यसले प्रकृति संरक्षणमा सचेतनासँगै नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास लिइएको छ ।

नेपाली सेनाले बाँकेमा विभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । विहीवार नेपालगन्जको राँझास्थित ४ नम्बर बाहिनीमा औपचारिक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि दिइएको जानकारी अनुसार, सेनाले नेचर कन्जरभेसन रन (रन फर फन) कार्यक्रम आयोजना गर्ने भएको हो ।
राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसर पारेर आगामी फागुन २६ गते ‘रन फर फन’ आयोजना गर्न लागेको जानकारी दिंदै बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले भने, ‘यसले प्रकृति संरक्षणमा सचेतनासँगै नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास लिइएको छ ।’
सैनिक र नागरिक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यसखालका कार्यक्रममा जोड दिइएको धारणा राख्दै बाहिनीपति पाठकले राष्ट्रिय निकुञ्जसँग मानिसको सम्बन्ध तथा बिकासमा टेवा पुर्याउने कुरालाई पनि प्राथमिकतामा राखिएको बताए । गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको यसखालको कार्यक्रम यस पटक बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत शम्शेरगन्जमा गर्न लागिएको हो ।
सह–सेनानी विकास कार्कीका अनुसार, शम्सेरगञ्जमा आयोजना गरिने रन फर फनमा खेलकुदका विभिन्न विधाहरु समावेश छन् । २१ किलोमिटर पुरुष दौड, १० किलोमिटर महिला, ५ किलोमिटर महिला र पुरुष तथा २५ किलोमिटर साइक्लिङ प्रतियोगिता गरिंदैछ । प्रतियोगितामा खुल्ला तथा निशुल्क रुपमा भाग लिन पाइने ब्यवस्था मिलाइएको जानकारी दिंदै सह–सेनानी कार्कीले भने, ‘सैनिक–गैरसैनिक, महिला–पुरुष सबैको सहभागिता खुला गरिएको छ ।’