आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
कमजोर भौतिक संरचना नै भुकपम्पबाट मृत्युको प्रमुख कारण हो । भुकम्प प्रतिरोधी भौतिक सरंचनाले भुकम्पका बेला मानवीय क्षति धेरै कम गर्न सकिने विश्वास छ । भुकम्पले आफैले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो ।
नेपालगन्ज दशकौं पुरानो सहर हो । सहरीकरण हुँदै जाँदा भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । जब भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन निर्माण संहिता लागु भयो त्यतिखेर धेरै ढिलो भैसकेको थियो । नेपालगन्जमा बनेका नयाँ घरहरु मापदण्ड अनुसार नै छन् । तर, पुराना भौतिक संरचना भुकम्प आएमा धराप साबित हुने निश्चित नै छ ।
आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । देशभर सचेतनाका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालगन्जमा पनि सचेतनाको कार्यक्रम भुकम्पमा उद्दार सम्बन्धि कार्यक्रम तय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।
यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
