पहिले विनाशकारी भुकम्प र अहिले कोरोना महामारीले धराशयी भएको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि व्यवसायीहरु आफै अग्रसर भएका छन् । भुकम्पका कारण विदेशबाट आउने पर्यटकहरु ह्वात्तै घटेपछि क्रमशः उठ्दै गएको पर्यटन क्षेत्र गत बर्ष चैत्रदेखि कोरोना महामारी पछि ठप्प छ ।
यस्तो बेला पर्यटन व्यवसायका लागि गरिएको अर्बौ लगानीको क्षति जोगाउन आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखेर व्यवसायीहरुको अग्रसरता देखिएको हो । ‘बाह्य भन्दा आन्तरिक पर्यटन नै अबको भविष्य हो’, पोखराका चार्टर उडान सँगै नेपालगन्जबाट पर्यटकीय गन्तव्य ठाकुरद्वाराका लागि पर्यटक बस सञ्चालन गरेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध ढंगले अगाडि बढिएको छ ।’
नाटा पोखरासँगको साझेदारीमा आइतबार पनि नेपालगन्जबाट सिता एयरको चार्टर उडान पोखरा पुगेर फर्किएको छ । हरेक साता आइतबार र शुक्रबार उडान नियमित गर्न कोशिश गरिरहेको नाट्टाले सहुलियत प्याकेज तयार गरिरहेको अध्यक्ष सिग्देलको भनाइ छ । ‘यो उडान एक महिनाका लागि मात्र हो’, सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘त्यसलाई नियमित बनाउने काम सरकार र सम्बन्धित निकायको हो ।’

शुक्रबार नेपालगन्जबाट पर्यटक बस शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले व्यवसायी, पत्रकार सहितको टोली चढेको पर्यटक बस शुभारम्भ गर्दै भने, ‘भारतसँगको नाका तत्काल खोलेर पर्यटकीय वातावरण बनाउने तर्फ ध्यान पुग्नु पर्दछ ।’

बर्दियाका लागि पर्यटक बसको नेतृत्व गरेर ठाकुरद्वारा जाँदै गरेका पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई सम्बोधन गर्दै नगर प्रमुख डा. राणाले भने, ‘यसरी हुँदैन, नाका खोल्न आन्दोलन गरौं ।’ टोलीले बर्दिया पुगेर ठाकुरद्वाराका स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियात्मक छलफल गरेको नाट्टा बाँकेका सचिव झविलाल शर्माले जानकारी दिए ।
‘दीर्घकालीन रुपमै योजना बनाएर आन्तरिक पर्यटन उत्थानका लागि व्यवसायीहरु एकजुट हुन जरुरी रहेको छ’, नेपालगन्जको टोलीलाई स्वागत गर्दै जंगल सेन्ट्रल प्लाजा रिसोर्टका सञ्चालक देवानन्द अर्यालले भने, ‘अब सम्भावनाको खोजी हामी आफैले गर्नुपर्दछ ।’ पर्यापर्यटन मञ्च ठाकुरद्वाराका अध्यक्ष कृष्ण भट्टराईले ठाकुरद्वारालाई विश्वभरी बेच्न सकिने सम्भावना औंल्याउँदै आन्तरिक पर्यटकका लागि प्याकेज बनाउन लागिएको जानकारी दिए ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलका अनुसार, नेपालगन्जमा अत्याधुनिक सुविधा सहितको दुई वटा पर्यटक बस आवश्यकता अनुसार सञ्चालनमा ल्याउने गरी राखिएको छ । सुरुवातमा हरेक साता शुक्रबार ठाकुरद्वारा जाने र आइतबार विहान नेपालगन्ज फर्किने प्याकेज मिलाइएको सिग्देलले जानकारी दिए ।