बाँके : निर्वाचन तयारीमा जुट्यो आयोग

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालय बाँकेले आवश्यक तयारी थालेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान स्थल/केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो ।

निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल सुरुवात गरेको छ । कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । यदि कसैले झुट्टा विवरण दिई नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेदेखि दाबी विरोधसम्मका कार्य सम्पन्न गर्नुपर्नेछ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले मतदाता नामावलीमा नामदर्ता कार्य बन्द गरेको छ ।

निर्वाचन कार्यालय बाँकेका प्रमुख खुम प्रसाद सुवेदीले मतदान नामावली अद्यावधिकका लागि माघ १५ गते सूचना प्रकाशित गर्दैछ । उनका अनुसार मृत्यु, बसाइसराईलगायतका कारण मतदाताको विवरण हटाउनेदेखि नामावलीमा रहेका त्रुटीहरु सच्याउन माघ १६, १७ र १८ गते प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । यसका लागि निर्वाचन कार्यालयले बाँकेका आठ वटै स्थानीय तहबाट एक÷एक जना कर्मचारीलाई खटाउँदैछ ।

निर्वाचन कार्यालयले गत पुस २६ गते मतदान स्थल÷केन्द्र पुनरावलोकनसम्बन्धी बैठक बसेको जानकारी दिएको छ । प्रशासनका पदाधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरिएको हो । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगको निर्देशनमा गत पुस ५ गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन कार्य बन्द गरेको थियो । वि.सं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३६ वटा मतदान स्थल रहेको निर्वाचन कार्यालय बाँकेका प्रमुख सुवेदीले जानकारी दिए ।

‘बैठकमा आएको सुझाव अनुसार निर्वाचन स्थल र त्यस अन्तर्गत केन्द्र हेरफेर, थपघट हुनसक्छ’, उनले हेरफेर तथा थपघटका केही सुझाव प्राप्त भएको जानकारी दिंदै उनले भने, ‘उक्त निर्णय अब बस्ने बैठकले लिनेछ ।’ सामान्यतया १ हजार मतदाता बराबर १ मतदान केन्द्र बनाउने गरिन्छ । प्रमुख सुवेदीले निर्वाचन कार्यालयबाट सञ्चालन हुने कार्यक्रममा सुरक्षाका लागि यथोचित व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भैरहेको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया