पर्यटन व्यवसायीका आँखाबाट आँशु झरिरहेका छन्

डा. धनन्जय रेग्मी

प्रमुख कार्यकारी अधिकृत

नेपाल पर्यटन बोर्ड

टूर दि ठाकुरद्वारा आजदेखि तीन दिनसम्म सञ्चालन हुँदैछ । त्यसका लागि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी नेपालगन्ज आइपुगेका छन् । एक वर्षअघिमात्रै बोर्डको नेतृत्व सम्हालेका, पर्यटनको क्षेत्रमा विज्ञ डा. रेग्मीसँग दैनिक नेपालगन्जले गरेको कुराकानी आजको सम्यक संवादमा प्रस्तुत गरेका छौं ।

तपाईंले पर्यटन बोर्डको नेतृत्व सम्हाल्दै गर्दा कोरोना महामारी देखा परेपछि पर्यटनको अवस्था बिग्रियो । तैपनि यहाँले त्यसलाई कसरी सम्हालिरहनु भएको छ ?

गत बर्ष मैले जिम्मेवारी सम्हाल्ने बित्तिकै कोभिड आयो । कोभिड आइसकेपछि हिजोका दिन भन्दा प्राथमिकता नै फरक बन्न गयो । र, हामीले गरिरहेका कार्यक्रमलाई रोकेर नयाँ खालका कार्यक्रम गर्नुपर्यो । हाम्रो जिम्मेवारी अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउनु थियो । त्यसका लागि हामी विदेशमा जाने, विभिन्न खालका मेला महोत्सवमा नेपाललाई चिनाउने खालका कार्यक्रम गर्ने, विभिन्न खालका भेला, छलफल गराएर प्रवद्र्धन गर्दथ्यौं । अहिले नेपालमा आएका पर्यटकलाई सकुशल उद्दार गरेर स्वदेश फर्काएर एउटा राम्रो छाप दिन सफल भएका छौं । कुनै पनि त्यसमा त्यसखालको काम सरकारले गर्दथ्यो भने नेपालमा त्यो काम पर्यटन बोर्डले गर्दै आएको छ । सबै पर्यटकलाई उनका देश सुरक्षित पठाउन बोर्डले प्रयास गर्यो । आफ्नो भूमिका पोजेटिभ रुपमा खेल्यो ।

अब हाम्रोमा पनि पर्यटन प्रवद्र्धन नयाँ ढंगले गर्नुपर्दछ । अब तयारी गर्नुपर्दछ । हामीले दिने सर्भिसलाई क्वालिटी बढाऔं, विदेशमा गएर प्रचारप्रसार गर्ने विधि परिवर्तन गरौं, नयाँ डिजिटल वेबाट प्रचारप्रसारको नयाँ अध्याय सुरु गरौं । अब चाइनामा प्रचारप्रसार गर्ने हो भने त्यहाँ कुन सोसल मिडिया लोकप्रिय छ, त्यसैको माध्यमबाट प्रचार गरौं ।

हामीले विदेश लेबर मात्रै पठाउँदै गएकोमा अब त्यहाँबाट टुरिष्ट लिएर आउनु पर्छ भनेर त्यतातिर पनि काम गर्यौं । त्यहीक्रममा दुई वटा देशका राजकुमार नेपाल आउनु भयो । त्यसले गर्दा नेपालप्रतिको चासो पनि बढ्दै गयो । कोभिडका कारण पहिलेका कार्यक्रम गर्न नसकेपनि नयाँ खालले नेपाललाई अगाडि बढाउने काम गरिरहेका छौं । त्यसमा चाहीँ सेफ्टी प्रोटोकल जारी गरेका छौं । संसारका सात राष्ट्रमा पर्छौं जसले पहिले सेफ्टी प्रोटोकल जारी गर्यो ।

अहिलेसम्म नेपालमा नेपालका आन्तरिक पर्यटकलाई पर्यटक मानिंदैन थियो । हामीले आन्तरिक पर्यटक नबढाउने हो भने सष्टेन गर्न गाह्रो हुन्छ भनेर आन्तरिक पर्यटनलाई बढावा दिने तर्फ पनि काम गरेका छौं । त्यही क्रममा हामी नेपालगन्ज पनि आएका छौं । त्यसैक्रममा पोखरा, खप्तड बढीमालिकाको प्रमोशनका लागि पुगेको थिएँ । यही बीचमा जाउँ पोखरा, जाउँ चितवन भन्ने अभियान चलायौं । पहिलको सोंचलाई परिवर्तन गरेर नयाँ ढंगले अगाडि बढिरहेका छौं ।

टूर दि ठाकुरद्वाराको प्रवद्र्धकको रुपमा बोर्ड छ । यतिबेला सीमा नाका पर्यटकका लागि मात्रै बन्द भयो, यसका लागि के गरिरहनु भएको छ ।

म यसको बारेमा जानकार छु । आजको दिनमा मैले नै भन्ने गरेको छु, संसारका अरु देश भन्दा भारतमा नै फोकस गर्नुपर्दछ । त्यसको विविध कारण छन् । हाम्रो बोर्डर नै भारतसँग जोडिएको छ । बोर्डर जोडिएको क्षेत्रमा नै ३० करोडको हाराहारीमा पपुलेसन रहेको छ । त्यसको केही प्रतिशत मात्रै नेपाल ल्याउन सक्यौं भने आज शिथिल भएको पर्यटन क्षेंत्र उकास्न सक्छौं । उनीहरु पनि धेरै टाढा भन्दा नेपाल त जाऊँ भन्ने सोच हुन्छ । भारतीयलाई अन्य देश जाँदा त्यहाँको प्रोटोकलको पालना, राहदानी लगायतले झन्झट हुनसक्छ । उनीहरुलाई नेपाल आउन धेरै सहज छ । अझ अहिलेको असहज अवस्थामा नेपालमा आउन सहज गरिदिने हो भने पर्यटक भित्र्याउन सकिन्छ । सरकारले आयात, निर्यातमा त फोकस गर्यो र त्यो सहज भयो अहिलेको अवस्थामा । तर, पर्यटक आउन भने समस्या छ । नाका औपचारिक बन्द भएपछि पोखरामा फुड फेष्टिबल हुँदा भारतीय पुग्नु भएको थियो । यो कतै खुला त कतै बन्द भयो । पर्यटकलाई त्यसले अप्ठ्यारो परिरहेको छ । क्लियर पोलिसी हुनुपर्यो सरकारको । बरु कोभिड परीक्षण गरेर भित्र्याउँ । त्यसका लागि पर्यटन बोर्ड तयार छ ।

अब कसरी पर्यटनलाई अगाडि बढाउने ?

संसारका सबै देशले आफ्नो देशको पर्यटन क्षेत्रका लागि योजना बनाएका छन् । सबैले आफ्नो अनुकल योजना बनाएका छन् । नेपाल र भारत दुवै तर्फ कोरोनाबाट अभ्यस्त भएको पाइन्छ । त्यहाँ र यहाँ दुवै तर्फ भीडभाडका कार्यक्रम भैरहेका छन्, माक्स लगाउन छाडिंदै गएको छ । त्यसैले अहिले गर्ने भनेको भारतीय पर्यटक भित्र्याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । चाइना तर्फको बोर्डर पनि बन्द छ । चाइना सरकारले नै आफ्ना नागरिकलाई देश छाडेर नजान भनेको छ । त्यसैले चाइनिज नेपाल आउने सम्भावना छैन । सम्भावना भनेको देश भारत नै हो । भैरहवाको विमानस्थल सञ्चालनमा आयो भने विभिन्न देशबाट त्यो रुपमा विदेशी भित्र्याउन सकिन्छ । त्यो नखुल्दासम्मको विकल्प भारत नै हो । त्यसका लागि बारम्बार सरकारसँग पोलिसी लेभलमा सरकारसँग कुरा गरिरहन्छौं । खासगरी मन्त्रालय सचिव बदलिइरहँदा पनि समस्या हुने गरेको छ । विज्ञ व्यक्ति हुने हो भने पोलिसी बन्न र बनाउन समस्या हुँदैन थियो होला ।

पर्यटन क्षेत्रलाई सिरियस्ली लिएको पाइँदैन । पर्यटन व्यवसायीले सरकारसँग धेरै आशा गरेको छैन । पोलिसी लेभलको आशा हो । त्यो भनेको कोरोना परीक्षण गरेर भएपनि पर्यटन भित्र्यायौं भन्ने हो । पाँच जना कर्मचारी खटाएर भिसा दिएर पर्यटन भित्र्याउन के समस्या छ ? मैले प्रयास गरिरहन्छु, यो निर्णय गरिदिऔं भन्छु, तर हुँदैन ।

सरकार पर्यटन व्यवसाय प्रति निरुत्साहित पाउँछु । व्यवसायीहरुले सरकारले किन सुन्दैन आन्दोलन गरौं भन्छन् । म एउटा अर्ध सरकारी निकायमा बसेको व्यक्तिले कसरी आन्दोलन बोकेर हिडौं ? पर्यटन व्यवसायीका आँखाबाट आँशु झरिरहेका छन् । भोलिका दिनमा लाखौं व्यवसायी सडकमा उत्रिए भने सम्हाल्न सक्ने अवस्था हुँदैन ।

अब के गर्नुपर्छ ?

पहिले त आगमन प्रोटोकललाई सहज बनाइनु पर्दछ । हामीले त्यसमा १२ वटा बूँदा क्लियर गरेर दिएका छौं । नेपाल पर्यटन बोर्डले नेपालसँग आबद्ध सबै संघ, संस्थासँग मिलेर प्रोटोकल बनाएको हो । दोस्रो आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने । त्यसका लागि सरकारबाट प्याकेज बनाइनु पर्यो । तेस्रो भनेको नेपालसँग राम्रो सम्बन्ध भएका देशलाई सरकारी स्तरबाट पोजेटिभ म्यासेज दिनुपर्दछ । साथै भारतीय सरकारसँगको बोर्डर मात्रै शतप्रतिशत खोलिदिने हो भने पनि धेरै सकारात्मक प्रभाव पर्दछ । सामान आइरहेको छ भने पर्यटन आउन रोकिदिनु भएन ।

बुटवल पश्चिम किन पर्यटन प्रवद्र्धनमा किन बोर्डको ध्यान पुग्दैन ?

अन्य ठाउँमा धेरै भएको छ । देशलाई डुलेर बुझेको छु । प्रदेश नं. १, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई विशेष रुपमा हेर्नुपर्छ भन्ने छ अब । त्यहाँका मानिसलाई व्यवसायिक बनाउनु पर्दछ । यी तीन प्रदेशमा भएका आहा भन्ने खालका प्राकृतिक सम्पदालाई विश्वको करोडौं जनसंख्या माझ पुर्याइनु पर्दछ । आजको प्राथमिकता त्यो क्षेत्रको विकासका लागि धेरै ती प्रदेशमा केन्द्रित छौं । यो क्षेत्रमा प्याकेज बनाएर पर्यटक ल्याउनु पर्छ भन्ने लाग्छ । आज आउने पर्यटक क्यासिनो मात्रै पुगेको पाइन्छ यस क्षेत्रबाट आउने । तीनलाई अलि माथि हिमालसम्म कसरी पुर्याउने भन्ने पनि सोंच राख्नु पर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया