विचार

नेपालको सत्तामा भएको तानातानीको छताछुल्ल पाराले सञ्चार जगत देखि न्यायलयका पूर्व श्रीमानहरुसम्म र जाडो छल्न स्याउला बालेर बस्नेहरु देखि लिएर हिजोको टिकट नपाएको रिस फेर्न जुर्मुराएकाहरु सम्म फैलिएको मात्रै छैन, सोझै कित्ताकाटको डोरी बोकेर साँध लाउन कस्सिएका पनि छन् । आफुलाई लोकतन्त्रका निकै ठूलो पहरेदार भन्न रुचाइरहनेहरु चुनावबाट भाग्न खोज्दै छन् भने खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो भनेर टाउका काटेरै सबथोक पाइन्छ भन्नेहरु डेढ दशकपछि फेरि टिका लगाएरै त्यहि कुकुरको मासु बेच्ने थलोबाट सत्ताको मझेरीमा तिघ्रा ठोक्न पाउनुपर्छ भन्दै छन् । यो अहिले निकै चर्चामा रहेको एउटा बिषय भएको छ ।


अर्को यो भन्दापनि निकै महत्वका साथ चर्चामा रहेको कुरा हो इण्डियाको एउटा नेपाल प्रति अति पूर्वाग्रहि समाचार च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले लिएको हाम्रा सम्माननीय प्रधानमन्त्रीको अन्र्तवार्ता र सगरमाथाको बारेमा गरेको टिकाटिप्पणी । यी दुई वटा बिषयले नेपाली सञ्चार माध्यमहरु, समाजिक सञ्जालहरु भरिएका मात्रै छैनन् नेपाली मिडिया जगतले निकै हट केक पाएको छ । तर सगरमाथाको नाम फेर्ने कुराले अलि बिशेष नै चर्चा पाएको देखिन्छ ।


पत्रकारितामा कुनै कुरा सत्य तथ्यमा आधारित भएर समाचार बनाउन पाउनु या कुनै कुरालाई बिकाउ बनाउन कै लागि समाचार बनाउनु फरक फरक कुरा हुन । पत्रकारिताको धर्म सत्य र तथ्यपरक सूचना दिनुपर्छ भन्ने हो । यो उसको पत्रकारिताको धर्म हो तर यदि कुनै कुराले राष्ट्रिय अस्मिता माथी नै अर्काको दाबी पुस्ट्याईँ हुन्छ या आफ्नो राष्ट्रको गौरवलाई आघात पुग्छ भने त्यसमा सत्य तथ्यताको कसिमा समाचार बनाएरै पत्रिका बिकाउन, टिआपी बढाएर आफ्नो माध्यमको मूल्य सृजना गर्दै विज्ञापन बटुल्न कत्तिको उचित हुन्छ ? वा त्यहाँ त्यो मिडियाको राष्ट्र प्रतिको कर्तव्य के हो भन्ने प्रश्न राख्नै पर्ने हुन्छ ।


नेपाल उसैपनि दुईवटा जनसंख्या, भूगोल, अर्थतन्त्र र सामरिक रुपमा नै बिशाल देशहरुको बिचमा अवस्थित रहेकोले हाम्रो राष्ट्रियता हाम्रो अस्मिता सधैं धरापमा नै रहेको देखिन्छ । यहाँ चलेका विगतका लामा लामा आन्दोलनहरु र यसका लागि परिचालन हुने गरेका श्रोतसाधन र आन्दोलनकारीहरुलाई संरक्षण दिनेहरुले बेला बेलामा नेपाली अस्मिता माथी सौदाबाजी गर्ने गरेका कथाहरु बाहिर आउने गरेकै छन् । नेपालमा विदेशीहरु र तिनका मिडियाहरुले समाचरहरु सेट गर्ने, एजेण्डा सेट गर्ने र हाम्रा मिडियाहरु पनि त्यसैका एजेण्डामा बहकिने गरेका पनि पाइन्छन् । यसमा स्वार्थवस हो या अन्जानमा नै विदेशीका सेटिङ्ग एजेण्डामा आफ्नो समाचार बिक्ने र स्तर मापन हुने दाउमा के हो ?नेपाली मिडियाहरुको साथ र सहयोग भएको पाइएको छ । नेपालमा धेरैजसो कुराहरु परिणाम तय गरेर नै अध्ययन, अनुसन्धान गरिने वा प्रतिवेदन तयार पारिने गरिन्छ, भन्ने पनि गरिन्छ । व्यवहारले त्यो पनि देखाएको छ । यसरी प्रायोजित रुपमा गरिने कामले नेपालीत्वको रक्षा हुन सक्दैन ।


नेपालका प्रधानमन्त्रीको अन्र्तवार्ता लिएको जी न्यूजका सम्पादक सुधीर चौधरीले आफ्नो औकात राम्रैसँग देखेपछि सगरमाथाको फेदि नजिकै कालापत्थर गएर सगरमाथाको उँचाइ कुनै समय सर्वे अफ इण्डियाका एकजना प्राविधिक बंगाली गणितिज्ञ राधानाथ सिक्दरले मापन गरेको भनेर माउण्ट एभरेष्ट होइन यसको नाम त उनै राधानाथ सिक्दरको नामबाट राखिनु पर्छ यसमा इण्डियाले दावा ठोक्नुपर्छ भनेर आफ्नो रिपोर्ट पेश गरे । यो रिपोर्टलाई नेपालका मिडियाहरुले निकै ठूलो समाचार बनाएर उनीहरु पनि जी न्यूजको त्यो कुत्सीत तुच्छ व्यवहारका सहयात्री बनेकोमा नेपाली मिडियाहरुको राष्ट्रप्रतिको कर्तव्यमा कमजोरी भएको छ भन्ने मेरो बुझाइ रहेको छ ।


नेपालको सगरमाथाको बिषयमा यो भन्दा पनि पहिला धेरै समाचारहरु आउने गरेका थिए । चाइनाले सगरमाथा माथि दाबी गरेको कुरालाई पनि निकै बिकाउ समाचार बनाएर पस्किएका मिडियाहरुलाई यो जी न्यूजको हर्कत निकै महत्वपूर्ण हट केक नै नहुने कुरै भएन । किनकि यो कुरा एजेण्डा सेट गर्नेहरुले उठाएको कुरा थियो । उनीहरुले खोजेको नै यसको यसरी नै चर्चा होस र उनीहरुले पेश गरेको दाबाको अन्तराष्ट्रियकरण होस भन्ने हो । शायद यो कुरा हाम्राले नबुझे कै हुन भन्न मिल्दैन । यसलाई प्रचार प्रायोजन गरिएको पनि हुनसक्छ ।


नेपाललाई सधैं होच्याउने अपमानजनक समाचार बनाएर नेपालको उछितो काढ्ने एउटा विदेशी मिडियाको सम्पादकले सार्वभौम नेपालको प्रधानमन्त्री उपर आपत्तिजनक रिपोर्ट बनाउँदा समेत आफ्नो गल्ती मान्न आवश्यक न ठानेकोमा अहिलेको अवस्थामा आएर हाम्रा प्रधानमन्त्रीलाई फेरि नेपाललाई छोटा भाई, अखण्ड भारत, डोकलाममा नेपालले इण्डियाको साथ नदिएको जस्ता बेतुकी बीना आधारका प्रश्नले ठूलो बन्छु भन्दा हाम्रा प्रधानमन्त्रीले उसलाई तथ्य र प्रमाण कै आधारमा भिजेको बिरालो झैं पारिदिएको खबरले नेपालको इतिहास नेपालको हैसियत इण्डियाभन्दा निकै माथि रहेको कुरालाई यहाँका मिडियाहरुले त्यति प्राथमिकताका साथ ठूलाठूला समाचार बनाउन आवश्यक नै ठानेनन् । नेपालको गौरवको प्रचारमा आफ्नो लगानी गर्न चाहेनन् तर त्यहि समाचार च्यानलले नेपालको शिर सगरमाथाको नाम परिवर्तनको दावा पेश गर्न खोज्दा त्यसलाई किन उचालियो ? यो सोचनिय पक्कै छ ।


नेपालको शिर सगरमाथाको नाम फेरिनु नै पर्छ भन्ने हाम्रो मत छैन । हामी त कुनै पनि औपनिवेशिक र दासताको अभिमान र यसका कुनैपनि बाछिटाहरुलाई स्वीकार्ने पक्षमा छैनौं र रहनु पनि हुँदैन । तर यसको अर्थ यो पनि लगाइनु हुँदैन कि हामी इण्डियाको कुनै गणितिज्ञले नापेको हो भन्दैमा एउटा उपनिवेशक मानिसको नाम हटाएर अर्को उपनिवेशक मानिसको नाम स्वीकार गर्छौ भन्ने कुरा हुनै सक्दैन ।


कसैले मापन गरेकै भरमा यदि कसैको गौरवमा दाबा ठोक्न मिल्ने भए इण्डियाको पहिलो सर्वे पनि ब्रिटिशले गरेको हो अब के इण्डियाको नाम ब्रिटिश भनेर दाबा ठोक्न मिल्ने कि नमिल्ने यो प्रश्न जी न्यूज र यसका सम्पादकले पनि बुझ्न जरुरी छ र नेपालका मिडियाहरुले पनि बिकाउ समाचार बनाउन हुन्छ कि हुँदैन ? सगरमाथाको नाम परिवर्तन भन्दा ठूलो र बिकाउ समाचार के यो हुन सक्दैन र ?


हामी संसारका कुनैपनि आधुनिक भन्दा आधुनिक र शक्तिशाली भन्दा शक्तिशाली भनिने देशहरु भन्दा सभ्यतागत रुपमा अति प्राचिन र अति उन्नत भएको कुरा तथ्य हो । हामीले उपनिवेश हुन न जान्यौं न मान्यौं । हामीले हाम्रो इतिहासमा गर्व गर्ने धेरै तथ्यहरु छन् । हाम्रो भूमिको माटोको कण कणमा ज्ञानको सागर छ । यहाँको पातपातमा जीवनको यथार्थ छ । यहाँको खेत खलियान र पहाडका काख काखमा यज्ञ, योग र ध्यानको उर्जा छ । अनी हामीलाई कसरी विदेशी प्रायोजनको पात्र बन्न सुहाउँछ ? हामीसँग संसारलाई सत्मार्गमा डोराउने र मानव मात्र नभै यो पृथ्वीको समेत कल्याणको मार्ग छ । यसको बारेमा हामीले, हाम्रा मिडियाले र हाम्रा राज्यसञ्चालकहरुले बोल्नुपर्छ लेख्नुपर्छ भन्ने आशा र अपेक्षा हो ।


सगरमाथा हाम्रो गौरव हो । यसको जुनसुकै भाषा या देशमा पनि सगरमाथा कै नामले चिनिनु र चिनाउनु पर्छ । यस बिषयमा पश्चिमाहरु वा अहिले शक्तिशाली बन्दै गएका छिमेकीहरुले आफ्नो नाम जोडेर गौरव गर्न खोज्नु भनेको र हामीले त्यसमा जुनकुनै माध्यमबाट सहयोग गर्नु भनेको राष्ट्र गौरवको अवमानना नै हो ।


नेपालमा सगरमाथाको बिषयमा जरोकिलो महाअभियान र यसका संकल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारी ज्यूले बोल्न र लेख्न थालेको झण्डै डेढ दशक भै सक्यो । सगरमाथा भनेको सगरमाथा नै हो यसको अर्को कुनै औपनिवेशिक नाम हुन सक्दैन भनेको कुरा नेपाली मिडियामा कहिल्यै पनि ठूलो समाचार बनेन किन कि त्यहाँ विदेशीको प्रायोजन थिएन । तर आज एउटा विदेशीको प्रायोजित एजेण्डाका लागि ब्यानर न्यूज र हेडलाइन किन बन्दैछन् ? शंका गर्न मज्जाले मिल्छ । नेपालको गौरव नेपालको सगरमाथाको नाम अब कुनै औपनिवेशीक मानसिकताको जर्ज एभरेष्टको नाममा रहन सक्दैन । यो नाम फेर्ने मुद्दा नै होइन । यो त हाम्रो आफ्नो नाम भै रहेको नाम सगरमाथा मात्र लाई नै प्रचार प्रसार र विश्व समुदायमा स्थापित गराउने अभियान बन्नु पर्छ । राष्ट्रप्रति जिम्मेवार बन्ने मिडियाहरुले अब यसमा ब्यानर न्यूज र हेडलाइन बनाउन शुरु गर्न ढिला गर्नु हुँदैन । जय मौलिकता

प्रतिक्रिया

प्रतिक्रिया