आज विश्व क्यान्सर दिवस, एक बर्षभित्रै खजुरामा सबै सेवा

आज विश्व क्यान्सर दिवस विश्वभरी विभिन्न सचेतनाका कार्यक्रम गरी मनाइँदैछ । क्यान्सर दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिंदैछ । बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आज दिवसको अवसर पारेर निःशुल्क ओपिडि चेकजाँचको व्यवस्था गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीले जानकारी दिएका छन् । अस्पतालले दिवसका अवसरमा विद्यालय स्तरीय सचेतनाका विभिन्न प्रतियोगिता गरिएको विजयीलाई पुरस्कारको कार्यक्रम राखिएको केसीले जानकारी दिए । अस्पतालले कर्मचारीको स्वास्थ्यलाई ख्याल राख्दै दिवसकै अवसरमा ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरेको थियो । जसमा उत्कृष्टलाई आज नै पुरस्कार वितरण रहेको छ ।


पश्चिम नेपालगन्जमा खजुराको क्यान्सर अस्पताल पहिलो हो । महायज्ञबाट सुरु भएको क्यान्सर अस्पतालको परिकल्पना अहिले साकार हुँदै गएको छ । अस्पताल हाल क्यान्सरको सेकाइ बाहेक सबै सेवा उपलब्ध छ । तर, प्रचारको अभावमा अझै पनि अपेक्षित रुपमा क्यान्सर आशंकित बिरामी अस्पतालमा आएका छैनन् । त्यसैले अस्पतालले क्यान्सर अस्पतालको उपचारका लागि आशंकित बिरामीलाई आउन आव्हान गरिरहेको छ ।


क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई अनकोंलोजी भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारकालागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्यउपचार भन्ने वित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रुपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमैं पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन् ।


क्यान्सरका धेरै कारणहरु रहेको चिकित्सक बताउँछन् । क्यान्सरबाट बच्न व्यवस्थित जीवनशैलीले धेरै हदसम्म सहयोग पुर्याउने चिकित्सक बताउँछन् ।
खजुरा क्यान्सर अस्पतालका प्रमुख डा. कृष्ण आचार्यले क्यान्सरबाट जोडिन जंक फुड खान नहुने बताउँछन् । ‘प्राकृतिक खाना मात्रै खानु पर्दछ । पुस्तौंपुस्ता देखि चलि आएको खानेकुरा खानुपर्छ । तारेको चिल्लो खानेकुरा खानु हुँदैन । तारेको, चिल्लो खानेकुरा खानु हुँदैन । केमिकल, रासायनिक मल राखेको तरकारीको प्रयोग गर्नु हुँदैन,’ उनले भने, ‘धेरै घाममा बस्नु भएन । प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गराइ राख्नु पर्यो । विशेषगरी महिलाहरुले पाठेघरको मुखको क्यान्सरका लागि अनिवार्य रुपमा ३५ बर्षपछि अनिवार्य रुपमा पाठेघरको मुखको स्वाब परीक्षण, ३० बर्ष कटेका महिलाहरुले स्तनको परीक्षण ६/६ महिनामा गर्नुपर्यो । चुरोट, खैनी, गुटखा जस्ताको सेवन गर्नुभएन ।’ डा. आचार्यले पाठेघरको मुख्य क्यान्सरको परीक्षणका लागि आज निःशुल्क परीक्षणको व्यवस्था गरिएको पनि जानकारी दिए ।
खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेको अस्पतालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपतिले पश्चिम नेपालका नागरिक क्यान्सर पहिचान र निधानका लागि अन्त जानु नपरोस् भन्ने उद्देश्यले सञ्चालन हुँदै आएको अस्पताल आफ्नो लक्ष्य तर्फ उन्मुख रहेको जानकारी दिए ।

एकवर्षभित्रै खजुरामा क्यान्सरका सबै उपचार


डा. कृष्ण आचार्य
निर्देशक, सुशील कोइराला क्यान्सर अस्पताल

तपाईले क्यान्सर अस्पतालको जिम्मेवारी लिएपछिका उपलब्धी ?
मैले क्यान्सर अस्पतालमा असोज ५ गतेबाट जिम्मेवारी सम्हालेको हुँ । म आउने वित्तिकै अस्पताल हाताभित्र सरसफाई अभियान सुरु गरें । त्यहाँ पुरै जंगलको अवस्था थियो । दोस्रो भनेको गेटमा खटिने सुरक्षागार्डलाई शौचालयको व्यवस्था थिएन त्यो गरियो । अपरेशन थियटर बनेको तीन बर्ष हुँदा पनि अपरेशनको काम सुरु हुन सकेको थिएन । हामीले मंसिर ५ गतेबाट अपरेशन पनि सुरु गरेका छौं । अहिलेसम्म ३५ वटा अपरेशन हामीले गरिसकेका छौं ।
अर्को महत्वपूर्ण कुरा भनेको अस्थायी रुपमा दरबन्दी स्वीकृत भएर आएपछि हामीले करिब २५ जना नयाँ कर्मचारी भर्ना गरेका छौं । विज्ञ बोलाएर खटेर कुनै विवाद नआउने गरी कर्मचारी भर्ना गरेका छौं ।


ठूलो लगानी भएको क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरु हुन सकेको थिएन । थप ठूलो लगानी आवश्यक थियो । त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर निकै कसरत गर्यौं । अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसी, एकाउन्ट अफिसर, स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत नवराज गौतम लगायतको निरन्तरको प्रयास र योगदान स्वरुप बजेट पनि स्वीकृत भएर आएको अवस्था छ । मंगलबार मात्रै हामीकहाँ रेडियोथेरापी मेसिनका लागि पत्र आइसकेको छ । त्यो पनि एउटा ठूलो एचिभमेन्ट हो । यसको खरिद गरी जडान भई सेवा सुरु गर्न कम्तिमा एक बर्ष लाग्दछ । त्यो भयो भने क्यान्सरको उपचारको सम्पूर्ण विधि हामीसँग हुन्छन् र क्यान्सरका बिरामीले भरतपुर र काठमाडौं जानु नै पर्दैन ।


अहिलेपनि लगानी अनुसार प्रतिफल दिएका छौं त ?
ठूलो लगानी छ । त्यो लगानी अनुसार सेवा चाहिं सुरुमा प्रवाह भएको पाइँदैन । म आउँदा (असोज ५ मा) दैनिक बिरामीको संख्या १०÷१२ थियो । अनि प्रचारको अभाव भएको महसुस गरेर प्रचारप्रसारमा पनि जोड दियौं । प्रचार, प्रसार पछि ३०÷३५ जना बिरामी आउन थालेका छन् । अस्पताल स्थापनाको परिणाम बिस्तारै आउँदै छ । हामीले केही चोकमा पनि अस्पतालको बोर्ड राखेका छौं र राख्ने क्रममा छौं । ब्रान्डिङ्ग र प्रमोशनको पनि खाँचो छ । त्यसमा हामी लागेका छौं । कर्मचारीको स्वास्थ्यका लागि अस्पताल भित्रै ब्यामिन्टन मैदान स्थापना गरेका छौं, विहीवार पनि दिवसको अवसरमा पुरस्कार वितरण पनि गर्दैछौं ।


करार दरबन्दी त थप्यौं । अबको लडाई स्थायी दरबन्दी गर्ने पनि हो । चुनौति पनि रहेका छन् । अस्पताल फुल फेजमा जाला त एक बर्षमा ?
अस्पताल फुलफेजमा लैजाने हाम्रो प्रयास हो । त्यसका लागि पहिलो कुरा त भिष्टो प्याथोलोजी सेवा सुरु गर्न सकेका छैनौं अझै । यो राम्रो कुरा होइन । यो भनेको क्यान्सर निधानका लागि अत्यन्त जरुरी कुरा हो । त्यसको कारण के हो भने भिष्टोप्याथोलोजीका लागि माग गरिएको भएपनि कसैको पनि आवेदन परेन । बुधबार अन्तिम म्याद थियो । यहाँ जनशक्ति नभएको होइन । भएपनि उहाँहरु प्राइभेटमा काम गरिरहनु भएकाले आउन चाहनु भएन । तलब सुविधाले गर्दा त्यसमा आकर्षण नहुनु अर्को कारण हो । यहाँ काम गर्ने स्वास्थ्यकर्मीलाई टिकाइराख्नु अर्को चुनौति हो ।

नागरिकसँग तपाईंको अपेक्षा के हो ?
हाम्रो अपेक्षा भनेको रोगको पहिचान र निधानका लागि खजुरा क्यान्सर अस्पतालमा आइदिनुस् भन्ने हो । शंकास्पद बिरामी आउनु भयो भने हामीमा हौसला प्रदान हुन्छ । त्यसो भयो भने हामीले किनेका क्यामिकल खेर जाँदैनथे ।

समन्वय, सहकार्य र सहयोग

किस्मत कुमार कक्षपति, संस्थापक अध्यक्ष

के सोचेर क्यान्सर अस्पतालको परिकल्पना भयो खजुरामा ?

धार्मिक गुरु, प्रखरजी महाराजको प्रेरणा र संकल्पकर्ता गुरु दिनदयालबाट यसको विजारोपण भयो । उहाँहरुले धार्मिक कुराहरुले मात्रै समाज परिवर्तन गर्न सकिंदैन भन्ने प्रेरणा दिनुभयो । खजुरामा प्रसुति गृह निर्माण गर्ने हो कि भन्ने सोंच सुरुमा थियो । खासगरी मुस्लिम, मधेसी महिला जसलाई प्रसुतिका लागि अस्पताल लगिंदैन थियो । उनीहरुका लागि प्रसुति गृह बनाउने सोंच सुरुमा थियो । त्यो छलफल गर्दागर्दै प्रसुुति गृह होइन क्यान्सर अस्पताल नै खोलौं भन्ने लाग्यो ।


यहाँका मानिसहरु क्यान्सरको चेकजाँचका लागि काठमाडौं र भरतपुर जानु पर्ने बाध्यता थियो । त्यो बाध्यता किन नहटाउने भनेर हामीले धार्मिक सोंच अगाडि बढायौं । त्यही उद्देश्यले क्यान्सर अस्पतालको योजना अघि बढेको थियो ।
अहिलेसम्म आउँदा करिब ९९ प्रतिशत काम भएको छ । महायज्ञबाट सुरु भएको यो क्यान्सर अस्पताल नेपाल सरकारको गठन आदेशसँग सरकारको पूर्ण स्वामित्वमा रहेको छ । यसरी सरकारबाट सञ्चालन भएको पहिलो अस्पताल हो ।

लगानी अनुसारको प्रतिफल कहिले ?
अहिले लगानी अनुसारको प्रतिफल पाइराखेका छन् । हिजोको अवस्थामा यसलाई अली राजनीतिक रुपले हेरियो । जसले गर्दा बीच दुई बर्ष कार्यमा अली ढिलाई भयो । नाम परिवर्तनको सवालदेखि सांसदसमेत अवरुद्ध भयो । जसको कारण यो अपेक्षित रुपमा अगाडि बढ्न ढिलाई भयो । अब डाक्टरको दरबन्दी आइसकेपछि यो फुलफेजमा अगाडि बढ्छ । हामी कहाँ सिटिस्क्यान, अल्ट्रासाउन्ड, उच्च स्तरीय ल्याब, सुविधासम्पन्न अपरेशन थियटर गर्नेसम्मका काम भैसकेको छन् । क्यान्सरको सेकाइका लागि बंकर तयार भैसकेको छ । त्यसका लागि बम्बईको टाटा अस्पतालको स्टक्चर अध्ययन गरेर बंकर तयार गरेका हौं । अस्पतालमा अब आवश्यक लिनायक मेसिन हो । जुन क्यान्सरको सेकाइका लागि प्रयोग हुन्छ । त्यसका लागि पनि अर्थ तथा स्वास्थ्य मन्त्रालयमा पहल गर्यौं । बजेट निकासा भैसकेको छ । त्यो मेसिन आउने वित्तिकै क्यान्सरको उपचारका लागि कुनै बिरामी अन्त जानु पर्ने बाध्यता रहँदैन ।


स्थानीय सरकारले कसरी सहयोग गरेको छ अस्पताललाई ?
म त्यो अस्पतालको संस्थापक अध्यक्ष पनि हुँ । स्थानीय सरकार प्रमुखको हैसियतले अस्पतालका लागि सहयोग जुटाउन, फुलफेजमा सञ्चालनका लागि प्रयासरत रहेको छु । हालै २९ करोड ५० लाखको उपकरणका लागि बजेट सुनिश्चित भएको छ । अस्पतालका व्यवस्थापन अध्यक्ष भक्त बहादुर केसी, अस्पताल प्रमुख कृष्ण आचार्य र स्थानीय प्रमुख बीच राम्रो समन्वय भैरहेको छ । अस्पताललाई पूर्ण रुपमा सञ्चालनका लागि स्थानीय सरकार प्रमुख र संस्थापक अध्यक्षको हैसियतले मेरो पनि दायित्व छ र त्यो दायित्व समन्वय गरेर अगाडि बढाउँदै लगेको छु ।

प्रतिक्रिया

प्रतिक्रिया