गम्भीर यौनजन्य हिंसा र सांघातिक आक्रमण भएको ११ औं दिन । १५ वर्षीया किशोरी अस्पतालबाट आकस्मिक उपचार सकिएपछि आश्रित एक अधिकारकर्मी संस्थाको सेल्टरमा मंगलवार दैनिक नेपालगन्ज पुग्दा हातमा औषधि र पानीको गिलास लिएर देखा परिन् ।
अनुहारमा अझै प्रष्ट देखिने चोट र सुन्निएका रगताम्मे आँखाले उनी राम्रोसँग हेर्न नमिलेको अवस्थामा संवाददाता सामू भक्कानिंदा आँशु सकिएको अनुमान गर्न गा¥हो थिएन । सायद उनकी आमाका पनि आँशु सकिएका छन् । एक्ली छोरी विद्यालयबाट फर्किसकिन् होला भनेर मजदूरीबाट फर्किंदा कल्पनै नगरेको घटना छिमेकीबाट सुनेपछि नथामिएका ती आमाका आँखा भने अझै रसाइरहेका देखिन्थे ।
यौन पिपासु कतिसम्म हिंसक हुन्छन् भन्ने दुर्दान्त घटना नेपालगन्जमा भएको छ । नेपालगन्ज–६ फुल्टेक्रास्थित एक सामुदायिक विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरीलाई बाटैबाट नियन्त्रणमा लिई बलात्कार प्रयाससँगै सांघातिक आक्रमण भएको हो । पीडित परिवारका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर बलात्कारको योजना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दिउँसै धाकधम्कीसहित नियन्त्रणमा लिएका थिए ।
‘मसँग चुपचाप नहिंडे यहीं मारिदिन्छु भनेर एक हातले घाँटीमा सलभित्रबाट ब्लेड राख्यो, अर्काे हात समातेपछि म बोल्नै सकिंन,’ सरासर होटलमा लगेर बलात्कार प्रयास गरेको सम्झँदै किशोरीले भनिन्, ‘कुनै हालतमा नदिएपछि घाँटी थिच्यो, म¥यो भनेपछि लात्तीले निरन्तर अनुहारमा हान्यो ।’ अहिले पनि उनको अनुहारमा देखिनेको चोटले भन्छ, यौन पिपासुको निर्मम अपराधको कथा ! ‘मेरो हुन नसकेपछि कसैको हुन दिन्न भन्दै लात्तीले हानेको सम्झन्छु,’ किशोरीको भनाइ थियो ‘पछि होस् खुलेपछि रोएको सुनेर होटलवाला आएर अस्पताल पु¥याए ।’
माघ १६ गते शुक्रवार ! शीतलहर, हुस्सु र कुहिरोले ढपक्क ढाकेर एकाबिहानजस्तो लाग्ने त्यो दिन सम्झँदै किशोरीले भनिन्, ‘नजिकैको मानिसपनि नदेखिने गरि मौषम खराब थियो, म चिच्याउन करान डराएँ, कसैले देखिहाल्दा हात समातेर आफन्तले लगेजस्तो देखिन्थ्यो ।’ तीन दिन अघिमात्रै पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएकी छन् । ‘हामीलाई लाग्यो त्यति गम्भीर घटनालाई हेरिरहेको प्रहरीले अपराधी समात्न आफ्नो काम गरिहेको होला,’ आफ्नो सिंगो परिवार असुरक्षित महसुस गरेकी आमाले दैनिक नेपालगन्जसँग भनिन्, ‘प्रहरीले अपराधी किन समातेन भनेर जाँदामात्रै जाहेरी मागेपछि किटानी जाहेरी दिएकी हुँ ।’
‘किशोरीको प्रतिवादले बलात्कार गर्न नसकेपछि ज्यान लिंने योजना बनाएका ती युवाले सांघातिक आक्रमण गरेको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘मर्यो ठानेर युवा भागेपछि केही बेरमा होसमा आएकी किशोरीले चिच्याएपछि होटलवालाले उद्दार गरेका थिए ।’ उनको घाँटीमा डोरीले कसेर मार्न खोज्दा नाक, कान र मुखबाट रगत आएपछि युवाले मरेको ठानेको हुनसक्ने प्रहरी अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक इश्वरदेव गिरीले घटनाको अनुसन्धान भैरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिए । किशोरीकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जानकारी दिंदै प्रहरी निरीक्षक गिरीले दैनिक नेपालगन्जसँग भने, ‘अभियुक्तको खोजीमा प्रहरी परिचालित छ ।’
अधिकारकर्मी लक्ष्मी तिवारीले घटनाको झण्डै दुई साता पुग्न लाग्दासम्म अपराधी पक्राउ नपर्नुले धेरै थरी शंका उब्जाएको गुनासो गरिन् । ‘यति गम्भीर घटनामा अहिलेसम्म आशलाग्दो अनुसन्धान प्रक्रिया अगाडि बढेको देखिंदैन’, अधिकारकर्मी तिवारीले भनिन्, ‘अपराधी पक्राउ नपर्दा सिंगो परिवार सन्त्रस्त छ ।’
प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेका होटल सञ्चालकलाई सोमबार रिहा गरेको छ । १० दिनसम्म थुनामा राखिएका उनको संलग्नता नपाइएपछि प्रहरीले रिहा गरेको जनाएको छ । ‘मैले जानकारी पाउना साथ उपचारका लागि अस्पताल लैजानुका साथै प्रहरीलाई खबर गरेको हुँ’, होटल सञ्चालक दीर्घ विष्टले दैनिक नेपालगन्जसँग भने, ‘उल्टै म माथि शंका गरिदिंदा दुःख पाएँ ।’