नेपालगन्जदेखि आजबाट ठाकुरद्वाराका लागि ‘पर्यटक बस’

नेपालगन्ज–पोखरा– नेपपालगन्जका लागि चार्टर विमान सञ्चालन गरेर आन्तरिक पर्यटनका लागि महत्वपूर्ण पहल लिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँकेले नेपालगन्ज–ठाकुरद्वारा रुटमा पर्यटक बस चलाउने भएको छ । आज दिउसो ३ बजे गाडी त्यसतर्फ जानेछ ।

क्रमशः सुपा देउराली, लुम्बिनी, कर्णालीका विभिन्न पर्यटकीय स्थानमा पनि यसखालका सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याइने योजना छ

श्रीराम सिग्देल अध्यक्ष. नाट्टा बाँके


नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर बाँकेको नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म पर्यटक बस चलाउन लागेको हो । आज शुक्रवार औपचारिक शुभारम्भ हुने पर्यटक बस सञ्चालनपछि नेपालगन्ज आउने पर्यटकका लागि ठाकुरद्वारा र त्यहाँ आउने पर्यटकलाई नेपालगन्ज ल्याउन व्यवसायीहरुका लागि सहज हुने विश्वास लिइएको छ ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार, स्वीफ्ट होलिडे कम्पनीले उपलब्ध गराएको बस नाट्टा बाँकेले सञ्चालन गर्न लागेको हो । नेपालगन्जमा टिकट बुकिङ काउन्टर राखेर पहिलो चरणमा आज शुक्रबारदेखि हप्तामा दुई दिन बस चलाइने जानकारी दिंदै अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘निजी गाडी वा भाडामा एक्लै गाडी लिएर जाँदा महँगो नपरोस् भनेर सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइएको हो ।’
पहिलो चरणमा नेपालगन्जबाट सुरु हुने यात्रा बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्नेछ । हरियो नम्बर प्लेटको पर्यटक बसले सहज यात्रासँगै सहुलित भाडासमेतको व्यवस्था मिलाइएको अध्यक्ष सिग्देलले बताए । ‘क्रमशः सुपा देउराली, लुम्बिनी, कर्णालीका विभिन्न पर्यटकीय स्थानमा पनि यसखालका सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याइने योजना छ,’ अध्यक्ष सिग्देलले भने ।

विशेषतः बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि पर्यटक बस सञ्चालन गर्न लागिएको अध्यक्ष सिग्देलको भनाइ छ । ‘यो रुटमा सञ्चालन भएपछि नेपालगन्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने योजना हो,’ नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने । कोरोनाका कारण थलिएको पर्यटनको उत्थानका लागि पर्यटन बोर्डसँगै विभिन्न ठाउँमा सहकार्य गरिरहेको नाट्टा बाँकेले पछिल्ला दिनमा महत्वपूर्ण दुरगामी प्रभावका योजना अघि सारेको छ ।
पोखरासँग हवाई सम्बन्ध स्थापित हुँदै गर्दा नेपालगन्ज– ठाकुरद्वारा पर्यटक बस सञ्चालनप्रति व्यवसायीहरु उत्साहित छन् । ‘यसले बाँके–बर्दियाको आन्तरिक पर्यटनको विकासलाई चलायमान बनाउन सक्छ,’ जंगल प्लाजा रिसोर्ट ठाकुरद्वाराका सञ्चालक देवानन्द अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘सबै काम सरकारले गरिदेला भनेर बस्नु भन्दा आफ्नै अग्रसरताले परिणाम दिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया