अदालतको आदेशपछि आजबाट सकिएला त मालपोतको बबाल !

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका आज मंगलबारदेखि सेवा प्रवाहमा टोकन प्रणाली लागु हुने भएको छ । यसले मालपोत कार्यालयबाट प्रवाह हुने सेवा व्यवस्थित हुँदै जाने विश्वास गरिएको छ । मालपोतमा सेवा प्रवाहमा बेतिथि, अनाधिकृत व्यक्तिको प्रवेशको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाह व्यवस्थित गर्न पहल गरेको थियो । बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङ्ग सहितको टोलीले मालपोत कार्यालयको अनुगमन गरी अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउँदै सेवा व्यवस्थित गर्न टोकन सिष्टम लागु गर्नका लागि पहल गरेको थियो ।

बाँके प्रशासनले मालपोतमा बिचौलियाको प्रवेशमा रोक लगाउँदै सेवा शुल्क निर्धारण गर्नका लागि पहल गरेको थियो । प्रशासनले बिचौलिया रोक्दा लेखापढी व्यवसायीलाई पनि कार्यालय हाताभित्र प्रवेश गर्न नदिएपद्धि उनीहरुले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा उत्पेरणा तथा परामादेशको निवेदन दर्ता गरेका थिए । यसअघि लेखापढी व्यवसायीलाई कार्यालय हातामा प्रवेश नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले सोमबार दुवै पक्षको छलफलपछि लेखापढी व्यवसायीलाई प्रवेश नरोक्न अन्तरिम आदेश दिएको नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन बाँकेका कोषाध्यक्ष राम गोपालले जानकारी दिएका छन् । अदालतको आदेश पछि कानुन व्यवसायीहरुसँगको भेटमा मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमर राज सेजुवालले लाइसेन्स प्राप्त लेखापढी व्यवसायीलाई कार्यालय हाताभित्र आउन नरोक्ने र सोको व्यवस्था मिलाइने बताएको कोषाध्यक्ष रामले जानकारी दिए ।

यसैबीच, मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अपरादर्शी, सुस्त भएको भन्दै सोमबार प्रदर्शन गरिएको छ । सेवाग्राही मो. शेर बागवानले जग्गा फुकुवा सम्बन्धी कार्यका लागि हप्तौ झुलाएको तथा अनाधिकृत रकम माग गरिएको आरोप लगाउँदै मालपोत कार्यालय हाताभित्रै धर्ना बसेका थिए । उनलाई प्रहरीले मालपोतको गेट बाहिर पठाएपछि उनी सहित महिला अधिकार मञ्चका सदस्यहरुले गेट बाहिर प्रदर्शन गरेका थिए । ६ बर्ष अघि प्रशासनको पत्रका कारण भुलवश रोक्का भएको जग्गा रोक्का नभएको प्रशासनको लिखित जानकारी पछि पनि फुकुवा नभएको बागवानले जानकारी दिए । २०७१।०८।११ गते नै प्रशासनले कि.नं. ३७७ को ज.वि. ०–१–५ आफ्नो जग्गा रोक्न नभएको पत्र मालपोतलाई पठाएपछि फुकुवा भएको जानकारी पाए । ‘करिब २० दिन अघि बैंक ऋणका लागि जग्गा रोक्काका लागि आउँदा जग्गा पहिले नै रोक्का भएको जानकारी पाएँ’, प्रशासनबाट जग्गा रोक्का नरहेको पहिलेकै पत्र लिएर जाँदा कर्मचारीले अवैध रुपमा रकम माग गरेको दाबी गर्दै बागवानले भने ।

बागवानको नेतृत्वमा भएको प्रदर्शनमा मालपोतमा सेवा ढिलाई भएका अन्यले पनि नाराबाजी गरेका थिए । यो वा त्यो बहानामा कर्मचारीले दुःख दिने गरेको गुनासो प्रदर्शनमा सहभागी अन्य सहभागीले पनि गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया