बाँके नरैनापुर गाउँपालिकाले हालै मात्र एक प्रतिष्ठित नेता एवं अभिभावक गुमाएपछि स्थानीय क्षेत्रमा निजको अभिभावकत्व बारे चर्चा परिचर्चा उत्तिकै छ । नेकपा नेता र स्थानीय अभिभावकको हैसियतमा रहेका स्वर्गीय दिनेशचन्द्र यादव बारे दैनिक नेपालगन्जसँग अधिकांशले ‘अभिभावक गुमाएको’ प्रतिक्रिया दिए ।
२००७ सालमा जन्मिएका नेता यादव १८ वर्षको उमेरदेखिनै राजनीतिक यात्रा सुरु गरेका थिए । हाल नरैनापुर गाउँपालिका वडा नं.२ तत्कालिन लक्ष्मणपुर गाबिसमा जन्मिएका उनी २०३४ सालमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाउँकै प्रधानको रुपमा निर्वाचित भए ।
पाँच वर्षे कार्यकाल पछि उनी राप्रपाकै जिला पंचायत सदस्यको रुपमा चयन भए । किसान संगठनको जिल्ला सभापति समेत हुने अवसर पाएका नेता यादव राप्रपाबाटै २०५१ सालमा २०५१ सालमा सांसद निर्वाचनमा भाग लिए ।
राजनीतिमा होमिएका यादव पटक पटकको हारका बावजूद पनि मानसिक रुपमा कहिलै हारेनन्, उनी २०५४ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरि राजनीतिक यात्रालाई नयाँ आयाम दिएका थिए । एमालेबाट पनि उनले २०५६ सालमा सांसद पदमा उम्मेदवारी दिएपनि सफलता हात परेन । २०७० सालमा उनी पहिलो पटक संविधान सभा सदस्य पदमा निर्वाचित भए ।
सोही क्रममा संविधान निर्माण प्रक्रियामा भूमिका निर्वाह गरे संगै नेपाल सरकारको खानेपानी राज्यमन्त्री भएका नेता यादवले आफ्नो निर्वाचन क्षेत्रको हरेक वडामा कम्तिमा एउटा खानेपानी ट्यांकीको स्थापना गरेका छन् ।
२०७७ मा पार्टीले यादवको राजनीतिक लगनशीलता र पार्टी प्रति आस्थाको पुनः सम्मान गर्यो । भूमि समस्या समाधान आयोगको केन्द्रिय सदस्य पदमा मनोनित भएपछि यादवले स्थानीय क्षेत्रमा ब्याप्त सुकुम्बासी र भूमिहीनहरुको समस्या समाधानका लागि पहलमा सक्रिय देखिए । त्यहि राजनीतिक सक्रियताका क्रममा नेता यादवलाई कोरोना भाइरस संक्रमण हुन पुगेको उनका २०७७ साल माघ १ गते काठमाडौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा स्वर्गवास भएका हुन् ।
‘स्वास्थ्य सुधार भइरहेको जानकारी दिएपछि हामी ढुक्क थियौं, भूमि समस्या समाधान आयोगका सदस्य यादवका निजी सचिवसमेत रहेका नेकपाका जिल्ला कमिटी सदस्य अरुण यादवले दैनिक नेपालगन्जसँग भने, ‘चिकित्सकले श्वासप्रश्वासमा समस्या देखाएका थिए, अन्नतः बचाउन नसकिएको जानकारी दिए ।’ ‘अन्तिम समयसम्म जिल्ला र जनताका लागि चिन्तित अभिभावक गुमाइयो,’ युवा नेता यादवले भने ।
स्वर्गीय यादवका ५ छोरी र ४ छोरा छन् । उनको निधनसँगै नरैनापुर क्षेत्रमा नेकपा समाप्त भएको कतिपय विपक्षी नेताहरुको तर्कका बीच पछिल्लो समय उनका साइला छोरा विक्रम यादवले राजनीतिक यात्रालाई अघि बढाउने उद्घोष गरेका छन् । बाबुको राजनीतिक विरासत थाम्न खोजेका विक्रमले यसअघि गाउँपालिका अध्यक्ष पद्को निर्वाचनमा भाग लिएपनि सफलता हात लागेको थिएन । ‘बुबाको आशीर्वादले राजनीतिमा अघि बढेको छु,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै बिक्रमले भने, ‘पार्टी प्रति संधै इमानदार र श्रद्धावान भइ काम गर्ने प्रण लिएको छु ।’
नेता यादव नरैनापुर गाउँपालिका मात्रै नभई सिंगो राप्तीपारि क्षेत्रको अभिभावकको रुपमा सक्रिय राजनीति गर्दै आएका थिए । उनको निधनले पक्ष विपक्ष नभई पूरै क्षेत्रलाई नै मर्माहत भएको छ ।
मंगलवार यादवको निवास लक्ष्मणपुरमा आयोजित शान्ति भोगमा सहभागी अधिकाँश ब्यक्तिहरु राजनीतिक विषयलाई लिएर चिन्तित थिए । नेकपा नेता केशवराम यादवले आफुहरु पार्टीको मात्र नभई आफ्नो स्थानीय मुखियानै गुमाएको बताए ।
‘नरैनापुरमा यतिबेला हरेक घरमा दिनेशचन्द्र यादवको सम्झना र सम्मानमा शोकको दियो बलेको छ,’ लामो समयसम्म यादवको निजी सचिवालय सम्हालेका सोहन यादवले दैनिक नेपालगन्जसँग भने, ‘हुलाकी सडकका लागि तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग भारतको भरोसा नगरि आफै नेपाल सरकारले बनाउनुपर्छ भनेर पहिलो पटक दृढतापूर्वक कुरा राख्ने उहाँ (दिनेशचन्द्र) हो ।’ प्रतिनिधि सभामा निर्वाचित भएपछि राप्तीपारिमात्रै नभइ सिंगो बाँके जिल्लाको विकासमा निरन्तर लागिरहेका यादवलाई नरैनापुर क्षेत्रका जनताले सडकमा हिंड्दा होस् वा गुड्दा, विद्युतको उज्यालो बाल्दा होस् वा स्वच्छ पानी पिउँदा सदैव सम्झिरहने उनको भनाइ छ ।