साइकलेको कुम्भ टुर डे ठाकुरद्वार

एकसय साठी साइकले र अन्य सहभागी सहित दुई सय जनाले मात्र सहभागिता जनाइएको र पुरा गरिएको साइकल राइड कसरी कुम्भ हुन सक्छ ? धेरैले पक्कै पनि यो प्रश्न उठाउन सक्नुहुन्छ तर २०७५ सालबाट प्रत्यक बर्ष आयोजना गरिदैआएको साइकल यात्रा ‘टुर डे ठाकुरद्वार’ देशका प्रायजसो सबै शहर बाट र भारतीय शहर बरेली र उडिसाबाट समेत भएको सहभागिता आफैंमा महत्वपूर्ण थियो यो राइडले सिङ्गो देश बोक्यो र मुलुक भरी कै प्राय सबै शहर लाई एकठाउमा जोड्यो यसर्थ यो साइकलेहरुका लागी कुम्भ नै हो ।

देशभरका साइकलेहरुका प्रेरणाका श्रोत र अभिभावकका रूपमा रहनुभएका बिश्वसाइकल यात्री पुष्कर शाहले टुर डे ठाकुरद्वारको तेस्रो सस्करणमा पनि लगातार प्रमुख राइडरका रूपमा सहभागिता जनाउनु भयो भने पश्चिम नेपालकै साइकल राइडमा पहिलोपटक सशस्त्र प्रहरी बलका आइजिपी सिह बहादुर श्रेष्ठको सहभागिता बिशेष बन्यो ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक नवीन प्रधान, आचार्य ओशो पुजारि, नेपालकै ७७ जिल्लामा साइकल यात्रा पूरा गरेका तेजप्रसाद पराजुली, नेपालगन्ज मेडिकल कलेजका एमडी डाक्टर सुुरेश कुमार कनोडिया, भेरी अस्पतालका मेसु प्रकाश थापा, छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाईं, डाक्टर मधु अर्याल लगायत दर्जन बढी स्वास्थ्यकर्मी, मानवअधिकार कर्मी भोला महत, एउटा मात्र खुट्टाले साइकल चलाउने पारा साइक्लिस्ट यमलाल रसाइली, अर्का पारा साइक्लिस्ट जसले एउटा मात्र हातबाट साइकल यात्रा पुरा गर्ने राम अधिकारी, युवा नेता लक्ष्मिनारायण शाह, सामाजिक अगुवा राजिभ बिक्रम शाह, नेपालगन्ज उपमहानगर वडा न २ का अध्यक्ष सुनिल सिह हमाल सहित भारत बरेलीका रभिन्दर सिह ओभराय, मन्जिभ सिह, सन्जिभ जिन्दल र ओडिसाका देवासिस त्रीपाठि, जुम्लाका माधव चौलागाईं, साहसिक यात्रामा रुचि राख्ने डोल्पाका भास्कर बस्नेत र सुदुरपश्चिमका भरत बिक्रम शाह सहित एकदर्जन महिला सहभागी सहित १६० जनाले यो यात्रामा सहभागी भए भने साइकल यात्रामा शुरूवात देखि अन्तिमसम्म पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डाक्टर धनन्जय रेग्मीले रुचिपूर्वक साथ दिएर आयोजक र सहभागीलाई हौसला प्रदान गर्नुभयो ।

साइकल यात्रामा सहभागिता जनाउन माघ २२ गते नै नेपालगन्ज पुगेका साइक्लिस्टले नेपालगन्ज शहर, बागेश्वरी मन्दिर, हेप्पी वल्र्ड फन पार्क, मेरो प्लानेट फनपार्क घुमे भने नेपालगन्जमा फायर पान, राबडी, मड्का चिया बिर्यानी र नेपालगन्जको सेकुवाको स्वादमा रमाए ।
साइकल यात्राका क्रममा नेपालगन्ज, जानकी गाउँ पालिका, खजुरा, बढैयाताल, गुलरिया, मधुवन हुँदै ठाकुरद्वार पुगेका साइकलेहरुले छोटै रूपमा भएपनि स्थानीय जनजीवन सङ्ग साक्षात्कार गरे, बढैयाताल, कृष्णसार, नेपालकै लामो पुल, ठाकुरबाबा मन्दिर, बर्दिया राष्ट्रिय निकुञ्ज, सुदुरपश्चिमको कर्णाली पुल, सत्खलुवा ताल, ॐ केदारेश्वर धामसम्म घुम्न भ्याए भने एकसाझ आयोजना गरिएको टुर डे ठाकुरद्वार साझमा प्रस्तुत गरिएको थारु नाचमा सबै सहभागी रमाए ।

यसरी नेपालगन्जमा आयोजना गरिएको साइकल यात्राले समग्र रूपमा पूर्व देखि पश्चिम मात्र होइन हिमाली जिल्ला डोल्पा र छिमेकी मुलुक भारतलाई समेत जोडेर साइकल पर्यटनको बिकास, प्रचारप्रसारका लागि मात्रै होइन पर्यटनको मोबिलिटीका लागि पनि बिशेष हो भन्ने मान्यतालाई टुर डे ठाकुरद्वार साइकल यात्राले स्थापित गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया