवारले त्यो पैसा लगाएर किनेको जग्गा हो ।

रोक्का त पहिले देखि नै थियो गाउँपालिकाबाट । पहिले नै मालमा लेखेर दिएको थियो स्थानीय तहले परिवार समेतको व्यक्तिगत जग्गा रोक्न । व्यक्तिगत जग्गा नै ७०÷८० विगाह थियो, त्यो पनि रोक्का छ । रतनबाबुले आफ्नो बिक्री गरिसक्नु भएको थियो, हामीहरुको छ, जग्गा ।
यसमा कानुनी उपचार लगभग टुङ्गिसकेको छ । सर्वोच्चबाट पनि फैसला भैसकेको छ । हामीले जग्गा पाउने भन्ने फैसला छ । तर, जनताको कब्जा छ त्यहाँ । सरकारले केही गरिरहेको छैन । धेरै चोटी लेखेर प्रशासन, गृहमन्त्रालय र प्रधानमन्त्रीलाई दियौं । अहिलेसम्म केही उपलब्धी भएको छैन । फेरि केही नयाँ निर्णय भएको छ भने हामी कानुनी उपचारमा जान्छौं । (स्थानीय प्रशासनको निर्णयपछि कम्पनीका सञ्चालक टण्डन परिवारका सदस्य अजय कुमार टण्डनसँग कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया