पहिलो चरणमा बाँकेमा १० हजारलाई खोप माग

कोभिड–१९ विरुद्धको खोप शनिबारदेखि सरकारले प्रदेश पठाउन थालेको छ । बाँकेमा १० हजार जनाका लागि २० हजार डोज खोप माग गरिएको स्वास्थ्य कार्यालय नेपालगन्जका प्रमुख धिर जंग शाहले जानकारी दिएका छन् । ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोभिड विरुद्ध काम गर्ने फ्रन्टलाइनरहरुलाई खोप लगाइनेछ’, शाहले भने ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड विरुद्धको खोप लगाउन सातवटै प्रदेशमा शनिबार पठाउन सुरु गरिएको हो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रदेशमा प्राप्त हुने खोप आवश्यकता अनुसार प्रदेशबाट जिल्लामा वितरण गरिनेछ । आज आइतबार सम्म सबै प्रदेशमा खोप पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताएको छ । उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तििमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई प्राथमिकतामा राखेर दिइनेछ ।


दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । भारत सरकारले गत बिहीबार अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।


मन्त्रालयका अनुसार डा तारानाथ पोखरेललाई प्रदेश १, डा मदनकुमार उपाध्यायलाई प्रदेश २, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ । उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको छ । नेपालगन्ज र सुर्खेतमा ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ । जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया