क्यान्सर अस्पताललाई लायन्सको करोड

बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालका लागि लायन्स क्लब इन्टरनेशनलबाट १ करोड १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । अस्पताल स्थापनाकालदेखि नै उपकरणका लागि सहयोग पहल गर्दैै आएको लायन्स क्लब अफ नेपालगन्ज खजुराको प्रस्तावलाई स्वीकृत गर्दै लायन्स क्लब इन्टरनेशनलले उक्त रकम सुनिश्चित गरेका हो ।

‘यो हाम्रा लागि धेरै ठूलो उपलब्धी हो’, लायन्स क्लब अफ नेपालगन्ज खजुराका पूर्व अध्यक्ष ऋषिराम सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि यस क्लबका चाटर्ड प्रेसिडेन्ट समेत रहेका खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको निकै महत्वपूर्ण भूमिका रहेको छ ।’

लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर सञ्जय खेतान, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर शेम शाक्य, मधुसदुन शर्मा रिजाल लगायतको निरन्तरको पहलबाट प्रस्ताव स्वीकृत हुन बल पुगेको हो । ‘पूर्व अध्यक्ष लेखनाथ सापकोटा, गोपाल गिरी, विवेक लामिछाने, दुर्गालाल विक, रोशन सापकोटा, वर्तमान अध्यक्ष प्रेम खरेल, डिपिआरका लागि निरन्तर लागेका इन्जिनियर खिमलाल बराल लगायतको कसरतले रंग ल्याएको छ’, पूर्व अध्यक्ष सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘अब काम अगाडि बढाउनु पर्छ ।’

लायन्सले पोष्ट प्यासेन्ट हाउसका लागि ९५ हजार अमेरिकी डलर सहयोग स्वीकृत गरेको हो । उक्त परियोजनाका लागि आवश्यक रकम मध्ये ७५ प्रतिशत लायन्स क्लब इन्टरनेशनलबाट र २५ प्रतिशत स्थानीय स्तरमा जुटाउनु पर्ने सम्झौता रहेको छ ।

‘डिपिआर तयार भएकाले लायन्सले अस्पतालसँग एमओयू गरेर तत्काल काम अगाडि बढाउन सकिन्छ’, खजुरा गाउँपालिकाका प्रमुख कक्षपतिले भने, ‘लामो समयदेखि गरिएको प्रयासले सार्थक परिणाम ल्याएको छ ।’ अस्पतालमा विशेष गरी उपचारका लागि आउने बिरामीहरुलाई उपचार प्रक्रियामा पालो पर्खिदा बस्ने व्यवस्थाका लागि भवन निर्माण गर्ने योजनाका लागि डिपिआर समेत तयार गरिसकिएको लायन्स क्लब अफ नेपालगन्ज खजुराले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया