
बाँकेको साहित्य र साहित्यिक गतिविधिमा महानन्द ढकाल चिनाउनु पर्ने नभै चर्चा गरिरहनुपर्ने नाम हो । कोहलपुर नगरपालिका– १२, का स्थायी वासिन्दा ढकाल पिता तुलसीराम ढकाल र माता पवित्रा ढकालका सन्तानका रुपमा पञ्चमुल–७ स्याङ्गजामा २०३२ मार्ग ५ गते जन्मिएका हुन् ।
कविताबाट साहित्य लेखनमा चिनिएका ढकालको पहिलो प्रकाशित रचना ः आमा (सृजना साहित्यिक पत्रिका) प्रकाशित भएपछि खण्डित आत्मा (गजल संग्रह २०५८),उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु ( गजल सङ्ग्रह २०५९),अव्यक्त प्रत्याशा (गजल सङ्ग्रह २०६३), घाम उदाए (हाइकु सङ्ग्रह २०६८) सिमाना ( मुक्तक सङ्ग्रह २०७७ ) कृतिकै रुपमा प्रकाशित भए ।
साहित्य सेवामा लागेबापत दर्जनबढी सम्मान र पुरस्कारबाट प्रसस्ती कमाएका उनले लेखनसँगै सम्पादनका जिम्मेवारी पनि सम्हालेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्षका रुपमा उनै महानन्द ढकालसँग दैनिक नेपालगन्जले सामयिक संवाद गरेको छ । नेतृत्व हस्तान्तरणको मनःस्थितिमा रहेका ढकालसँग हाम्रो पूर्णिमाको चौथो साधारण सभाको सन्दर्भसँग जोडिएर गरिएको संवाद संक्षेप आजको अंकमा ।
बाँकेको साहित्यिक विकासक्रमलाई महानन्दले कसरी नियालिरहेको छ ?
बाँकेको साहित्यिक इतिहासको खोज अनुसन्धान भइरहेको छ । अहिलेसम्म त्यस्तै ७० ÷८० वर्ष पहिलेसम्मको इतिहास सुन्न र पढ्न पाइएको छ । नेपाली साहित्यको तुलनामा ऊर्दु साहित्य जेठो देखिएको छ । भाषा साहित्यका लागि विगतदेखि नै विभिन्न पहलहरु हुँदै आएका छन् । पछिल्लो तीनदसकदेखिको सक्रियता बढी नै छ ।
५० को दशकदेखि बाँकेमा थुपै साहित्यिक संघ संस्थाहरु स्थापना भएका छन् । अहिले पनि एक दर्जन बढी साहित्यिक संघ सस्थाहरु क्रियाशील छन् । केही संस्थाहरु हतारमा जन्मिए र हतारमै बिलाए पनि । विशेष गरी बाँकेका मुख्य तीन केन्द्र कोहलपुर, नेपालगन्ज र खजुरालाई केन्द्रबिन्दु बनाएर साहित्यिक संस्थाहरु क्रियाशील रहँदै आएका छन् । ऊर्दु र अवधि साहित्यिक संघ संस्थाहरु समेत बाँकेमा क्रियाशील छन् । आजभोलि त कतै न कतै केही न केही साहित्यिक गतिविधिहरु भइनै रहेका छन् । यस्तो लाग्छ बाँकेको साहित्यिक सक्रियता तुलनात्मक रुपमा राम्रो छ ।
तपाईं आफ्नो साहित्यिक सक्रियतालाई चाहीं कसरी प्रस्तुत गर्नुहुन्छ ?
ः लेखनको हिसाबले ४० को दशकदेखि क्रियाशील छु । साहित्य मेरो रहरको विषय हो । यो जीवनपर्यन्त रहिरहनेछ भन्ने लागेको छ । चालिसको उत्तरार्धदेखि मुक्तक जस्ता छोटा कविताहरुबाट मेरो लेखन सुरु भएको भए पनि गजल, मुक्तक, हाइकु, कथा, निबन्ध र नियात्रा हुँदै उपन्यासतिर लम्कीरहेको छ । लेखनका साथसाथै साहित्यिक पत्रपत्रिकाको सम्पादन र साहित्यिक कार्यक्रम सञ्चालन गर्दै दिनहरु बितिरहेका छन् । मेरो रोजिरोटीका लागि खर्च हुने समय बाहेकको खाली समय साहित्यप्रति नै समर्पित रहँदै आएको छ ।
बाँकेमा साहित्यिक संघसंस्थाहरु एकीकृत र दीर्घकालीन प्रभावका लागि सामुहिक रुपमा अगाडि बढ्न नसकेको हो ? कि केही समस्या छ ?
ः मनमा लागेको कुरा हो यो । पचासको पूर्वरार्धदेखिनै म बाँकेको साहित्यिक गतिविधिसङ्ग नजिकको सम्बन्ध राख्दै आएको छु । यो बीचमा पनि दर्जनांै साहित्यिक संघ संस्था जन्मिए र हराए पनि । अहिले पनि दर्जनभन्दा बढी संस्थाहरु क्रियाशील छन् । कति संस्थाहरु त छौं है भन्नका लागि मात्रै पनि छन् ।
यहाँका साहित्यिक संस्थाहरुको संस्कार परम्पराबादी रहँदै आएको छ । सबैका कार्यालयहरु झोलामा छन् । भाषा, साहित्य र कलाको उत्थानका लागि स्थानीय तहहरुले लगानी गर्न सक्ने र गर्नु पर्ने कुरा संविधानमा समेत उल्लेख छ तर यो संवैधानिक अधिकार हामीले उपयोग गर्न सकेका छैनौं यसको मुख्य कारण हामी कहाँ धेरै संघ संस्था हुनु नै हो । धेरै बिराला भए भने मुसा मार्दैनन् भन्ने उक्तिसँग हाम्रो कायैशैली ठ्याकै मेल खाएको छ हामी कहाँ । कार्यशैली उस्तै छ, उद्देश्य उस्तै छ, कार्यक्रम सञ्चालन गर्ने क्षेत्र एउटै छ, यस्तो अवस्थामा धेरै संस्था भइरहनु जरुरी छैन भन्ने लाग्छ मलाई ।
सकभर सबै संस्थाहरु एकीकृत भएर एउटै संस्था बन्न सके राम्रो हुने हो यदि यो सम्भावना रहँदैन भने पनि प्रत्येक भाषा साहित्यलाई समेट्ने गरी छाता संस्था अर्थात साहित्यिक महासंघ बन्नु जरुरी छ । प्रतिष्ठान बन्न जरुरी छ र यो सम्भव पनि छ । जस्तो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको मात्रै कुरा गर्ने हो भने पनि कोहलपुर क्षेत्रमा क्रियाशील पूर्णिमा साहित्य समूह, तुलसीराम स्मृति प्रतिष्ठान, नवयुवा प्रवर्द्धन साहित्य समूह र गजल साँझका रुपमा क्रियाशील साहित्य समूह एकीकृत भएर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान गठन भएको हो । जसको नेतृत्व हालसम्म मैले गरेको छु ।
एकीकृत भएपछि काम गर्ने जोस जाँगर बढेको यथार्थ हो । यसरी एकीकृत भएपछिका पूर्णिमाका गतिविधिले पनि साहित्यिक संघ संस्था एक हुँदा उपयुक्त हुने कुरालाई प्रमाणित गरे जस्तो लागेको छ । साँच्चिकै बाँकेको साहित्यलाई नमूनाका रुपमा अगाडि लैजाने हो भने सबै संस्था एकीकृत हुनु जरुरी छ । एकीकृत हुनै नसक्ने खालका कुनै जटिलता पनि मैले खासै देखेको छैन ।
बाँकेको साहित्यमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको योगदानलाई कसरी चित्रण गर्नुहुन्छ ?
ः विगत दशवर्ष पूर्णिमाको जिम्मेवारी सम्हाल्दै आएको छु । कार्यकालको हिसाबले मेरो तेस्रो कार्यकाल पूरा हुँदै छ । यो समयमा के कस्ता गतिविधि गर्न सकियो र संस्थाको उचाइ कहाँ पु¥याउन सकियो यो मुल्यांकन म आफैले गर्नु उपयुक्त हँुदैन तथापि पाँच लाख राशीको अक्षयकोष खडा गरेर २५,५५५/- रासीको पूर्णिमा साहित्य रत्न, एकलाख पैतिस हजार राशीको अक्षयकोष खडा गरी ७,७७७/- राशीको तुलसीराम स्मृति पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरि पुरस्कार स्थापना भएका छन् । पूर्णिमा साहित्यिक पत्रिकाले निरन्तरता पाएको छ । हामी ४९ औं अङ्कमा पुगेका छौं ।
पूर्णिमाबाट तीन दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन् । विभिन्न विभागहरु गठन गरेर साहित्यिक गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । अझ खुसीको कुरा मेरो नेतृत्वकालमा नै कोहलपुर नगरपालिकाबाट हामीलाई कार्यालय निर्माणका लागि डेढ कठ्ठा जग्मा उपलब्ध भएको छ । यी कुराहरु पूर्णिमाका मूख्य उपलब्धि हुन् । अन्य कुराहरुको मूल्याङ्कन त यहाँहरुले नै गर्न सक्नु हुन्छ ।
आफ्नो कार्यकाललाई आफै मूल्यांकन गर्दा कसरी सम्झनु हुन्छ ?
ः केही भएको छ तर धेरै गर्नु पथ्र्याे सकिएन । मेरो व्यस्तताले पनि प्रभाव पारेको हो भन्ने लागेको छ । बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म शिक्षणमा व्यस्त रहदा रहदै पनि शनिबार र अन्य बिदाका दिनहरुको सदुपयोगले मात्रै पनि यतिसम्म गर्न सकियो । सबैभन्दा खुसीको कुरा नेपाली भाषा साहित्यमा कृयाशील अधिकांसले पूर्णिमालाई चिन्नु भएको छ । नाम सुन्नु भएको छ र सम्पर्कमा हुनुहुन्छ । पूर्णिमालाई सबैले विश्वास गर्ने वातावरण बनेको छ । नव साहित्यिक स्रष्टाहरुको प्रतिभाले प्रष्फुटन हुने मौका पाएको छ । यो नै ठूलो कुरा हो । अझ फुर्सिदो नेतृत्व आएमा थप केही हुन सक्छ भन्ने लागेको छ ।
पूर्णिमालाई कोहलपुरमै सिमित राखियो भन्ने टिप्पण्ाि सुन्नु भा’छ ? जिल्ला हँुदै पूर्णिमालाई देशैभरि कसरी पु¥याउने होला ?
ः हो, मैले अप्रतक्ष्य रुपमा सुनेको छु । भन्न त जे भने पनि भयो तर वास्तविकता के हो भन्ने महत्वपूर्ण कुरा हो । हाम्रा गतिविधिहरुलाई नजिकबाट नियाल्नेहरुले यस्तो भन्नु भएको छैन । हामीले पत्रिकामा देश बिदेशलाई समेटेका छौं । कृति प्रकाशनमा जिल्ला भित्रका साहित्यकारहरु मात्रै पर्नु भएको छैन । हाम्रा पुरस्कारहरु विभिन्न जिल्लाभित्र मात्रै सिमित छैनन् । हामीले पटक पटक जिल्ला बाहिरका विशिष्ठ साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम गरेका छौं ।
पूर्वी नेपालदेखि पश्चिम नेपालका साहित्यकारहरुका महत्वपूर्ण कृतिहरुमाथि हामीले गरेको परिचर्चा जिउँदो छ । हाम्रा विशिष्ठ र आजिवन सदस्यहरु जिल्ला बाहिरका पनि हुनुहुन्छ । यो मैले त्यसै भनेको छैन । इतिहास हेर्दा हुन्छ । नेतृत्व कोहलपुरको भयो र कार्यसमितिमा कोहलपुर आसपासका साहित्यकारहरुको बाहुल्यता रह्यो भन्दैमा यस्तो आरोप लगाइहाल्न नमिल्ने हो कि ?
नेतृत्व हस्तान्तरणबारे पनि सोच्दै होकी ? साहित्यिक संस्थामा पनि नेतृत्व हस्तान्तरण जटिल हुन्छ भन्छन्, कस्तो छ पूर्णिमाको अवस्था र तपाईको मनःस्थिति ?
मैले माथिनै संकेत गरिसकेको छु । काम गर्न फुर्सदिलो नेतृत्व चाहिन्छ । दुई कार्यकाल काम गरेपछि मैले नेतृत्वबाट बिदा लिन खोजेको थिएँ साथीहरुको आग्रहलाई नकार्न सकिन । गत एक वर्षदेखि नै मैले चौथोे कार्यकालका लागि साथीहरुलाई तयार हुन भनेको छु । मैले बिदा लिने नै हो तर पदमा नरहे पनि पूर्णिमा भन्दा बाहिर रहने कुरा आउँदैन । साथीहरुलाई मज्जाले सहयोग गर्ने हो । साहित्य मार्फत यो क्षेत्रलाई रामैसँग परिचित बनाउने रहर त कहाँ पूरा भएको छ र ?
कसरी चलोस् चाहनुहुन्छ अब पूर्णिमा ?
म विश्वस्त अब झनै क्रियाशील हुन्छ पूर्णिमा र हुनु पनि पर्छ । हामीलाई जस्तो कठिन अबको नेतृत्वलाई नहुन सक्छ । केही फन्ड जम्मा भएको छ । कार्यालयका लागि जमिन उपलब्ध भइसकेको छ । संस्था धेरै ठाउमा परिचित छ । हामीले धेरैको विश्वास जितेका पनि छौं । यो विश्वासलाई अर्थात पूर्णिमाको साख जोगाउनु नयाँ नेतृत्वको जिम्मेवारी र कर्तब्य हो । पुरस्कार र पत्रिकालाई व्यवस्थित गर्नु जरुरी छ । पूर्णिमाको इज्जत यसैमा छ । नयाँ प्रतिभाहरुलाई मञ्च दिने काममा पूर्णिमाले कन्जुस्याइँ नगरोस् भन्ने लागेको छ ।
तपाईं अबको समय कसरी साहित्यमा समर्पित गर्ने सोच्दै हो ?
साहित्य रहरको विषय हो । म साहित्यबाट अलग रहन सक्दिन नै । लेखन कार्य जारी रहने छ । केही कामहरु गर्न बाँकी छ । नियात्रा सङ्ग्रह र एउटा उपन्यासको तयारी भइरहेको छ । केही समय यी कृतिहरुमा ध्यान केन्द्रित हुनेछ ।