नेकपा राजनीति : आलोचना र आपत्ति

प्रचण्ड–नेपाल पक्षधरले नेकपामा ‘ओली गुट’ मात्रै बाहिरिएको दावी गर्दै नेतृत्वको उछितो

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई आफु सत्तामा पुग्ने भ¥याङमात्रै बनाएको आरोप लगाएका छन् ।

आइतवार नेपालगन्जमा आयोजित जिल्ला भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमकाबिरुद्ध आफुहरु सडकमा आउनुपरेको भन्दै पूर्व एमाले र माओवादीलाई भ¥याङ बनाएर सत्तामा पुगेका ओलीले कहिलै पनि पार्टी एकिकरणको पक्षमा काम नगरेको बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोज्दा मुलुक अप्ठ्यारोमा परेको छ,’ पूर्व प्रधानमन्त्री नेपालले ओलीलाई दुर्योधनदेखि निरोसम्म तुलना गर्दै भने, ‘ओलीमा तानाशाह प्रवृत्ति देखियो ।’ ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी र तानाशाही प्रवृत्तिका नेता भन्दै नेपालले ‘पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने’ टिप्पणी गरे ।

कार्यक्रमका प्रमुख वक्ता नेपालले अधिकाँश समय ओलीको आलोचना र उनको कार्यशैलीमा टिप्पणी गरेरै खर्च गरेका थिए । ‘दुई तिहाई सदस्य हामीसँग भएपछि ओलीसँग एउटा गुटमात्रै छ,’ पार्टीको आधिकारिकताको सवालमा भ्रममा नपर्न आव्हान गरेका अध्यक्ष नेपालले कार्यकर्तामाझ भने, ‘उनी –ओली) अब अवसर र स्वार्थीहरुका लागि मेनु बोकेर जिल्ला जिल्ला पुगेका छन् ।’

पार्टीका लुम्बिनी इञ्चार्ज युवराज ज्ञवालीले पनि प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरे । उनले ओलीको नेतृत्वमा सरकार एकलौटी ढंगले हिड्ने गरेकोले यो अवस्था आएको भन्दै उनी ‘दलाल पूँजीवादीको घेरामा परिसकेको’ टिप्पणी गरे ।

ओली सरकारमा मन्त्रीसमेत रहिसकेका नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले ‘कम्युनिष्टको क्रान्तिकारी धारबाट एकजना अध्यक्ष भागेको’ भन्दै अध्यक्ष ओलीको आलोचना गरे । ‘त्यसका लागि हामी दुःखी छौं, लज्जीत छौं,’ नेता पुनले त्यसविरुद्ध क्रान्तिकारी धार एकीकृत भएर लाग्नुपर्ने बताए ।

पार्टीका जिल्ला अध्यक्ष आइपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने कुरा ‘इतिहासको जिम्मा लगाइएको’ बताइन् । ‘पार्टी अब नयाँ धारबाट अगाडी बढ्छ, उनले भनिन् ।

त्यसअघि बर्दियाको गुलरियामा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद पुनःस्थापनाको विकल्प नरहेको बताए । ‘एउटा विध्वशंकारी, सन्काहा व्यक्तिले चालेको कदम कुनै पनि हालतमा संविधान सम्मत हुन्न,’ नेपालले भने, ‘संसद पुनःस्थापनाको विकल्प छैन ।’

कर्यक्रमको अधिकाँश समय प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेका नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निकै प्रशंसा गरेका थिए ।

प्रशिक्षणमा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा संसद पुनःस्थापना हुने बताए । ‘संविधानको रक्षाका लागी ओली जस्ता सामन्तवादीलाई पाखा लगाउन जरुरी छ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

प्रतिक्रिया