आज शहिद दिवस । देशको मौलिकता सहितको नेपालीहरुको हितमा गरिने शासनको परिकल्पना सहित आफ्नो जीवनको निशर्त आहुती दिएका नेपाल आमाका सन्तानहरुको सम्मानमा आजको दिन । बिक्रम सम्बत २०१२ साल देखि नै माघ १६ लाई शहिद दिवसको रुपमा मनाउँदै आइएको छ । नेपाल त उसै पनि वीरहरुको भूमि हो । यहाँ त देशको सीमा रक्षाको लागि, नेपाल र नेपालीत्वको रक्षाका लागि, नेपालको धर्म सँस्कृतिको रक्षाको लागि हजारौंले बलिदानी दिएका छन् । तर उनीहरुको कहिँ कतै लेखाजोखा छ भन्न सकिने अवस्था छैन । नेपाल कहिल्यै पनि प्रत्यक्ष रुपमा विदेशी उपनिवेश नभएकाले देशलाई विदेशीको दासत्वबाट मुक्त गर्न कुनै आन्दोलन गर्न परेको छैन भनेर पढाइएको छ । पछिल्लो पुस्ताले र वर्तमानमा नयाँ पुस्ताले पनि पढ्दै गरेको त्यति मात्रै हो । तर पनि यहाँ शहिद दिवस भने मनाइन्छ । त्यो पनि कसैले कसैको ताजपोशीका लागि आन्दोलन गर्दा मरेको कारण उहि समूहले त्यस किसिमका मृतकहरुलाई ठूला शहिद भन्दै चर्को भाषण गर्ने गरेको पनि पाइन्छ ।


नेपालमा विदेशीको शासन नरहेता पनि १०४ बर्ष सम्म देशभित्र कै शासकहरुबाट जहानिया शासन चलाइएको थियो । जसलाई राणा शासन भनिन्थ्यो । किन कि त्यहाँ राणाहरुको बोली नै कानून बन्ने र उनीहरुका भाइभारदाराहरु मात्रै शासक बन्ने गरेका थिए । शाहवंशीय राजाहरुलाई खोपीभित्र थुनेर एकछत्र गरिएको शासनलाई विरोध गरेकाहरु उनीहरुबाट मारिन्थे । यस्तै उनीहरुको शासनको विरोध गर्नेहरु मध्येका पहिला व्यक्ति लखन थापा थिए । जसले जंङ्ग बहादुर राणाको बिरुद्धमा प्रचार प्रसार गरेका कारण बिक्रम संम्बत १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्डाएर मारिएको थियो ।


तत्कालिन राणा शासनको बिरोधमा प्रजापरिषद गठन गरेर राजा त्रिभुवनसँग सम्पर्क गरेको आरोपमा तत्कालिन राणा शासनले बिक्रम सम्बत १९९७ साल माघ १२ गते धर्मभक्त माथेमालाई काठमाण्डौंको सिफलमा फाँसी दिएको थियो । यसै गरि राणाहरुको बिरुद्धमा लागेको, प्रजापरिषदका अर्का सदस्य दशरथ चन्द र गंगालाल श्रेष्ठलाई बिक्रम संम्बत १९९७ साल माघ १५ गतेका दिन शोभा भगवतीमा गोली हानी मारेको थियो । सँस्कृत विद्यामा शास्त्री गरेका, इलाहबादमा रहँदा समाज सुधारक मदनमोहन मालवीयको संगतमा रहेका र पञ्जाब विश्वविद्यालयबाट अँग्रेजीमा स्नातक गरेका विद्धान व्यक्ति शुक्रराज जोशी जसलाई सँस्कृतमा शास्त्री गरेका कारण शुक्रराज शास्त्री भनिन्थ्यो । आर्यसमाजमा सक्रिय रहेका नेपालभाषाका साहित्यकार शुक्रराज शास्त्रीलाई पनि राणाहरुले बिक्रम संम्बत १९९७ साल माघ ६ गते टेकुमा रुखमा झुण्ड्याएर मारेका थिए ।


यी चार जनाले तत्कालिन राणा शासनको ज्यादतीको बिरुद्धमा आवाज उठाएकाले मृत्युवरण गर्न परेकोले शहिदको रुपमा सम्मान गर्न लागिएको हो । यद्दपि उनीहरु शहिद हुनुभन्दा ६४ बर्ष पहिला नै राणहरुबाट झुण्ड्याइएका लखन थापा मगरले शहिदको दर्जा निकै पछि बिक्रम सम्बत २०५६ सालमा मात्र पाए । यसरी नेपालका शहिदहरुमा थप एकजनाको नाम थपिएको थियो । तर यस बीचमा राणाहरुको बिरोध गरेका कारण के कति मारिए भन्ने कुनै लेखाजोखा नै छैन ।
२०४६ सालमा नेपालमा चलेको पञ्चायत शासनको बिरोधमा कुनै न कुनै कारणबाट मृत्युवरण गरेका झण्डै साढेदुई दर्जन व्यक्तिहरुलाई पनि जनआन्दोलन भाग–१ का शहिद भनियो । यसैगरि २०५२ साल बाट चलेको नेपाल कै पार्टीहरुले चलाएको शासन बिरुद्धको हिंसात्मक आन्दोलनमा सरकारी पक्षबाट मारिएका भनिएका हजारौं राजनीतिक कार्यकर्ताहरुलाई पनि शहिदको दर्जा दिइयो भने बिद्रोहीका तर्फबाट काटिएका, झुण्ड्याइएका गोली ठोकी मारिएकाहरु शहिदको सुचिमा पर्न सकेनन् । यद्दपि कतिपय दुर्घटनामा परेर मरेकाहरु, पार्टीको मान्छे भएकै कारण कुनै रिसइ्वी झैझगडामा परि मरेकाहरु समेतलाई उक्त पार्टी सत्तामा रहेका बेला शहिद घोषणा गर्दै १० लाख बाँड्दै गरेको भन्ने पनि चर्चामा नआएका होइनन् ।


त्यसपछि नेपालमा क्षेत्रीयताको कित्ताकाट र घृणाबादको आन्दोलन गरेर कर्सैको राजनीतिक रोटी सेक्न प्रयोग गरिएका जनताहरुको पनि मृत्यु भयो उनीहरुलाई पनि त्यहि शहिदहरुको सूचीमा समावेश गरियो । यहाँसम्म आइपुग्दा त शहिद शब्दको नै परिभाषा फेरिइसकेको छ । अब त नेपालमा भएका साना ठूला आन्दोलनहरु हुन या पार्टीहरुले आयोजना गरेका रैली वा भेलामा भएका दुर्घटनाहरु त्यसमा जुनकुनै कारणले ज्यान गुमाउनेहरु शहिदको दर्जामा परेपछि शहिदको महत्व र शहिद दिवस प्रतिको सम्मान जनस्तरमा खासै रहन छोडेको छ भने सरकारले देखाउनका लागि मात्रै भएपनि अलिकति बजेटको राइँफाँइ गर्ने गरेको छ । यस्तै आज पनि पक्कै हुनेछ । पार्टीहरुले अलग अलग कोठाहरुमा आ आफ्ना कित्ताका शहिदलाई सम्मानका शब्दहरुको बाढी ल्याउने छन् ।


श्हिद कस्तालाई भन्ने बारेमा अब नेपालको परिप्रेक्षमा खासै ठोस परिभाषा रहेन भने कसले कसलाई शहिद भनेर मान्ने भन्नेमा पनि निकै विभेदकारी प्रचलन चलाइएको छ । कसैले आफनो जातीको भएको कारण शहिद मान्ने त कसैले आफ्नो संगठनको भएका कारण शहिद मान्ने प्रचलनसम्म पनि हुन थालेको व्यवहारले पनि देखाएको छ । यहाँ त को के का लागि मर्यो या कसरी मर्यो भन्ने कुराको अहिले न त कुनै लेखाजोखा छ न कुनै एकिन तथ्याङ्क नै । मात्रै ज्ञात अज्ञात शहिद भनेर एउटा शहिद प्रति सम्झना गरेको भन्ने सम्मका झाराटराइ बाहेक केहि पनि रहेको छैन ।


संसारमा शहिदको परिभाषा अर्कै रहेको छ । आफ्नो देशको लागि स्वतन्त्रताको आन्दोलनमा मरेकाहरु, देशलाई गुलामीबाट मुक्त गर्न लाग्दा मरेकाहरु, विदेशी सेनासँग लड्दै गर्दा वीरगति प्राप्त गरेकाहरु देश र जनहीतका लागि वा देशको मूल धर्म सँस्कृति भाषा र सभ्यतालाई बचाउनका लागि संघर्ष गर्दा जीवन अर्पण गरेकाहरु शहिदको दर्जामा पर्ने प्रचलनको ठाडै खिल्ली उडाएर शहिद शब्द कै अपमान गर्न नेपालका राजनीतिक दलहरु लागे भने आफ्नो पार्टीको आन्दोलनमा रमिता हेर्न आएको वा बाटो हिँड्दै गरेको कारण आन्दोलनमा मृत्युको संख्या बढाएर आन्दोलन ठूलो भएको भन्ने देखाउन घोषणा गरिएका शहिदहरुको लर्कोमा वास्तविक शहिदहरुको उपेक्षा पक्कै भएको छ भन्न सकिन्छ । यहाँ त आजसम्म निष्पक्ष भएर वास्तविक रुपमा देशको मौलिकताको रक्षा, देशलाई कुनै नयाँ खोजबाट नयाँ उँचाइमा पुर्याउँदा भएको घटनामा परेको आदी कारणबाट शहिद बन्ने गरेको उदाहरण छैन । त्यसैले पनि यहाँ तेरा शहिद र मेरा शहिदको दोहरी पनि कहिले कहिँ सुन्न पाइन्छ । यदि यिनीहरु कै कुरालाई नै मान्ने हो भने पनि नेपालको शहिद को हो त भनेर सोंच्नै पर्ने हुन्छ ।


नेपालमा अहिले फेरि अर्को तानाशाह आयो, सत्ताबाट यसलाई हटाएर मलाई सत्तामा राख्नुपर्छ भन्ने आन्दोलन चलेको छ । बेलाबेलामा आफु तानाशाहको बिरुद्ध लडेको भन्नेहरु नै मौका पाउनासाथ आफै पहिलाको भन्दा खतरनाक तानाशाह भएर जागेका छन् । यसमा पनि यदि कोहि कुनै रमिता हेर्न गएका बेला या अर्को कुनै रोगव्याथी या चिसोका कारणले मरेछ भनेपनि अहिले सडकमा भएकाहरु सत्तामा पुग्ना साथ शहिदको तालिकामा नाम थपिने छ । यहाँ त शहिद बन्न देशको लागि योगदान गर्न खासै आवश्यक छैन भन्दा पनि हुन्छ । एउटा पार्टीको सत्ता आउँदा अर्को पार्टीले आन्दोलन गर्ने या फेरि ढुङ्गा हान्ने टायर बाल्ने र मेरो नेताले सत्ता पाउनु पर्छ भन्दै गर्दा शहिदको कोटामा पर्ने अवसर भै हाल्छ । यो जस्तो शहिद शब्द कै अपमान केहि पनि हुन सक्दैन ।

नेपाललाई आजको नेपाल बनाउँदा के कति वीरहरुले ज्यान गुमाए, कस्ता कस्ता आपतबिपतहरु सहेर आज पाइलै पिँच्छे कार्यकर्तालाई शहिद बनाउने अवसर आएको हो । त्यस्ता वीरहरु, भोटसँग लडेर या अँग्रेजसँग लडेर या फेरि विदेशीको नाङ्गो हस्तक्षेपका बिरुद्ध लडेर नेपालको सार्वभौमसत्ता अक्षुण राख्ने नेपालको स्वाभिमान कायम राख्ने पूर्खाहरुलाई आजको यो बलिदानी दिवसमा स्मरण गर्न हिच्किचाउन हुँदैन । जो कोहि नेपालीले आज शहिद दिवसको महत्वलाइ पार्टीको वाद वा कुनै नेताको ताजपोशीका लागि मात्रै सडकमा उत्रेर उपेक्षित शहिदको दर्जामा जानु भनेको नेपालको अस्तित्व नै स्वीकार्नु हो । आज देशको धर्म सँस्कृति भाषा र सभ्यता संकटमा छ । देशमा विदेशी वादले नेपालीत्वको चिरहरण गरिरहेको छ । नेपालको आफ्नो मौलिकता मासिँदै छ । यसलाई कसरी बचाउने भन्ने चिन्तन मनन् गर्न जरुरी छ । यसको संरक्षणले मात्रै नेपालको अस्तित्व रहने छ । यसकालागि आज नेपाल आमाका सपुतहरु जाग्न जरुरी छ । युवाहरुले बिउँझिन जरुरी छ । मात्रै केहि परिवारवाद र आफन्तको स्वार्थको रक्षाका लागि आफ्नो ताजपोशीको हारगुहार गर्नेहरुका लागि बाटोमा भीड जमा गर्न दौडिनेहरुलाई मात्रै शहिद नबनाऔं ।


आजको यस शहिद दिवसको अवसरमा यो देश नेपाल बनाउन, नेपालको एकिकरण गर्न र नेपाली अस्मिताको नेपालीत्वको रक्षा गर्दा आफ्नो ज्यानको आहुती दिने वीर शहिदहरु, राणा शासनको बिरुद्ध आवाज उठाउँदा शहिद भएका लखन थापा मगर, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत असल नियतले नेपालको भलोको लागि होमिँदा मृत्युवरण गर्ने ज्ञातअज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया

प्रतिक्रिया