होटल व्यवसायी संघ बाँके नेपालगन्जको १६ औं र १७ औं साधारणसभामा व्यवसायीहरुले आफ्ना पीडा पोखेका हुन्
खम्ब पुन÷दैनिक नेपालगन्ज
कोरोनाका कारण सबैभन्दा बढी होटल व्यवसायी मर्कामा परेको भन्दै राज्यले आफ्ना पीडा बुझ्न होटल तथा पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् । उनीहरुले पीडामा रहेका व्यवसायीहरुलाई व्यवहारिकरुपमै सहयोग गर्न आग्रह गरेका हुन् ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जको शनिवार १६ औं र १७ औं साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै व्यवसायीहरुले पछिल्लो समय होटल व्यवसायीका अनगन्ती समस्या रहेको औल्याएका छन् । उनीहरुले आफ्ना समस्याको समाधान गर्न सरकारसंग आग्रह समेत गरेका छन् । लुम्बिनी प्रदेशमा मात्र ११ हजार साना ठूला होटल व्यवसायी रहेको र ५० देखि ६० हजारलाई प्रत्यक्ष रोजगारी दिएको उनीहरुले बताएका छन् ।
साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले अबको प्रधान अर्थतन्त्र होटल र पर्यटन व्यवसायी हु्ने बताए । मन्त्री गिरिले कृषिप्रधान मुलुकका बासिन्दा भए पनि खर्ब घाटा उत्पादनमा कमजोर हुँदा रेमिटान्सले जोगिनु पर्ने अबस्थामा रहेकाले कृषिको व्यवसायीकरणका साथै उद्योग, वन पर्यटनलाई जोडेर लिनु पर्नेमा जोड दिए ।
नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल विदेशी पाहुनालाई सम्मानका साथ भित्र्याउनुका साथै हवाई यात्रामा समान भाडादर हुनु पर्नेमा जोड दिए । महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश चुकेले व्यवसायीका समस्यामा सरकार सकारात्मक हुनु पर्ने उल्लेख गरे । महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालीलाई प्रत्यक्ष रोजगारी दिने र १ खर्व बढी लगानी रहेको होटल व्यवसायलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए । प्रदेश अध्यक्ष काफ्लेले स्थानीय तहबाट गर्न सकिने समस्याको सम्बोधनमा पनि उदासिनता औल्याए ।
नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राना अतिरिक्त शुल्क छुट सकारात्मक भएकाले नेपाल सरकारलाई धन्यवाद दिँदै कोभिडले पर्यटन व्यवसायी थला परेकोले भारतीय पर्यटक मूल स्रोत र नेपालगन्जलाई क्यासिनो सिटीको रूपमा विकास गर्नेमा जोड दिए । संघका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष, आजीवन सदस्य, पत्रकारलगायतलाई सम्मान गरिएको थियो । ‘तीनै तहको सरकारले हाम्रा पीडालाई एकएक गरेर सम्बोधन गरिदेओस्,’ अध्यक्ष कंडेलले भने, ‘यस्तै अवस्था रहिरहे व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्छन् ।’
संघले गर्यो सम्मान
दैनिक नेपालगन्ज
होटल व्यवसायी संघ बाँके नेपालगन्जले होटल तथा पर्यटनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई शनिवार सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
संघको साधारण सभाको अवसर पारेर प्रदान गरिंदै आएको सम्मान तथा पुस्कार शनिवार प्रदान गरिएको प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए । अघिल्लो वर्ष कोरोनाका कारण हुने नसकेको १६ औं साधारण सभालाई यसैपटक १७ औं सँगै गरिएको जानकारी दिंदै प्रवक्ता पौडेलले यसैपटक सम्मान पनि गरिएको बताए ।
यस वर्षको पर्यटन पत्रकारिता संस्थागत सम्मान तथा पुरस्कार दैनिक नेपालगन्ज पत्रिकालाई प्रदान गरिएको छ । पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक झलक गैरेलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरी र संघका अध्यक्ष भिमलाल कंडेलले नगदसहितको पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् । दैनिक नेपालगन्ज पत्रिकाले होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर दिएको योगदानका लागि संस्थागत सम्मान प्रदान गरिएको महासचिव रंगबहादुर खड्काले जानकारी दिए ।
गत वर्षको पर्यटन पत्रकारिता संस्थागत सम्मान तथा पुरस्कार रेडियो कृष्णसार एफएमलाई प्रदान गरिएको छ । रेडियोका तर्फबाट कार्यक्रम प्रमुख माधव अधिकारीले नगद पुरस्कारसहितको सम्मान ग्रहण गरे । एभिन्यूज टेलिभिजनका नेपालगन्ज ब्यूरो प्रमुख दुर्गा रोकायलाई पर्यटन पत्रकारिता पुरस्कार–२०७७ र पर्यटनकै क्षेत्रमा का गर्दै आएका पत्रकार टंक रेग्मीलाई पर्यटन पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिएको छ ।
संघले पूर्व अध्यक्ष जनार्दन पाण्डे, आजीवन सदस्य नारद पुरी र एकराज पाण्डेलाई सम्मान गरेका छ । त्यस्तै, बुझाउन चौधरी, अर्चना पोखरेल, इश्वरी गौतम र लीलावती गिरिलाई सफल व्यवसायी सम्मान गरिएको महासचिव खड्काले बताए । संघका पुष्पलाल टोल समिति अध्यक्ष दयाराम ढकाल र वीपी चोक अध्यक्ष टोप बहादुर थापालाई उत्कृष्ट टोल समिति सम्मान पनि गरिएको थियो ।
व्यवसायीका सन्तानलाई पुरस्कृत पनि गर्दै आएको संघले यस वर्ष चिकित्सा शास्त्र अध्ययन पुरा गरेका इश्वरी गौतमका छोरा सन्तोषलाई उच्च शिक्षा सम्मान गरिएको थियो । संघले संस्थागत योगदान दिने विभिन्न कम्पनीहरुलाई पनि सम्मान गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।