होटलमा सेवाग्राही मिठो, गुणस्तरीय खाना र आनन्ददायी वातावरणमा रमाउनका लागि जाने गर्दछन् । तर, सेवाग्राही जाने ती होटलले प्रदान गर्ने होटल खाद्य स्वच्छताको हिसाबले कुन गुणस्तरका हुन् भन्ने सेवाग्राहीले थाहा पाउन सक्दैनन् । होटलका सफा कक्ष बसेमा बसेका सेवाग्राहीले कस्तो खाना, कुन गुणस्तरका छन् भन्ने थाहा पाउने अवस्था थिएन । अब भने सेवाग्राहीले आफु खान तथा रमाउन जाने होटलको गुणस्तर थाहा पाउन सक्ने भएका छन् ।
खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण सम्बन्धी निर्देशिका २०७४ लागु भएपछि बाँकेमा पनि त्यसको कार्यान्वयन गरिंदैछ । बाँकेमा पनि होटलहरुको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिंदैछ । बाँकेमा बुधबारदेखि होटलहरुको स्तरीकरण सुरु भएको हो । दुई बर्ष अघि पनि बाँकेका होटलको स्तरीकरण गरिएको थियो । तर, त्यसपछि नियमित हुनुपर्ने यसखालका कार्यक्रम हुन सकेका थिएनन् । अब भने होटलको स्तरीकरणको काम पुनः सुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुनः होटलको स्तरीकरण कार्य सुरु गरेको छ । स्तरीकरण अनिवार्य र ऐच्छिक दुवै छ । कतिपय अवस्थामा अधिकार प्राप्त समितिले अनुगमन गरी होटलको स्तरीकरण गर्नेछ भने भने कतिपय होटलले आफैले निवेदन दिएर होटलको स्तरीकरण गर्न सक्नेछन् । स्तरीकरण गरिएका होटलको रिसेप्सनमै होटलले स्वच्छताका सम्बन्धी प्रमाणिकरणको लोगो राख्नेछन् । जसले गर्दा उपभोक्ताले उक्त होटलमा पाउने खाद्यको स्तरबारे जानकारी पाउन सहज हुने भएको छ ।
बाँकेमा बुधबार मात्रै स्थानीय खाद्य स्वच्छता समूह गठन गरिएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जका प्रमुख एकराज बुढाथोकीले जानकारी दिएका छन् । उनले समूह गठन लगत्तै नेपालगन्जको स्नेह होटलबाट खाद्य स्वच्छताको आधारमा स्तरीकरणको कार्य सुरु भएको बताए । समिति होटल व्यवसायी संघ बाँकेको नेतृत्वमा गठन गरिएको छ । जसमा उपभोक्ता अधिकार मञ्चदेखि स्थानीय प्रहरीलाई समेत सदस्यमा चयन गरिएको छ । समितिले आवेदन दिने वा आफैले चाहेको होटल अनुगमन गरी प्रमाणिकरण गर्न सक्नेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कार्यालय प्रमुख ज्ञानेन्द्रप्रसाद मण्डलको उपस्थितिमा बुधबार स्थानीय खाद्य स्वच्छता समूह गठन गरिएको हो । समिति गठन लगत्तै होटल व्यवसायीहरुलाई त्यसको जानकारी दिन तथा जिज्ञासा समाधानका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि स्नेह होटलमा बुधबार नै गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक समेत रहेकी नेत्र बोगटीले ५० वटा स्तरीकरण मूल्यांकनको सूचक रहेको अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिएकी थिइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कार्यालय प्रमुख ज्ञानेन्द्रप्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, खाद्य प्रविधि तथा गुण नियन्त्रणका महानिर्देशक उपेन्द्र रायले समय अनुकुल खाद्य गुणस्तर र मापदण्ड प्रयोगमा कडाई गर्न थालिएको उल्लेख गरेका थिए । उनले होटलको स्तरीकरणले होटलहरु बीच नै अब्बल हुने प्रतिस्र्धा हुने र त्यसले खाद्य स्वच्छतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । होटल व्यवसायीहरु बीच विभिन्न उदाहरण प्रस्तुत गरेका महानिर्देशक रायले वर्तमान परिवेशमा मापदण्ड बनेकाले त्यसलाई पूर्णत पालना गर्न र समस्या भए सुझावका लागि सम्पर्क गर्न होटल व्यवसायीसँग अनुरोध गरे ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले सेवाग्राहीले तोकिएको शुल्क तिरेपछि गुणस्तरीय सेवा पाउनु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै होटलमा उपभोग गरेको वस्तुले व्यक्तिको स्वास्थ्य बिग्रिएमा त्यसको क्षतिपूर्ति पाउने विषय कानुनले सुनिश्चित गरेको बताएका थिए ।
खाद्य निरीक्षक प्रेम अर्यालले कार्यपत्र प्रस्तुत गर्दै स्तरीकरणको मापदण्डबारे बिस्तृत रुपमा व्यवसायीलाई जानकारी गराएको कार्यक्रममा होटल व्यवसायी रंग बहादुर खड्काले घर भाडामा लिएर होटल सञ्चालन गर्दा मापदण्ड पूरा गर्नु चुनौति रहेको र त्यसको व्यवस्थापनका लागि सुझावका लागि विभागसँग आग्रह गरेका थिए । अर्का होटल व्यवसायी प्रेम नारायण शर्माले खाद्य वस्तुलाई कसरी भण्डारण गर्दा मापदण्ड पूरा हुनेबारे जिज्ञासा राखेका थिए । होटलमा प्रयोग हुने तेल कुन मापदण्डको र कसरी प्रयोग गर्दा खाद्य स्वच्छतामा असर नपर्ने बारे पनि होटल व्यवसायीले जिज्ञासा राखे ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले होटल व्यवसायीले आफ्नो खानाको मूल्य आफै तोक्न सक्ने भएकाले गुणस्तरमा सम्झौता नगर्न सुझाव दिए । उनले विभागलाई नियमित अनुगमन गर्न समेत आग्रह गर्दै मापदण्डबारे व्यवसायीलाई पूर्व जानकारी दिन तालिमको आयोजना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले होटलका खानाको गुणस्तर उपभोक्ता स्वास्थ्यसँग जोडिएको ह्ुनाले जिम्मेवार हुन आग्रह गरे ।