कतै नुनमा आयोडिन त नष्ट भएन !

नुन हामी सबैको भान्सामा नभई नहुने वस्तु हो । आयोडिन स्वास्थ्यका लागि अति आवश्यक छ । त्यसैले सरकारले आयोडिन नागरिकको घरसम्म पुर्याएर दैनिक रुपमा उपभोग गराउनका लागि नुनमा आयोडिन मिसाउने गरेको छ ।

तर, नुनमा रहेको आयोडिन विभिन्न कारणले नष्ट हुनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका अधिकारीहरुले गरेका छन् । मंगलबार नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिकाले आयोडिनका सम्बन्धमा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै साल्ट्र टे«डिङ्ग कर्पोरेसन लिमिटेड नेपालगन्जका प्रमुख मनोज चौधरीले नुनमा रहेको आयोडिन विभिन्न कारणले नाश हुनसक्ने भएकाले त्यसलाई जोगाएर प्रयोग गर्नुपर्ने बताए ।

कर्पोरेसन नेपालगन्ज प्रमुख चौधरीले नुनलाई खुला रुपमा राख्दा, बढी तापक्रम तथा नुन ओसिलो हुँदा आयोडिन नष्ट हुनसक्ने तर्फ सचेत गराए । उनले तरकारी, अचारमा नुनको प्रयोग गर्दा आयोडिन नष्ट हुन नदिन उक्त परिकारहरु पाक्न लागेपछि नुन हाल्ने र छोपेर पकाउनु पर्ने सुझाए । ढिके नुनमा पनि आयोडिन हुने भएपनि त्यसलाई धोएर प्रयोग गर्ने भएकाले आयोडिन नाश हुने गरेको उल्लेख गर्दै चौधरीले प्याकेटको आयोडिन युक्त नुन प्रयोग गर्नुपर्ने बताए ।
अझै पनि ढिके नुनको प्रयोग भैरहेको बताउँदै चौधरीले ढिके नुन पशुवस्तु र व्यवसायिक प्रयोजनका लागि उपयोग हुने गरेको बताए । कर्पोरेशनको पछिल्लो तथ्यांक अनुसार ७५ प्रतिशत आयोडिन युक्त प्याकेटको नुन र २५ प्रतिशत ढिके नुन बिक्री भएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपमहानगरपालिका स्वास्थ्य शाखाका तेज वलीले आयोडिनको कमी र बढी दुवैले स्वास्थ्यमा समस्या हुने भएकाले सही मात्रामा प्रयोग गरिनुपर्ने बताए । उनले आयोडिनको कमीका कारण गलगाँड, मानसिक र बौद्धिक क्षमताको विकासमा कमी, मृत तथा अपाङ्ग बच्चा जन्मने लगायतको समस्या हुने गरेको बताए ।

उपमहानगरपालिका स्वास्थ्य शाखाका जागेश्वर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले आयोडिनको मूल्यमा एकरुपता नपाइएकाले त्यसको अनुगमन गर्न सुझाव दिए । उनले आयोडिन नुनको प्रयोग गर्न, नुनमा भएको आयोडिन नष्ट हुन नदिन प्रयोगको तरिकाबारे सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया