सीमा औपचारिक नखुल्दा रोकिए पर्यटक

काम र रोजगारीका लागि निर्बाध आवतजावत

विगत १० महिनादेखि नेपाल–भारत सीमा नाका औपचारिक रुपमा बन्द छ । कोरोनाको जोखिम पछि सीमा बन्द गरेको सरकारले अझै खुला गरेको छैन । सीमा औपचारिक रुपमा बन्द भए पनि अनौपचारिक काम विशेष भन्दै आवातजावत चाहीँ निर्बाध भैरहेको छ । व्यवहारिक रुपमा सीमामा आउजाउ गर्न रोक्न नसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग बताउँछन् ।

बाँकेमा पटकपटक औपचारिक रुपमा नाका खोल्नका लागि प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाइसकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण अनेकन कष्ट सहेर नेपाल फर्किएका नेपालीहरु पुनः रोजगारीका लागि मुख्य नाका हुँदै भारत फर्किएका छन् । मुख्य नाका बन्द भएपनि भित्री नाकाबाट आउजाउ गर्न रोकिएको छैन ।

बाँकेको मुख्य नाकामा काम विशेषले आउजाउ गर्न दिइएपनि खुला सीमा रहेकाले भित्री नाकाहरुबाट आउजाउ भैरहेको छ । भित्री नाकाबाट तस्करी पनि भैरहेको प्रहरीले पटकपटक अवैध रुपमा भन्सार छली ल्याइएका मालसामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेकोबाट पुष्टि हुन्छ । यही बहानामा तस्करी बढेको गुनासो एकातिर छ भने नेपालगन्जमा व्यापारीले मनपरी गरिरहेको आरोपपनि लगाइदै आएको छ ।

औपचारिक रुपमा सीमा नाका बन्द हुँदा पनि भारतीय कामदार नेपाल आउन थालेका छन् । नेपालको पर्यटन व्यवसायको ठूलो हिस्सा भारतले पनि ओगट्छ । तर, पर्यटकहरु आउने काम भने पूर्णरुपमा ठप्प छ । जसको असर यहाँका होटल तथा पर्यटन व्यवसायीलाई परेको गुनासो गरिंदै आएको छ । व्यवसायीहरुले औपचारिक सीमा खुला नभएपछि आवागमन खुलै भएको भन्दै औपचारिक रुपमा सीमा खोलिदिन पटकपटक आग्रह गर्दै आएका छन् । व्यवसायी भन्छन्, ‘भारत जाने र आउने क्रम चलिरहेको छ, औपचारिक रुपमा बन्द भनिदिंदा पर्यटक रोकिए त्यसको असर हामीलाई परिरहेको छ ।’ व्यवसायीहरु विगत १० महिनादेखि होटल तथा पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यहोरेका कारण धराशयी भएकाले सीमा खोल्न माग गरिरहेका छन् । बाँकेमा पनि भारतीय पर्यटकलाई लक्षित गरी दर्जनौं होटल सञ्चालनमा छन् । भारतीय पर्यटक नआउँदा नोक्सानमा होटल चलिरहेको उनीहरु बताउँछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग सीमा खोल्नका लागि प्रशासनमा आउने मागहरु सम्बन्धित मन्त्रालयमा पठाउने गरेको बताउँछन् । ‘सरकारको निर्णय नआउँदा सम्म औपचारिक नाका खुल्दैन, काम विशेषले आउने, जानेलाई रोकेका छैनौं’, उनी भन्छन्, ‘सीमाको औपचारिक अवस्था पूर्ववत् नै रहेको छ, अझै औपचारिक रुपमा खुलेको छैन ।’

‘अब नाका खोल’

साता एक दिन ठाकुरद्वारा बस

बाँकेका होटल तथा पर्यटन व्यवसायीहरुले भारतसँगको नाका खोल्नका लागि माग गरेका छन् । औपचारिक रुपमा नाका बन्दका कारण पर्यटन नआउँदा यहाँको होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको भन्दै नेपाल पर्यटन बोर्डसँग नाका खोल्नका लागि पहल गर्न आग्रह गरेका हुन् । ‘कोरोनालाई कारण देखाउँदै रोकिएको नाका बन्द हुँदा कोरोना रोकिएको छैन, मात्रै पर्यटक रोकिए,’ व्यवसायीहरु भन्छन्, ‘नाका बन्द केवल पर्यटकका लागि मात्र भएको छ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाका उपस्थितिमा भएको पर्यटन प्रवद्र्धन मञ्चको बैठकले नाका खोल्ने माग गर्ने निर्णय गर्दै पर्यटन बोर्डलाई ज्ञापन बुझाएको हो ।

नाटा बाँके अध्यक्ष श्रीराम सिग्देलका अनुसार, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष बिक्रम थापाको उपस्थितिमा भएको बैठकमा भारतीय नाका नखोल्दा व्यहोर्नु परेको आर्थिक नोक्सान, जिल्लामा पर्यटन प्रवद्र्धनको सम्भावनाबारे छलफल भएको थियो ।

मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतमा भएको बैठकमा साता एक दिन नेपालगन्जबाट ठाकुरद्वारा बस चलाउने निर्णय पनि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगरबसलाई सुरुमा साताको एक दिन र त्यसपछि आवश्यक परे थप्दै जाने सहमति भएको हो । नेपालगन्ज आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठाकुरद्वारा घुमाएर ल्याउन बस सञ्चालन गर्न लागिएको हो ।

त्यस्तै नेपालगन्जमा राख्ने भनिएको पर्यटन बोर्डको शाखा अधिकार सम्पन्न बनाउन बैठकले माग गरेको छ । नाटा बाँकेका अध्यक्ष सिग्देलले शाखा नेपालगन्जमा आउँदा त्यो अधिकार सम्पन्न हुनुपर्ने बताए । उनले बोर्डको शाखा नेपालगन्जमा हुने तर साना कामका लागि पनि काठमाडौं पुग्नुपर्ने, पत्राचार गर्नुपर्ने अवस्था भयो भने फेरि पनि राम्रोसँग काम गर्ने वातावरण नबन्ने भएकाले अधिकार सम्पन्न शाखा माग गरिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया