नियात्रा

२०७७ मङ्सिर ११ गते बिहीबार अर्थात नोवेम्बर २६, २०२० का दिनमा हामी सबै जना बिहान ०५ः३० बजे नै उठ्यौं । आज छोरा बुहारी दुबै जनाको बिदाको दिन । आज अमेरिकामा थेङ्स गिभिङ पर्वको दिन सार्वजनिक बिदा । नेपालमा हामीले दशै मनाए जस्तै यहाँ अमेरिकामा थेङ्स गिभिङ् पर्व ठुलो चाड रहेछ । यो दिनमा नयाँ नयाँ कपडा लगाउने, मिठो खाने साथीभाई इष्टमित्रलाई घरमा बोलाएर मिठो मिठो खुवाउने र नयाँ ठाउमा घुम्न गई रमाइलो गर्ने दिन रहेछ । खासगरी टर्किको मासु खाने पर्व रहेछ थेङ्स गिभिङ । त्यसैकारण सरकारी कार्यलय, बैंक, मलहरुमा सार्वजनिक बिदा हुँदोरहेछ । सार्वजनिक सवारी साधनहरु पनि सो दिनमा पूर्ण रुपमा बन्द हुँदोरहेछ । स्कुलहरु दस दिनको लागि बिदा हुँदोरहेछ । यस अगाडि छोरा बुहारीको एउटै दिनमा बिदा नभई अलगअलग दिनमा बिदा हुन्थ्यो ।

यसपटक सार्वजनिक ठुलो पर्व भएकोले छोरा सूर्य र बुहारी विद्याको एकै दिन बिदा परेको र नातिनी सुबिराको समेत स्कुलमा हप्ता दिन बिदा भएकोले यो सबैजनाको बिदालाई सदुपयोग गर्दै हामी परिवारका सदस्य कतै नयाँ ठाउँमा घुम्न जाने सल्लाह अघिल्लो दिनमा नै बनाएका थियौँ । साथमा बि. पि .बाबु ,सुमन नानी र शुरज महर्जन भाइ समेत घुम्न जाने सल्लाह भएको थियो । बिहानको नित्य कर्म पछि बुहारी विद्याले लन्च तयारी गरेपछि हामीले एकएक कप चिया पियौं । फलफुल, बिस्कुट खानेपानी लगायतका सामान तयारी पश्चत गाडीमा राख्यौं । नाति सनबिमलाई खुवाउने दूध, तातोपानी, पेम्पर, आवश्यक न्यानो कपडा र सुताउने कारसिट, नातिनी सुबिरा बस्ने बुस्टर गाडीमा राखेर हामी तयार भएर आठ बजे परिवारका सबै सदस्य घरबाट निस्केर बि.पि. बाबुको अपार्टमेन्टमा पुग्यौं । बि. पि. बाबु र सुमन नानी तयारी अवस्थामा भएकोले हामीसँगै एउटै गाडीमा बसेर शुरज महर्जन भाइको घरमा पुग्यौं ।

शुरज घरबाट निस्कदा कारको चाबी घरभित्रै छुटेछ । उता घरको चाबी लिएर बहालमा बस्ने ब्यक्ति काममा गएकोले ढिला भएछ । हामी सुरजको घरमा पुग्दा चाबी ल्याउने ब्यक्ती पनि आइपुगेको हुनाले शुरज र बि. पि .बाबु शुरजको गाडीमा अगाडि र हामी परिवारका सबै सदस्य र सुमन नानी एउटा गाडीमासँगै बसेर हिड्यौँ । हामी जाने गन्तव्य फ्लोरिडाको बिश्व प्रख्यात
Daytona beach समुन्द्रको किनार थियो । सुरज भाइ हिडेको बाटो अलि छोटो रहेछ । तर हामी अलि लामो र घुमाउरो बाटो अगाडि बढेछौं । लमतन्न सुतेको सडक कतै ६ लेन, कतै ४ लेन र कतै दुई लेनको चिल्लो हाइवेयमा गाडी आफै सललल्ल बग्ला जस्तो देखिन्थ्यो । सडकको दायाँबायाँ रुखैरुख कतै सल्लाका ठुलाठुला रुख सहितको जंगल, कतै पोथ्रापोथ्री, कतै ताल, कतै पानी भएको दलदल घासे मैदान कतै घरैघर, हरियो झाडीनै झाडी कतै घना जंगल, कतैकतै ठुलाठुला तरकारी फर्महरुमा बन्धागोभी, फुलगोभी, खुर्सानी, हरियो साग लगायतका थरिथरिका तरकारीहरु देख्दा बिचैमा गाडी रोकेर कुदेर ती फर्महरुको दृश्यावलोकन गरि मन तृप्त पार्न आतुर हुन्थ्यो । तर सोच्दासोच्दै प्रति माइल ७५ को स्पिडमा छोराले चलाएको गाडीले नेटो काटी सकेको हुन्थ्यो । घरीघरी बाबुछोराका बिचमा कुरा हुन्थे । नाति सनबिम र नातिनी सुबिराका सानातिना हर्कतले पनि हाम्रो ध्यान तानेको हुन्थ्यो । अमेरिकामा न सडकको बिचमा जहाँ पायो त्यहीँ गाडी रोकेर ट्राफिक नियमलाई चुनौति दिन मिल्थ्यो ? सडकका दायाँबायाँ ठुला ठुला खाली फाटहरुमा तारबार लगाएर पालेका गाइका बथान देखिन्थे ।

सानासाना गाइका बाछाबाछीले रमाई रमाई माउको दुध चुसिरहेको दृश्य देख्दा मन अत्यन्तै आनन्दित र रोमान्चित हुन्थ्यो । कतै कतै घोडालाई पनि तारबार लगाएर राखेको देखिन्थ्यो । तर घोडा भन्दा धेरै ठाउमा गाइका बथान नै धेरै देखिन्थे । यसरी गाई धेरै पाल्नुमा मासुको लागि पनि हुन सक्ने अनुमान गर्थ्यौं हामी । हाम्रो देशमा पो गाइ दुधको लागि पालिने रास्ट्रिय जनवार थियोे । सडकका ठाउँ ठाउँमा ट्राफिक सिग्नलमा रोकिएका र हिड्न लामबद्ध सयौं गाडीहरु देखिन्थे । जतिसुकै अबेर भएपनि नियमको पालनामा प्रतिबद्ध देखिन्थे सवारी चालकहरु । घना जंगलको बीच बीचमा घरहरु देखिन्थे । एक्लाएक्लै रहेका ती घरसम्म पनि चिल्लो सडक पुगेको देख्दा हाम्रो देशमा महानगरपालिका र उप महानगरपालिका भित्रका सुगम स्थानहरूमा बर्षाैसम्म पनि कालोपत्रे ता के कुरा ग्राभेल सडक समेत नभएको देख्दा आफैलाई यहाँको सडकले व्यंग्य गरेझैं लाग्थ्यो ।


सात महिना टेक्दै गरेको नाति सनबिम स्वच्छन्द रूपमा आफ्नो मम्मीको काखमा लुटपुटिदै खेलीखेली आफ्नो बालशुलभ प्रकट गर्न चाहान्थ्यो । आमाको काखमा रमाएर घरि यता घरि उता गर्दै हास्दै मरक्क मरक्क गरेर फर्कन चाहान्थ्यो ऊ । तर यहाँ बालबालिकाको सुरक्षाको लागि जता जादा पनि गाडीमा कारसिट भित्र बेल्ट लगाएर बालबालिकालाई राख्नुपथ्र्यो । बालबालिकालाई जतिसुकै अप्ठ्यारो भए पनि नियममा बाधीएर हिड्नु पर्ने हुनाले पनि हुनसक्छ सानोबाबुलाई अप्ठ्यारो भइ घरीघरी खुनखुन गरेर त्यो कारसिटबाट फुत्किएर आफ्नो मम्मिको काखमा जान चाहान्थ्यो । नातिनी सुबिरा पनि घरी बेल्ट बाध्ने, घरी खोल्ने र उभ्भिन खोज्थिन् । तर चल्ती गाडीमा यी काम गर्न प्रतिबन्ध थियो । यी हर्कतहरु प्रहरीले देखेमा वा कसैले फोन गरेमा सेतो गाडीमा साइरन बजाउँदै प्रहरी तुरुन्त आइपुग्ने हुनाले पनि छोराले बेलाबेलामा नातिनी सुबिरालाई सचेत गराइरहेको हुन्थ्यो । त्यसैले बालबालिकालाई जतिसुकै अप्ठ्यारो भए पनि नियममा बाधीएर हिड्नु अभिभावकको बाध्यता थियो ।


नयाँ ठाउँ कस्तो होला ? समुन्द्र कति ठुलो होला ? के के हेर्न पाइएला ? मेरो मन भित्र यिनै कुराको जिज्ञासाले मनमा बेचैनी बढीरहेको र छट्पटीले सताएको थियो । मन भित्र ती दृश्य कैद गर्न आँखा लोभिएका र हतारिएका थिए ।

हामी गेन्स्भीलबाट दुई घन्टामा डेटोना बिच पुग्यौं । हामी पुग्नु अगाडि नै सुरज भाइ र बि.पि. बाबु त्यहाँ पुगेको हुँदा पनि गाडी पार्क गर्न हामीलाई सजिलो भयो । गाडी पार्क गरे पश्चात् हामी सबैले एउटा रुखको छहारी मुनि बसेर बिहानको लन्च खायौं । सार्वजनिक बिदाको दिन भएको हुँदा घुम्न आउनेहरुको गाडीले पार्किङ स्थल भरिभराउ भएको थियो । कतिपयले कोरोनाको कहरमा पनि मास्क नलगाई निस्फिक्री हिड्नेहरु प्रशस्त देखिन्थे । धेरै जसोले सचेतना अपनाएका थिए । समुन्द्रको बिचमा रहेको होटल व्यभुक Crab House को प्याराफीटबाट चारैतिर समुन्द्रको रसास्वादन गर्न मिल्थ्यो । हामीले पनि नजरले भ्याएसम्म आँखाले धितमारुन्जेल समुन्द्रको रसास्वादन गर्याैँ । आफ्नो मोबाइलबाट फोटो खिच्यौँ । समुन्द्रको किनारमा पौँडी खेल्ने र समुन्द्रको छालसँग रमाउँदै उफ्रेर समुन्द्रमा बुर्कुसी मार्ने ती सयौं बृद्धबृद्धाहरु, युवायुवतीहरु र अभिभावकसँग रमाईरमाई समुन्द्रको छालमा पौडी खेल्ने ती सयौं बालबालिकाहरुका क्रियाकलापलाई नजिकबाट निहाल्ने मौका पायौं ।

समुन्द्रको किनारमा लस्करै अवस्थित बिश्व प्रसिद्ध होटेल हिल्टन लगायतका होटेलहरुका गगनचुम्बी भवनहरुको अवलोकन गर्यौँ । डेटोना बिचको समुन्द्र माथि उडेको जहाजले ठुलो ब्यानर फहराएको दृश्यले झन् रोचकता थपेको थियो । समुन्द्रको किनारमा रमाइरहेका ती सयौं महिला पुरुषका थरीथरीका चर्तीकलाका प्रत्येक्षदर्शी थियौ हामी । पेन्टी र ब्रा मात्र लगाएर समुन्द्रमा डुबुल्की मार्ने महिलाहरु र तिनीहरुका रमाइलोमा साथ दिइरहेका पुरुषहरु र आ–आफ्नो झुन्ड बनाएर रमाइरहेका बालबालिकाहरु समुन्द्रको किनारै भरि रमाइरमाई खेलिरहेका थिए । बालुवामा सुतेका, मनोरञ्जन गर्दै लडिरहेका र कतै कतै मालिस गराइरहेका दृश्य पनि देखिन्थ्यो । समुन्द्रको बिचभागमा देखिएको पानी जहाज आफ्नो गन्तव्यमा जान अगाडि बढिरहेको थियो ।


हामी होटेलको प्याराफिटबाट सानो बाबु सनबिमलाई बेबी स्टोलरमा गुडाउँदै तल समुन्द्रको किनारमा झर्याैँ । हामी भरसक पानीमा नटेक्ने पक्षमा थियौं । तर, नातिनी सुबिराले पौडी खेल्न जोडबल गरेकै कारण हामी पनि धैरे मानिसहरु नभएको स्थान खोजेर समुन्द्रको पानीमा पस्न बाध्य भयौं । जबजब समुन्द्रको छाल किनारसम्म आइपुग्थ्यो अनि हामी सबै जना रमाउँथ्यौँ । सानोबाबु भएको बेबी स्टोलरमा एक जना उभ्भिएर हामी पनि एक आपसमा पालोपालो फोटोसेसनमा तल्लीन हुन थाल्यौं ।

छोरो सूर्य, बि.पि. बाबु र सुरज भाइ समुन्द्रको छालसँगै समुन्द्रको अलि भित्री भागमा रमाउन थाले । तर म नातिनीको रेखदेखमा समुन्द्रको किनारमा नातिनीलाई नछोडी उसैसँग रमाउन थाले । देवीले नातिलाई कुरेर बसिन् । सुमन नानी र बिद्या पनि किनार किनारमा रमाउन थाले । नातिनी सुबिरा जतिपटक समुन्द्रको छाल किनारैसम्म आउथ्यो, उति पटक छालसँगै पानीमा पौडी खेल्दै समुन्द्रको बीच भागमा जान खोज्थिन् । तर, म पटकपटक नातिनीलाई छालमा डुब्न र बीच भागमा जान दिदैनथे । नातिनीले मेरो आँखा छलेर पनि समुन्द्रमा पौडी खेल्न दौडिन खोज्थिन् तर म छेकबार बनेर रोक्न खोज्दा नातिनी म सँग रिसाउँथिन भने म नातिनीसँग रिसाउँथे । घरीघरी यो रिसको मात्र बढ्थ्यो । किनभने समुन्द्रको पानीमा त्यसरी हेलचक्र्याई गर्न हुँदैन भन्ने कुरा मलाई थाहा थियो । तर केटाकेटीलाई यो थाहा हुने कुरै भएन । पौडी पोखरीमा पौडी खेले जस्तो होइन समुन्द्र । तर पटकपटक नातिनीलाई म सम्झाउने प्रयत्न गर्थे । तर, उनी मेरा कुरा सुन्न चहान्नथिन् । उनी कसैको सहारा बिना समुन्द्रमा एक्लै पौडी खेल्न चाहान्थिन् । यो सम्भव थिएन । यहीँ भएर उनको र मेरो चर्काचर्की भैरहन्थ्यो । मैले आफैले नातिनीलाई समाएर छालसँगै पौडी खेलाए । उनको रहर अझ पूरा भएको थिएन । यतिबेलासम्म समय पनि घर्किसकेको थियो । यसरी हामी डेटोना बीचको समुन्द्रमा रमाईसकेपछि त्यहाँबाट बाहिर निस्केर केही समय डेटोना बजार घुम्यौं ।


डेटोन शहर गेन्स्भीलबाट १४० किलोमिटरको दुरिमा फ्लोरिडा राज्यको भलुसिया काउन्टीमा पर्दछ । डेटोना सहर एटलान्टिक ओसनको किनारमा पर्दछ । डेटोना सहर बिश्व प्रसिद्ध पर्यटकीयस्थल पनि हो । रेसिङ्ग गर्ने मानिसहरुका लागि यो मक्का नै हो । डेटोना सहरलाई डेटोना ईन्टरनेशनल स्पिडवय भनेर पनि चिनिन्छ । यहाँ प्रत्येक बर्षको फेब्रुअरी महिनामा ऐतिहासिक Daytona  beach  500 NASCAR  RACE नेशनल एशोशियसन फर स्टक कार अटो रेसिङग प्रतियोगिता हुने गर्दछ । कोरोनाको कहर सुरु हुनु भन्दा अगाडि यहाँ स्वदेश तथा बिदेशका हज्जारौं पर्यटकहरु आउने र समुन्द्रमा घुमेर रमाउने गर्दथे । (हाल गेन्स्भील फ्लोरिडा)

प्रतिक्रिया

प्रतिक्रिया