बाँकेमा आजबाट कोभिड विरुद्ध पहिलो चरणको खोप

बाँकेलाई १७ हजार र बर्दियालाई ४ हजार ३ सय ६० डोज उपलब्ध

बाँकेमा आज बुधबारबाट कोभिड विरुद्धको खोप (कोभिसिल्ड) लगाउन सुरु गरिने भएको छ । आज भेरी अस्पताल नेपालगन्जमा औपचारिक कार्यक्रम बीच खोप लगाउने कार्यको सुरुवात गरिंदैछ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले खोप लगाएर कोभिड विरुद्धको पहिलो चरणको खोप लगाउने कार्यको सुरुवात गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले जानकारी दिएका छन् । आज भेरी अस्पतालका चार बढीलाई खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

भारतबाट प्राप्त कोभिडको भ्याक्सिन लुम्बिनी प्रदेश हुँदै मंगलबार जनस्वास्थ्य कार्यालय नेपालगन्ज आइपुगेको हो । स्वास्थ्य कार्यालय नेपालगन्ज बाँकेका प्रमुख धीरजंग शाहले पहिलो चरणमा बाँकेका लागि १७ हजार डोज कोभिसिल्ड प्राप्त भएको जानकारी दिए । खोपका लागि बुटवल गएका उनी मंगलबार नेपालगन्ज फर्किएका हुन् । बर्दियाका लागि ४ हजार ३ सय ६० डोज खोप उपलब्ध भएको बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइनेछ । बाँकेमा प्राप्त खोप ७ हजार ५ सयलाई दिने तयारी रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख शाहले बताएका छन् । त्यसका लागि तालिका र खोप लिने व्यक्ति समेत तय गरिएको छ । यद्यपि, खोप सम्बन्धी भ्रमका कारण केहीले खोप अस्वीकार गर्न सक्ने सम्भावना पनि रहेको छ । जनस्वास्थ्य प्रमुख शाहले खोपका लागि प्रत्येक पालिकाका तोकिएका व्यक्तिलाई सम्पर्क गरी बोलाउने जानकारी दिएका छन् । उनले पहिलो चरणको डोज दुई साता भित्र सकिने अनु्मान गरेका छन् ।

भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया