बढ्यो पेट्रोलियम तस्करी

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगिए पछि तस्करी बढेको छ । खुला सीमाना रहेकाले स–सानो परिणाममा पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ । नेपाल–भारत सीमाको बाँके खण्डको ६५ किलोमिटर खुला सीमाना रहेको छ । जसले गर्दा खुला सीमानामा तस्कर सक्रिय भएका छन् । सीमामा भारतबाट तस्करी गरेर सामान ल्याउनेहरु अहिले नेपालबाट पेट्रोलियम पदार्थ लैजान थालेका छन् ।


भारतमा उत्तर प्रदेशमा डिजेललाई ८०.९६ भारु र पेट्रोललाई ८८.६३ भारु पर्छ । नेपालगन्जमा डिजलको प्रतिलिटर मूल्य नेपाली ९५.५०, पेट्रोलको नेपाली ११२.५० पैसा रहेको छ । यसले नेपाल र भारतको पेट्रोलियम पदार्थको मूल्यमा ठूलो अन्तर देखिन्छ । करको दरका कारण अहिले नेपाल र भारतमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर छ । जसले गर्दा पनि तस्करहरु पेट्रोलियम पदार्थको तस्करीमा सक्रिय भएका हुन् ।

भारतबाट भन्सार भएर आउने भारतीय सवारी साधनले यहाँ पेट्रोलियम पदार्थ ट्यांकी भरेर लैजाने गरेका छन् । भारतीय ट्रकहरुले यसरी नेपालबाट लगेको पेट्रोलियम पदार्थ भारत लगेर बिक्री गर्ने गरेको भारतीय पत्रकार एसके मधेशियाले जानकारी दिएका छन् ।
भारतबाटै बिक्री गरिएको इन्धन नेपालले भारतमा भन्दा सस्तोमा बिक्री गर्दा सीमा क्षेत्रमा दिनहुँ तस्करी बढेको समाचार अहिले भारतीय सञ्चार माध्यमहरुमा छ्यास्छ्यास्ती छ । तस्करीमा दुई पांग्रेका अलवा साना गाडी धेरै प्रयोग भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नेपालका पेट्रोल पम्पहरुबाट पानीका बोत्तल, जार र जर्किनमा भरेर समेत पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको समाचारहरुमा उल्लेख छ ।


समाचार अनुसार, सवारी साधनहरुले नेपालका पम्पमा पेट्रोल भरेर सिमा पारी खन्याउने गरेका छन् । बोतल, जार र जर्किनमा बोक्नेहरुले भारतको खुद्रा पसलहरुमै बेच्न राख्ने गरेका छन् । बिहारको अररियादेखि उत्तर प्रदेशको सुनौली र उत्तराखण्डको चम्पावतसम्म पेट्रोलियम तस्करी मौलाएको भारतीय मिडियाहरुले जनाएका छन् ।

नेपाल आयल निगम नेपालगन्ज इन्धन डिपोका प्रमुख कमला न्यौपानेले भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर रहेपनि स्थानीय बजारमा माग र आपूर्तिको अवस्था अप्रत्याशित भने बढेको नपाएको बताउँछिन् । ‘मूल्य अन्तरले तस्करीको सम्भावना हुनसक्छ, त्यसैले केन्द्रबाट नै त्यसलाई रोक्नका पहल भैरहेको छ’, उनले भनिन् ।


नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ थालेको छ । निगमले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो । निगमले गत बिहीबार इन्धनको अपचलन रोक्न अपनाउनुपर्ने सावधानी र कार्ययोजना स्वीकृत गरेको थियो ।


कार्ययोजनअनुसार प्रादेशिक कार्यालयहरुले दैनिक न्यूनतम पाँच वटा सीमा नाका क्षेत्रका पेट्रोल पम्पहरुको निरीक्षण गरी आवश्यक विवरण लिनुपर्नेछ । यसरी निरीक्षण गर्दा निगमका कार्यालयले आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमा नाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्पहरु, हुलाकी राजमार्गमा अवस्थित पेट्रोल पम्पहरु तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम् पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोल पम्पको बिक्री अनुगमन गर्नुपर्ने छ ।

निगमको नयाँ नियम अनुसार, सीमा क्षेत्रका पेट्रोल पम्पले ड्रम, जर्किन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्री वितरण गर्न पाउने छैनन् । पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेशिन सञ्चालन गर्ने प्रयोजनका लािग जर्किनमा बिक्री वितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लािग आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लगत राखी बिक्री गर्नुपर्ने छ । बिक्रेताले उपभोक्ताको इन्धन खरिद विवरण अद्यावधिक राख्नुपर्नेछ । सीमा नाकाका पेट्रोल पम्पलाई मासिक अघिल्लो वर्ष निगमबाट उठाएको परिमाणमा १० प्रतिशत थप गरी मासिक परिमाण उपलब्ध गराउन सकिने निगमले जनाएको छ ।
भारतीय ठूला सवारी साधनलाई इन्धन ट्याङ्कीमा बढीमा १०० लिटर मात्र इन्धन दिने नियम निगमले बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया