साँघातिक आक्रमण भएको एक महिना पुग्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै बाँके प्रहरीको आलोचना भएको छ । प्रहरी विरुद्ध एक साता यता निरन्तर जसो नेपालगन्जको त्रिभुवन चोकमा प्रदर्शन भइरहेको छ ।

गम्भीर यौनजन्य हिंसा र सांघातिक आक्रमण भएको यतिका दिन बित्दा पनि कारबाहीको सुनिश्चितता र अपराधीको कुनै तथ्य बाहिर नल्याएको भन्दै पीडित १५ वर्षीया किशोरी अध्ययन गर्ने विद्यालयका शिक्षक विद्यार्थीदेखि आफन्त तथा अधिकारकर्मीहरुले निरन्तर दिउसै मैनबत्ती बालेर न्यायको माग गरिरहेका हुन् । अस्पतालबाट आकस्मिक उपचार सकिएपछि एक अधिकारकर्मी संस्थाको सेल्टरमा आश्रित किशोरीका पीडादायी घटना दैनिक नेपालगन्जले पहिलो पटक सार्वजनिक गरेको थियो । त्यसयता उनको न्यायका लागि विभिन्न समूहगत माग बाहिर आइरहेपनि प्रहरीले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
यौन पिपासुको हिंसक घटना नेपालगन्ज–६ फुल्टेक्रास्थित एक सामुदायिक विद्यालयकी विद्यार्थीमाथिको हो । विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरीलाई बाटैबाट नियन्त्रणमा लिई बलात्कार प्रयाससँगै सांघातिक आक्रमण भएको थियो । पीडित परिवारका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर बलात्कारको योजना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दिउँसै धाकधम्कीसहित नियन्त्रणमा लिएका थिए । गत माघ १६ गतेको उक्त घटनाका अपराधी भारततिर भागेकाले प्रहरीले पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएकी किशोरीकी आमा घटनालाई लिएर निकै अत्तालिएकी छन् । ‘किशोरीको प्रतिवादले बलात्कार गर्न नसकेपछि ज्यान लिंने योजना बनाएका ती युवाले सांघातिक आक्रमण गरेको देखिन्छ,’ प्रहरी स्रोतले घटना लगत्तै दैनिक नेपालगन्जसँग भनेको थियो । मर्यो ठानेर युवा भागेपछि केही बेरमा होसमा आएकी किशोरीले चिच्याएपछि होटलवालाले उद्दार गरेका थिए । उनको घाँटीमा डोरीले कसेर मार्न खोज्दा नाक, कान र मुखबाट रगत आएपछि युवाले मरेको ठानेको हुनसक्ने प्रहरी अनुमान छ । घटनाको अनुसन्धानका क्रममा होटल सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले किटानी जोहरीमा उल्लेखित युवाको खोजीमा अपेक्षित सक्रियता नदेखाएको आरोप पीडित परिवारको छ ।
‘पीडित विद्यार्थीलाई न्याय मिलोस्, अपराधीलाई सार्वजनिक गरि कारबाहीको सुनिश्चितता गरियोस् भन्ने दबाबका लागि प्रदर्शन गरिएको हो,’ विहीवार क्रिभुवन चोकमा गरिएको दबावबारे नेपाल शिक्षक संघका बाँके अध्यक्ष वीरेन्द्र यादवले दैनिक नेपालगन्जसँग भने, ‘अन्याय नहोस् भनेर शिक्षकहरुले ऐक्यबद्धता जनाएका छौं ।’
शिक्षक महासंघ बाँकेले विहीवार प्रदर्शन गरेको हो । महासंघका अध्यक्ष पवन कुमार यादवको अध्यक्षतामा भएको प्रदर्शनमा शिक्षक महासंघका केन्द्रीय सदस्य द्रोर्ण ओली, मीना चन्द, बाँकेका सहअध्यक्ष प्रकाश आचार्य लगायतले अपराधी पक्राउ नपर्दा पीडितको पीडा झनै बढेको भन्दै कारबाही माग गरे ।